स्थलगत

‘बोझ’ले खसिरहेका पाठेघर, त्यसमै हारिरहेका आमाहरू

बाजुराका बिकट गाउँमा पाठेघर खसेर पनि अर्को बच्चा जन्माउन कस्सिएका महिलाको कथाव्यथाले नेपाली महिलाको प्रजनन स्वास्थ्य अवस्थासँगै समाजको मनोविज्ञान, राज्यको प्रणालीगत अस्तव्यस्ततादेखि अरू कैयौँ अक्षमता उदांगो पारेको छ।

कलिलै उमेरमा आमा बनेका बाजुरा मुक्तिकोटका महिलाहरू। तस्वीर : सविना देवकोटा।

मुक्तिकोट, बाजुरा– ४० वर्षीया पान्थुर विकलाई आफ्नो पाठेघर खसेको राम्ररी थाहा छ। तर उनी यो पीडा दबाएर अझै एकपटक आमा बन्न चाहन्छिन्। मुक्तिकोट, बाजुराकी पान्थुर ती महिला प्रतिनिधि हुन् जो आफ्नो शरीरको अवस्था जे जस्तो भए पनि ‘समाजका लागि’ छोरा पाउनैपर्छ भन्ने मनोविज्ञानमा बाँचिरहेका छन्।

पान्थुरको समस्या त योभन्दा पनि फरक छ। किनभने, उनको एक छोरा र छोरी अहिल्यै छन्। “समस्या भनेको मेरो एउटै छोरो छ, हेर्नुस्,” उनले केही समयअघि हामीसँगको भेटमा निकै गम्भीर कुरा सुनाएझैँ गरिन्। अनि आफ्नो पाठेघर खसेकोमा भन्दा बढी चिन्ता एउटा मात्रै छोरो हुनुमा रहेकोझैँ भाव व्यक्त गरिन्। 

पान्थुरका १६ वर्षीया छोरी र ११ वर्षीय छोरा छन्। “यहाँ एउटा मात्र छोरा भएर पुग्दैन, कम्तीमा दुइटा हुनुपर्छ,” उनले आफ्नो गाउँ समाजमा विद्यमान अघोषित नियम बुझाउने प्रयास गरिन्।

गाउँ समाजको नियम अनि पान्थुरको बाध्यता आफ्नो ठाउँमा छ। ४० वर्षकै उमेरमा उनको पाठेघरचाहिँ कसरी खस्यो त?  

उनी आफै यसबारे गम्न थालिन्। १४ वर्षकै उमेरमा बिहे भएको, १५ वर्ष नपुग्दै दुई सन्तान तुहिएको, सुत्केरी भएको ५–६ दिनमा नै घाँसदाउरा गर्न थालेको, आदि इत्यादि। 

“सुत्केरी भएपछि कति दिन आराम गर्नुपर्छ भन्ने केही थाहा नाइँ ऊ बेला,” पान्थुरले पहिलो छोरी जन्माउँदाको अनुभव सुनाइन्, “पछि त पाठेघर खस्न थाल्यो। भारत गएर रिङ हालेपछि मात्र बल्लबल्ल दोस्रो बच्चा बस्यो। अनि छोरा जन्म्यो।” (चिकित्सकहरूका अनुसार दोस्रो डिग्रीको यूटेराइन प्रोल्याप्ससम्म मात्र बच्चा बस्न सम्भव हुन्छ।)

कोल्टी आधारभूत अस्पतालमा गत कात्तिकमा भएको स्वास्थ्य शिविरमा जाँच गर्दा पान्थरलाई चौथो (अन्तिम) डिग्रीको ‘यूटेराइन प्रोल्याप्स’ (आङ खस्ने समस्या) भएको पुष्टि भयो। अहिले उनको पाठेघर गर्भाधान नै गर्न नसक्ने गरी योनांगभन्दा बाहिर खसेको छ, पाठेघरका कोशिकासमेत मर्न थालेका छन्। तर पनि उनी घरीघरी स्वास्थ्य चौकी धाइरहेकी छन्, ‘बच्चा बस्ने’ उपाय खोजीनिती गर्न छाडेकी छैनन्। 

