ग्रीनल्यान्डदेखि गोर्खाल्यान्डसम्म

देवी-देउताबाट डेटा र तेलमा सरेको विश्व राजनीतिको आजको मेनिफेस्टोमा एक मात्र मूल मुद्दा युद्ध हो। अरू सबै मुद्दा पाद टिप्पणीमा पददलित भएका छन्।

जसरी अहिले अमेरिका, रुस र चीनको मोहरा बनेको छ ग्रीनल्यान्ड, त्यसैगरी टीएमसी, भाजपा र काङ्ग्रेसको मोहरा बनेको छ दार्जिलिङ पहाड। बारम्बार यी तीन दलहरूको ग्रान्ड डिजाइनको गुँड बनेको दार्जिलिङ पहाड, 'मोहरा' मात्र नभएर राजनीतिक 'महाहारा' साबित भइसकेको छ। टीएमसी, भाजपा र काङ्ग्रेसको चुनावी सेतु बनिदिने दार्जिलिङ पहाड अन्तमा उनीहरूकै शत्रु कहलिन्छ।

तीनमध्ये जसको सत्ता आए पनि दार्जिलिङ पहाड भने, हट्टाबहार (ब्यानिइस्ड) नै हुने गरेको छ। कम्पनीको हट्टाबहार नियम पहाडका चियाबारीमा आज नभए तापनि राज्य र केन्द्रको राजनीतिबाट हट्टाबहार हुने अलिखित-अघोषित नीति-नियम पहाडमा लागू नै छ। गोर्खाल्यान्ड त के, स्वीजरल्यान्डसम्म बनाइदिन्छु भन्न भ्याएका नेताहरू थिए र छन्। तरै पनि दार्जिलिङ पहाड न त गोर्खाल्यान्ड भयो न त स्वीजरल्यान्ड नै बन्यो। अन्ततः दार्जिलिङ पहाड गोर्खाल्यान्ड र स्वीजरल्यान्डको साटो ग्रीनल्यान्ड बन्यो, जसको न वर्तमान आफूसित छ न त भविष्य नै। राज्य र केन्द्रको राजनीतिक चलखेलको ठेगाना बनेको दार्जिलिङ पहाड आफू भने दिनप्रतिदिन बेठेगान हुँदै गइरहेको छ।

देवी-देउताबाट डेटा र तेलमा सरेको विश्व राजनीतिको आजको मेनिफेस्टोमा एकमात्र मूल मुद्दा युद्ध हो। अरू सबै मुद्दा पाद टिप्पणीमा पददलित भएका छन्। 'वर्ल्ड टुरिजम'का अनेक नामहरूमा 'वार टुरिजम'को प्रवेशसितै अब विश्व यस्तो विन्दुमा पुगिसकेको छ, जोसित दुर्घटना हुनु बाहेक कुनै विकल्प बाँकी रहेको छैन। आजको समयमा विश्व परियोजना भनेको युद्ध हो। संसार अझै पनि यत्ति बच्चा छ कि जो हरेक लडाइँ झगडा गरेर नै जितौँ भन्छ। कमजोरहरू नै हुन् झगडा गर्न तम्सिरहने। ग्रीनल्यान्डमाथि अमेरिकाको फ्लाइङ नजर त्यहाँको संसाधनहरूमा छ। रुसले आफ्नो शक्ति प्रदर्शनको लागि ग्रीनल्यान्डमा मार्ग प्रशस्त गरिसकेको छ।

चीनले 'नियर-आर्कटिक स्टेट' घोषणा गर्दै आफ्नो 'कार्टोग्राफिक एग्रेसन’ (नक्सा मिचाहा प्रवृत्ति) ग्रीनल्यान्डमाथि देखाइरहेको छ। हुन त यो आक्रमकता चीनसँग मात्रै होइन, सबै शक्ति राष्ट्रहरूसित नै आप्लावित छ। भूभागको हकदावी गर्ने शासक-शोषकहरूसित अब भावनाको कुनै पनि भाग बचेको छैन। यस्तोमा ग्रीनल्यान्डले यति बेला आफूलाई न बचाउन सकिरहेको छ न त गुमाउन न नै। दार्जिलिङ पहाडको राजनीतिक हबिगत पनि विगत लामो समयदेखि राज्य र केन्द्रको यस्तै ट्र्याप (जाल)मा छ। जसको अघि पहाडले उनीहरूको 'टुल्स' बन्न छाडेर आफ्नै पोलिटिकल ट्र्याक पकड्न सकेको छैन। बडो सकसपूर्ण दोसाँधमा छ दार्जिलिङ। यस सन्दर्भमा दार्जिलिङे कवि प्रणय शङ्करको कविताका पङ्क्ति स्मरणीय छ-


