एआई र दक्षतालाई बढावा दिँदै अमेजनले १६ हजार रोजगारी कटाैती गर्ने

यो कटौती कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसमा अक्टोबरदेखि नै करिब ३० हजार रोजगारी कटौती गर्ने योजना थियो।

काठमाडौँ– अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनले बुधबार विश्वव्यापी रूपमा १६ हजार कर्पोरेट रोजगारी कटौती गर्ने घोषणा गरेको छ।

यो कटौती कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसमा अक्टोबरदेखि नै करिब ३० हजार रोजगारी कटौती गर्ने योजना थियो। यसअघि त्यही योजनाको हिस्सास्वरूप अक्टोबरमा १४ हजार पदहरू कटौती गरेको थियो। त्यतिबेला एमेजनले एआई र कर्पोरेट संस्कृति परिवर्तनलाई रोजगारी कटाैतीको मुख्य कारण बताएको थियो।

विशाल ई-कमर्श कम्पनीको तीन दशकको इतिहासमा सबैभन्दा ठूलो कटौती मानिएको छ। जसले २०२२ अन्त्यदेखि २०२३ शुरूमा गरेको २७ हजार रोजगारी कटौतीलाई पनि उछिनेको छ। एमेजनकी शीर्ष मानव संसाधन कार्यकारी बेथ गालेटीले एक पोस्टमा भनेकी छन्, "यो कटौती कम्पनीलाई मजबुत बनाउन आवश्यक छ, जसले तहहरू घटाउने, स्वामित्व बढाउने र नोकरशाही हटाउने काम गर्दछ।" उनले केही टिमहरूमा थप समायोजन हुने सम्भावना पनि उल्लेख गरेकी छन्।

कम्पनीका वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराए। उनले भने, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने हो।”

अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो।

योजनाले वितरण र गोदाम फाँटका कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ। यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन।

कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनको यो जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता (एआई)मा बढ्दो लगानीको बीच आएको हो।

कम्पनीले फेब्रुअरी ६ मा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराउने जनाएको छ।