पान्थुर विक।

पान्थुरको यो मनोभाव मुक्तिकोट गाउँका महिलाको यथार्थ हो। यो गाउँका पुरुष बर्सेनि हिउँदमा कामका लागि भारतका देहरादुन, गढवाल लगायत ठाउँमा जान्छन्। ६ महिना त्यहाँ मजदुरी गरेपछि वैशाखमा फर्कन्छन्। “पुरुषहरू कामबाट फर्केर आएलगत्तै हरेक वर्ष जस्तो आमाहरू बच्चा कन्सिभ गर्नतिर लाग्छन्,” खोलीकोट सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज, सिनियर अहेब वृज विकले भने, “यो बेला बच्चा पाउने हो जस्तै चल्छ, मुक्तिकोटमा त्यो राष्ट्रिय चाड जस्तै हुन्छ।” 

‘आधा जिन्नगी बच्चा पाएरै गया’
सिनियर अहेब वृजका अनुसार मुक्तिकोटका अधिकांश महिलामा कुनै न कुनै चरणको आङ खस्ने समस्या छ। कोल्टी आधारभूत अस्पतालमा गत कात्तिकमा सञ्चालन भएको स्वास्थ्य शिविरमा जँचाउने क्रममा मुक्तिकोटका अधिकांश महिलामा आङ खस्ने समस्या पहिचान भएको हो। शिविर सञ्चालन ‘एक एक पाइला’ नामको कम्युनिटी हेल्थ सेन्टरले गरेको थियो। सेन्टरका अर्जुन पाण्डेचाहिँ तथ्यांक केलाउने काम भइरहेकाले यकिन अंक अहिले नै बताउन नसकिने बताउँछन्।    

तर मुक्तिकोट लगायतका ठाउँ हेर्ने जिम्मेवारीमा रहेको खोलीकोट सामुदायिक स्वास्थ्य इकाईमा अहिलेसम्म आङ खस्ने समस्याको उपचार गर्ने तालिम पाएका जनशक्ति र उपकरण दुवै छैनन्। “मुक्तिकोट गाउँमा एक जना पनि त्यस्ता आमा छैनन् जसले कम्तीमा एकदेखि तीन जनासम्म बच्चा नगुमाएका हुन्,” वृजले आङ खस्ने समस्याको कारण सविस्तार सुनाए, “गाउँमा हरेक आमाले कम्तीमा ३ देखि १३ जनासम्म बच्चा पाएका छन्।”

null

स्त्री तथा प्रसूति विशेषज्ञ प्राडा. सुमनराज ताम्राकारका अनुसार सामान्यतः महिनावारी सुके (बन्द भए) पछि शरीरमा इस्ट्रोजेन हर्मोन कम हुन थाल्छ, अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी र लिगामेन्ट कमजोर हुन थाल्छन्। त्यसपछि शरीरका तन्तुले पाठेघरलाई थेग्न सक्दैनन् र पाठेघर तल खस्छ। नेपालका दुर्गम गाउँमा भने प्रजनन उमेरका महिलामा पनि आङ खस्ने समस्याको दर उच्च देखिएको प्रा.डा. ताम्राकार बताउँछन्। 

बालविवाह गर्ने, कलिलो उमेरमै गर्भधारण गर्ने, जन्मान्तर नराख्ने, घरमै सुत्केरी गराउँदा पाठेघरको मुख नखुल्दै गलत समयमा बल लगाउन लगाउने, सुत्केरी भएको ६ हप्तासम्म आराम नगर्ने, बरु सुत्केरी अवस्थामै भारी काम गर्ने जस्ता कारणले प्रजनन उमेरमै आङ खस्ने समस्या बढेको उनको ठम्याइ छ। 

मुक्तिकोटकी ५९ वर्षीया सुन्तला विक यसकै भुक्तभोगी हुन्। १३ पटक सुत्केरी भएकी सुन्तलाका हाल पाँच छोरी र दुई छोरा छन्। अरू त जोगिएनन्। “उबेला ५–६ दिनकी सुत्केरीमै जाँतो पिन्न, दाउरा लिन, पानी बोक्न हप्र (माथि) जान्थ्यौँ,” उनले भनिन्, “अहिले पेट दुखिरहन्छ।”

पहिलोपटक १५ वर्षकै उमेरमा आमा बनेकी थिइन् उनी। त्यहीकारण हुनसक्छ, उनले कलिलै उमेरदेखि पीडा हुन थालेको सुनाइन्। उनलाई अहिले चौथो डिग्रीको यूटेराइन प्रोल्याप्स (आङ खस्ने समस्या) पुष्टि भएको छ। 

बेसरा विक।

एक छोरा र छोरीकी आमा बेसरा विक (४०) ले भने लाजकै कारण लामो समय आफ्नो समस्या कसैलाई भनिनन्। अहिले त्यसो गरेकोमा उनी पछुतोमा छिन्। “पहिले मस्तै लाज लाग्थ्यो। लाज मान्दा बिग्रँदो रहेछ,” हालसालै शिविरमा पुगेर रिङ हाली खसेको पाठेघरको उपचार गराएकी बेसराले भनिन्।

जनस्वास्थ्यविद् डा. खेम कार्की नेपालमा कानूनतः विवाहको उमेर २० वर्ष तोकिए पनि मुक्तिकोट जस्ता दुर्गमका गाउँमा यसले केही फरक नपारेको, त्यहाँ बालविवाह यथावत् हुँदा यो समस्या बढेको बताउँछन्। उनी भन्छन्, “पाठेघर परिपक्व नहुँदै सानै उमेरमा बच्चा जन्माउँदा पाठेघर खस्ने जोखिम बढ्छ।”

त्यो जोखिम ज्यानै जाने रोगलाई निम्तो दिनेसम्मको हुन्छ। जस्तो, पाँच छोरी र एक छोराकी आमा ६२ वर्षीया थुमा विक। मुक्तिकोटकी थुमाले आफ्ना अरू तीन सन्तान त गर्भमै तुहिएको बताइन्। “आधा जिन्नगी त (बच्चा) पाएरै गया,” उनले भनिन्। 

आङ खसेर हिँडडुल गर्नै गाह्रो भइरहेका बेला उनी केही समयअघि यही समस्या लिएर स्वास्थ्य शिविरमा पुगेकी थिइन्। त्यहाँ आङ खस्ने समस्या बिग्रिएर क्यान्सरको जोखिम हुन्छ भन्ने थाहा पाएपछि उनले शल्यक्रिया गरेर पाठेघर नै फालिन्। “यो घाँडोले धेरैलाई दुःख दिएको छ गाउँमा,” उनले भनिन्।

थुमा विक।

मुक्तिकोटमा आङ खस्ने समस्यालाई यहाँका महिला ‘घाँडो’ भन्ने गर्छन्।

५० वर्षीया केसी विकलाई अर्को पछुतो छ। उनले घरमै जडीबुटी खाएर दुइटा गर्भ तुहाएको सुनाइन्। “३ गर्भ खेर गया, २ वर्षकी छोरी मरी, २ तुहाएर फाल्या,” तीन छोरा र दुई छोरीकी आमा उनले भनिन्, “अहिले सेतो पानी बगिरहन्छ, पाठेघर ठन्कँदो छ।” 

स्वास्थ्य शिविरमा गरिएको परीक्षणबाट थाहा भयो, उनलाई पनि अन्तिम (चौथो) डिग्रीको आङ खसेको रहेछ।

केसी विक।

कुपोषणको कहर पनि 
बाजुरा यसै पनि खाद्यान्न उत्पादन असाध्यै कम हुने र प्रायः खाद्यान्नको अभाव भइरहने ठाउँ हो। यहाँका आमा, बच्चा र किशोरीसमेत खाद्यान्न र पोषण अभावकै कारण कुपोषणसँग जुधिरहेका छन्। मुक्तिकोट जस्ता गाउँमा आङ खस्ने समस्या बढाउने अर्को प्रमुख कारण कुपोषण भएको जनस्वास्थ्यविद् डा. खेम कार्की बताउँछन्। 

सुत्केरी अवस्थामा महिलालाई प्रशस्त प्रोटिन, भिटामिन सी र खनिज पदार्थ आवश्यक हुन्छ। अवस्था चाहिँ कस्तो भने यहाँका सुत्केरीले हरियो सागपात नै पाउँदैनन्। पाइहाले सागपात खान दिइँदैन। यो अवस्थाले पाठेघरलाई सहारा दिने तन्तु नै कमजोर हुने गरेको डा. कार्कीको भनाई छ। 

पेसाले नर्ससमेत रहेकी अधिकारकर्मी राधा पौडेल भने आङ खस्ने समस्याको जरो बालविवाह वा गर्भान्तरको अभावमा सीमित नरहेको, बरु यो प्रणालीगत महिनावारी विभेदसँग जोडिएको बताउँछिन्। “ती सबै सहायक कुरा हुन्,” पौडेल भन्छिन्, “मुख्य कुरा के भने बच्चा जन्मेको तीन देखि ६ महिनामा आमा महिनावारी हुन्छिन्। महिनावारी भएपछि उनलाई भान्छा र खानेकुरा बार्न लगाइन्छ। आमाले फलफूल, सागसब्जी, दहीदूध र पोसिलो खान पाउँदिनन्। आमा कुपोषित भएपछि बच्चा स्वतः कुपोषणमा पर्छन्। यसरी ६ महिनाको उमेरदेखि नै छोरीको कुपोषणको चक्र शुरू हुन्छ।”

उनको प्रश्न छ– जन्मिने बेलादेखि नै छोरीलाई पोषण र स्याहारमा विभेद गरिन्छ भने उसको पाठेघर कसरी बलियो हुन्छ? 

पौडेल लामो समयदेखि कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा केन्द्रित भएर काम गरिरहेकी छन्। त्यहाँ काम गर्दाको अनुभवले गर्भाधान नै नगरेका महिलामा पनि पाठेघर खसेको देखेपछि आफू यस्तो निष्कर्षमा पुगेको उनको भनाई छ। “पाठेघरलाई मांसपेशीले अड्याएको हुन्छ। त्यो मांसपेशीलाई तागत दिने पोसिलो खानेकुरा नै नदिइएपछि बच्चा बस्ने पाठेघर कसरी बलियो हुन्छ?”, आङ खस्नुका प्रणालीगत एवम् पितृसत्तात्मक कारण भएको उनको जिकिर छ।

null

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. आश्मा राणाले २०५० देखि २०५६ सालसम्म अस्पताल आएका ४२० महिलामा एउटा अध्ययन गरेकी थिइन्। त्यो अध्ययनले त्यतिबेला नै १३–१४ वर्षका केटीहरू पनि आङ खस्ने समस्याबाट पीडित भएको देखाएको थियो। 

सन् २०१७ मा ‘इन्टरनेसनल जर्नल अफ हेल्थ साइन्सेस एन्ड रिसर्च’मा प्रकाशित एक समीक्षागत अध्ययन ‘बर्डेन अफ पेल्भिक अग्र्यान प्रोल्याप्स इन नेपालः हाउ टु प्रिभेन्ट एन्ड मेनेज इट’का अनुसार विकसित देशको तुलनामा नेपालमा निकै कम उमेरमा आङ खस्ने समस्या विकसित भएको देखिन्छ। नेपाल जर्नल अफ अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजीले सन् २००७ मा गरेको अध्ययन अनुसार नेपालमा आङ खस्ने समस्याबाट प्रभावित महिलाको औसत उमेर २७.९ वर्ष रहेको, १४ प्रतिशत महिलामा २० वर्ष नपुग्दै आङ खस्ने समस्या शुरू भइसक्ने उल्लेख छ।

null

चिकित्सकहरूका अनुसार गाउँघरमा असुरक्षित सुत्केरी गराउनेक्रममा योनीको मुख नखुल्दै बल गर्न लगाउँदासमेत आङ खस्ने जोखिम देखिन्छ। सन् २०२१ मा स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले गरेको ‘सोसियोइकोनोमिक डिटरमिन्यान्ट्स अफ इन्इक्वालिटीज् इन यूज अफ सेक्सुअल एन्ड रिप्रडक्टिभ हेल्थ सर्भिसेस अमङ करेन्ट्ली म्यारिड वुमन इन नेपाल’ (नेपालका विवाहित महिलामा यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रयोगमा रहेका सामाजिक आर्थिक असमानताका निर्धारकहरू) अध्ययन अनुसार संस्थागत सुत्केरी गराउने दर बढेको देखिए पनि सन् २०१९ मा धनी महिलामा ९६ प्रतिशत संस्थागत सुत्केरी हुँदा गरिब महिलामा यो दर ५७ प्रतिशत मात्र देखिएको थियो।  null

वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ अनुसार नेपालमा करिब ६.४ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट प्रभावित छन्। देशभर कुल १ लाख १ हजार ८६२ महिलाको पाठेघर परीक्षण गरिएकोमा २०.२२ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या पहिचान भएको थियो। पहिचान भएकामध्ये १२ हजार ५६६ महिलालाई ‘रिङ पेसरी’ लगाइएको थियो भने गम्भीर अवस्थाका १ हजार ४१५ जनाको शल्यक्रिया गरिएको थियो। दुई हजार ७४२ जनालाई ‘रेफर’ गरिएको प्रतिवेदनमा उल्लेख छ। 

प्रजनन अधिकार हनन: उपचार छ, रोकथाम छैन 
पाठेघर खस्नु यस्तो समस्या हो जसले महिलाको शारीरिक मात्र नभई मानसिक, सामाजिक तथा यौन जीवनमासमेत गम्भीर असर पार्छ। यौन सम्पर्क गर्दा, दिसापिसाब गर्दा, उठ्दा–बस्दा असहज पीडा भएकै कारण अधिकांश आङ खसेका महिलामा मनोसामाजिक विचलन देखिएको संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को आर्थिक सहयोगमा स्वास्थ्य सेवा विभागले गरेको एक अध्ययनले देखाएको छ। 

सन् २०११ मा ११ जिल्लामा गरिएको अध्ययनअनुसार पाठेघर खस्ने समस्याका कारण ९५ प्रतिशत महिला एक्लै बस्न रुचाउने र ८० प्रतिशत महिलाले जीवनको आशा नै मारिसकेको बताउने गरेका थिए। प्रतिवेदनमा ‘कतिपय महिलाले श्रीमानबाट जबरजस्ती यौन सम्बन्ध राख्न बाध्य हुनुका साथै  बहुविवाह गर्ने धम्कीसमेत खेप्नु परेको’ उल्लेख छ। 

अध्ययनमा समेटिएका ३५७ महिलामध्ये १९.६ प्रतिशतमा ढाड दुख्ने र योनीमा जटिल संक्रमण जस्ता समस्या देखिएका थिए। 

null

स्वास्थ्य सेवा विभागले पाठेघर खस्ने समस्या सम्बोधन गर्न अहिले प्रत्येक स्थानीय तहलाई बजेट उपलब्ध गर्दै आएको छ। प्रसूति सेवा उपलब्ध अस्पतालमा निःशुल्क शल्यक्रिया सेवा पनि दिइरहेको छ। २०६५ सालमा सर्वोच्च अदालतले पाठेघर खस्ने समस्यालाई महिलाको ‘प्रजनन अधिकारको उल्लंघन’ ठहर गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क परामर्श, उपचार, सेवा र सुविधा उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यसयता विभागको परिवार कल्याण महाशाखाले आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा दिन थालेको हो।

विभागको प्रजनन शाखा प्रमुख शर्मिला पौडेल भन्छिन्, “हामी सबै पालिका र अस्पतालमा स्क्रिनिङका लागि बजेट पटाउँछौँ, शल्यक्रियाका लागि भने बढी समस्या देखिएका जिल्लामा मात्र बजेट पठाइन्छ।” यदि जिल्लामा बजेट नपुगेको खण्डमा प्रदेश निर्देशनालयमा रहेको जगेडा बजेटबाट पनि उपचार गर्ने गरेको उनी बताउँछिन्। 

स्वास्थ्य सेवा विभागको आँकडा अनुसार पछिल्ला पाँच वर्षमा सरकारले आङ खस्ने समस्या भोगेका महिलाको निःशुल्क शल्यक्रिया गर्न ११ करोड ५४ लाख ९६ हजार रुपैयाँ खर्च गरेको देखिन्छ। जनस्वास्थ्यविद् डा. खेम कार्की भने शल्यक्रिया उपचार मात्र भएकाले समस्याको वास्तविक समाधान अर्थात् आङ खस्ने अवस्था रोकथाममा ध्यान नदिइएको बताउँछन्। 

“उपचारका लागि शल्यक्रिया सँगसँगै खानपान, पोषण, व्यायाम र जनचेतनामा पनि जोड दिइनुपर्छ,” डा. कार्की भन्छन्। 

null

चिकित्सा मानवशास्त्री (मेडिकल एन्थ्रोपोलोजिष्ट) डा. सचिन घिमिरे महिलामा गर्भाधानको मात्र नभई गर्भपतनको पनि भार परेको बताउँछन्। “चाहे छोटो समयका लागि होस् या लामो, महिलाले नै कन्ट्रासेप्सन युज गर्नुपर्ने बाध्यता छ,” घिमिरे भन्छन्, “सरकारी कार्यक्रम र मेलहरूको माइग्रेसनको बीच पनि लुकामारी देखिन्छ। जब पुरुषहरू बाहिर जान्छन्, तब नै गर्भपतनका कार्यक्रम गाउँ पुग्छन्।” 

मुक्तिकोटमा गर्भपतनका लागि आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति नभएकाले यहाँका महिला सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ। नजिकैको आधारभूत स्वास्थ्य सेवा केन्द्र फयलगाउँमा मुक्तिकोटका अधिकांश स्थानीय आउने गरेको अनमी विश्ना रोकाया बताउँछिन्। “हरेक महिना ५–६ जना महिला कम्तीमा आएकै हुन्छन्,” उनले भनिन्।

मुक्तिकोटका अधिकांश पुरुषले परिवार नियोजनका साधन प्रयोग नगर्ने हुँदा पनि आङ खस्ने समस्या बढेको खोलीकोट सामुदायिक स्वास्थ्य इकाईका सिनियर अहेब वृज विक बताउँछन्। 

null

सन् २०१५ मा गुटेनबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गर्ने सोधार्थीले नेपालका २५ जिल्लाका ४ हजार ६९३ विवाहित महिलामाझ गरेको अध्ययनले ३७.५ प्रतिशत महिलालाई आङ खस्ने रोगबारे थाहा भएको नतिजा बाहिर ल्याएको थियो। त्यो अध्ययनले महिलाले औसतमा २३ वर्षसम्म पाठेघर खस्ने समस्या सहेर वा लुकाएर बस्ने गरेकोसमेत देखाएको छ। 

एम्नेस्टी इन्टरनेशनल नेपालले त आफ्नो प्रतिवेदनमै आङ खस्ने समस्याको आधारभूत कारण लैंगिक भेदभाव भएको उल्लेख गरेको छ। ‘महिलालाई आफ्नो शरीर, यौन व्यवहार र प्रजनन अर्थात् बच्चा कहिले र कति जन्माउने भन्नेबारे निर्णय गर्ने अधिकार नहुँदा पाठेघर खस्ने जोखिम बढेको’ प्रतिवेदनमा उल्लेख छ। बाजुरा, मुक्तिकोटका पान्थुरजस्ता महिला यो प्रतिवेदनसँग पूरै अनभिज्ञ छन्। त्यसैले त उनीहरू खसेकै पाठेघर लिएर दोस्रो छोरा पाउन स्वास्थ्य चौकी धाइरहेका छन्।
(यहाँ राखिएका सबै तस्वीर सहमति लिएर खिचिएका हुन्।)

एक जना महिलाले हात जोडेर भनिछन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’ ‘किन र ? मृत्युपछि त लुगा फुकालेर, सफा गरेर मात्र चितामा राख्ने संस्कार छ । फेरि मृत्युपछि त तिमीलाई केही थाहा पनि हुन्न नि’ भनेर सोध्दा उनले जवाफ दिइछन्, ‘मैले अहिलेसम्म लुकाएर राखेको मेरो खसेको पाठेघर सबैले देख्छन् अनि त मेरो आत्मालाई पनि शान्ति हुनेछैन त्यसैले।’ एक संस्थामा कार्यरत कल्पनाले मलाई उनको दुःखद कथा सुनाइन्। यी सुदूर पश्चिमकी एक महिलाले जस्तै मृत्युपछि पनि आफ्नो खसेको पाठेघर देखाउन नचाहने, लाज र पीडाको भार बोकेर बसेका धेरै महिलाहरू नेपालमा छन्। तर तिनीहरूको कथाव्यथा सुन्ने र तिनलाई समाधान गर्ने फुर्सद र धैर्यता स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवाला स्थानीय निकाय र स्वास्थ्य संस्थाहरूसँग छैन। पहाड र तराईको महिलामा यस्ता वेदना थुप्रै छन्। कसैले पोख्छन्, कोही लुकाएर बस्छन् र त्यसैसँग चितामा जान चाहन्छन्। महिलाको पाठेघर झर्ने समस्याको बारेमा छलफल गर्दा उनीहरूको बेदनाको अर्थात पाठेघर खस्ने कारण वा मूल जरो खोज्न छाडेर केवल ‘पाठेघर खसेको समस्या मात्र’ समाधान गर्नुपर्छ भन्दै शल्यक्रिया गरिन्छ। समस्या भएपछि शल्यक्रिया र उपचार त अवश्य नै चाहिन्छ। तर समस्याको जरो नहटाए आउँदा वर्षसम्म खसेको पाठेघरको शल्यक्रिया मात्रै गरेर समस्या सामाधान हुँदैन। पाठेघर खस्ने समस्या केवल औषधि, अस्पताल, शल्यक्रिया भएर मात्र ठिक हुँदैन। यसलाई महिलाको सामाजिक अवस्थासँग नै जोडेर हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालय रोगको उपचार मात्र गर्न खोज्छ तर रोगको जरो निमिट्यान्न पार्न खोज्दैन। गाउँघरमा त महिलालाई ‘गोरू जस्तै जोतेर’ काममा लगाउने प्रवृत्ति विद्यमान छ। महिलाले कम खाए पनि हुन्छ भनेर बच्चा र किशोरी उमरेमा तिनीहरूलाई टन्न पोषिलो खाने कुरा खान पनि दिइन्नँ । यसरी किशोरीको शरीर कमजोर हुन्छ र यहीँबाट शुरू हुन्छ उनको पाठेघर झर्ने समस्या। करिब १५ वर्ष अघिको कुरा हो, हामी अछामको मंगलसेनमा हिँडिरहेका थियौं। बाटोमा धेरै महिलाहरू सिमेन्ट बोकेर उकालो लागिरहेका देखिन्थे। त्यो बेलामा लाहुरे पुरूषहरू हातमा रेडियो लिएर सुन्दै थिए। ‘ओहो तपाईँहरू यस्तो सिमेन्ट लिएर ५–६ घण्टा हिँडेर आउनुभयो। गाह्रो हुन्न र?,’ ती श्रमिक महिलामध्ये एकलाई मैले सोधेँ। ‘गाह्रो भए पनि के गर्नु, हाम्रो जिन्दगी नै यस्तै छ,’ खुइय सास फेर्दै ती महिलाले जवाफ दिइन्। त्यहीँ भेटिएका एक जना भद्र भलाद्मी जस्तो देखिने मानिसलाई सोध्यौं, ‘यति माथिसम्म यस्तो भारी ल्याउन त खच्चर लगाए पनि हुन्छ होला नि?’ रेडियो कानमा लगाएर, एउटा छाता ओडेर ती भलादमीले सहजै जवाफ दिए, ‘खच्चरले ल्याउँदा महंगो पर्छ। घरकै आइमाईहरूले बोके सस्तो पर्छ। फेरि यी महिलाहरूको खासै काम पनि त छैन। त्यति भारी त बोकिहाल्छन् नि।’ ती भलादमीको कुराले मन झसंग भयो। महिलाहरूको जीवनको मुल्य त खच्चरको भन्दा पनि कम रहेछ। यसरी सुदूर पश्चिममा महिलाले भारी बोकेको देखेरै भनिएको होला, ‘तराईमा गोरू नहुनू, पहाडमा महिला नबन्नू।’ खच्चडभन्दा बढी भारी बोक्नुपर्ने महिलाको सामाजिक मानसिकताले महिला, किशोरी, युवतीहरू गर्भवती हुँदा सुत्केरी हुँदा पनि कठोर शारीरिक काम गरिरहनुपर्ने बाध्यता छ, अनि पाठेघर खसिरहन्छ।

aruna uprety

5 months, 2 weeks ago

एक जना महिलाले हात जोडेर भनिछन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’ ‘किन र ? मृत्युपछि त लुगा फुकालेर, सफा गरेर मात्र चितामा राख्ने संस्कार छ । फेरि मृत्युपछि त तिमीलाई केही थाहा पनि हुन्न नि’ भनेर सोध्दा उनले जवाफ दिइछन्, ‘मैले अहिलेसम्म लुकाएर राखेको मेरो खसेको पाठेघर सबैले देख्छन् अनि त मेरो आत्मालाई पनि शान्ति हुनेछैन त्यसैले।’ एक संस्थामा कार्यरत कल्पनाले मलाई उनको दुःखद कथा सुनाइन्। यी सुदूर पश्चिमकी एक महिलाले जस्तै मृत्युपछि पनि आफ्नो खसेको पाठेघर देखाउन नचाहने, लाज र पीडाको भार बोकेर बसेका धेरै महिलाहरू नेपालमा छन्। तर तिनीहरूको कथाव्यथा सुन्ने र तिनलाई समाधान गर्ने फुर्सद र धैर्यता स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवाला स्थानीय निकाय र स्वास्थ्य संस्थाहरूसँग छैन। पहाड र तराईको महिलामा यस्ता वेदना थुप्रै छन्। कसैले पोख्छन्, कोही लुकाएर बस्छन् र त्यसैसँग चितामा जान चाहन्छन्। महिलाको पाठेघर झर्ने समस्याको बारेमा छलफल गर्दा उनीहरूको बेदनाको अर्थात पाठेघर खस्ने कारण वा मूल जरो खोज्न छाडेर केवल ‘पाठेघर खसेको समस्या मात्र’ समाधान गर्नुपर्छ भन्दै शल्यक्रिया गरिन्छ। समस्या भएपछि शल्यक्रिया र उपचार त अवश्य नै चाहिन्छ। तर समस्याको जरो नहटाए आउँदा वर्षसम्म खसेको पाठेघरको शल्यक्रिया मात्रै गरेर समस्या सामाधान हुँदैन। पाठेघर खस्ने समस्या केवल औषधि, अस्पताल, शल्यक्रिया भएर मात्र ठिक हुँदैन। यसलाई महिलाको सामाजिक अवस्थासँग नै जोडेर हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालय रोगको उपचार मात्र गर्न खोज्छ तर रोगको जरो निमिट्यान्न पार्न खोज्दैन। गाउँघरमा त महिलालाई ‘गोरू जस्तै जोतेर’ काममा लगाउने प्रवृत्ति विद्यमान छ। महिलाले कम खाए पनि हुन्छ भनेर बच्चा र किशोरी उमरेमा तिनीहरूलाई टन्न पोषिलो खाने कुरा खान पनि दिइन्नँ । यसरी किशोरीको शरीर कमजोर हुन्छ र यहीँबाट शुरू हुन्छ उनको पाठेघर झर्ने समस्या। करिब १५ वर्ष अघिको कुरा हो, हामी अछामको मंगलसेनमा हिँडिरहेका थियौं। बाटोमा धेरै महिलाहरू सिमेन्ट बोकेर उकालो लागिरहेका देखिन्थे। त्यो बेलामा लाहुरे पुरूषहरू हातमा रेडियो लिएर सुन्दै थिए। ‘ओहो तपाईँहरू यस्तो सिमेन्ट लिएर ५–६ घण्टा हिँडेर आउनुभयो। गाह्रो हुन्न र?,’ ती श्रमिक महिलामध्ये एकलाई मैले सोधेँ। ‘गाह्रो भए पनि के गर्नु, हाम्रो जिन्दगी नै यस्तै छ,’ खुइय सास फेर्दै ती महिलाले जवाफ दिइन्। त्यहीँ भेटिएका एक जना भद्र भलाद्मी जस्तो देखिने मानिसलाई सोध्यौं, ‘यति माथिसम्म यस्तो भारी ल्याउन त खच्चर लगाए पनि हुन्छ होला नि?’ रेडियो कानमा लगाएर, एउटा छाता ओडेर ती भलादमीले सहजै जवाफ दिए, ‘खच्चरले ल्याउँदा महंगो पर्छ। घरकै आइमाईहरूले बोके सस्तो पर्छ। फेरि यी महिलाहरूको खासै काम पनि त छैन। त्यति भारी त बोकिहाल्छन् नि।’ ती भलादमीको कुराले मन झसंग भयो। महिलाहरूको जीवनको मुल्य त खच्चरको भन्दा पनि कम रहेछ। यसरी सुदूर पश्चिममा महिलाले भारी बोकेको देखेरै भनिएको होला, ‘तराईमा गोरू नहुनू, पहाडमा महिला नबन्नू।’ खच्चडभन्दा बढी भारी बोक्नुपर्ने महिलाको सामाजिक मानसिकताले महिला, किशोरी, युवतीहरू गर्भवती हुँदा सुत्केरी हुँदा पनि कठोर शारीरिक काम गरिरहनुपर्ने बाध्यता छ, अनि पाठेघर खसिरहन्छ।

aruna uprety

5 months, 2 weeks ago