"म झस्किएँ

र सम्झेँ आफ्नै पहाड

पहाडमाथि गुजुल्टिएर बसेको आदिम सर्प

पहाडको उन्मुक्तिको प्रत्येक सङ्घर्षमा ऊ खुम्चिएको थियो

पहाडले रोकेको प्रत्येक श्वासमा ऊ अझै कसिएको थियो,

अब पहाडले श्वास ताने पनि मर्छ

श्वास छाडे पनि मर्छ!''

'जातिवादी, माटोवादी हुँ' भन्नु जत्तिको पार्टीवादी कुरा केही पनि होइन रहेछ भन्ने पहाडका नेताले पटक पटक प्रस्ट रूपमा पुष्टि गरिसकेका छन्। दार्जिलिङ पहाडमा गोर्खाल्यान्डको मुद्दा मात्र नभएर ती मुद्दा बोक्छु भन्ने नेताहरू नै समस्या बनिसकेका छन्। नेतृत्वको नैतिकता जनतासामु धेरै अघि धुलिसात भइसकेको छ। शान्ति र स्थिरताको नाममा सत्ता लाभ लिइरहेका नेताहरूलाई विकासे मुद्दा निक्कै फलिफाप बनेको छ। जनताले जुनै हालमा भए पनि आफ्नै तालमा रमाउने स्वभावको रीतिरिवाज बनाइसकेका छन्। अचेल गाउँठाउँमा तल्लोघर माथ्लोघरतिर ट्रम्प, पुटिन र सीको चर्चा हुन्छ। जुन गाउँघरको आँगन-अगेनो चर्चामा राज्य र देशकै ममता-मोदी भने आक्कलझुक्कल सन्दर्भ सूचीमा पछिल्तिर गाभिन्छन्। पहाडका नेताहरू त चर्चाको विषयबाट गायबै भइसके।

सोसल मिडियाबाट परिचालित राजनीतिको परिवेशमा डिजिटल एल्गोरिदमद्वारा नियन्त्रित हाम्रा साइँली-माइली, जेठा-कान्छाको मोबाइल स्क्रिनमा केवल ट्रम्प, पुटिन प्रतिफलित छन्। 'एड'मा पनि ट्रम्प-पुटिन र स्किपमा पनि ट्रम्प-पुटिन आउँछन्। मानिससँग आफ्नो न त स्मृति बचिरहेको छ, न त सोच्ने क्षमता बढिरहेको छ। मानव मस्तिष्क निरन्तर डिजिटल डिमेन्सियाको यात्रामा छ। इन्टरनेटको एल्गोरिदमका कारण मानिसको अन्तर्मन आफैआफ बहिर्गमन भइरहेको बेला छ। समुद्रको गहिराइ नै थाहा नपाई, मङ्गल ग्रह उडिसकेको मानव समाजको मानसिकता यति आकासे भइसकेको छ कि उसले भुईँ बिर्सिएको दशकौँ बितिसक्यो। यस्तोमा न त आफ्ना संकटहरू देखिन्छन्, न त आफूमाथि भइरहेको आक्रमण। सोइपरी बेपरवाहको हाहाहुहुमै छ दार्जिलिङ पहाड पनि।

ड्रोन डोनाल्डको पेट्रो-डलर पोलिटिक्स र रुष्ट रुसको तोप-रकेट रणनीतिले निर्माण गरेको विश्व व्यवस्था (वर्ल्ड अर्डर) यति भयङ्कर मोडमा छ, जहाँ पृथ्वी नै एउटा बबन्डरमा नपरी विमुक्ति नमिल्ने सङ्केत देखिँदै छ। यो जुगमा तुजुक अलावा खासै केही देखिएको छैन। वास्तवमा दुनियाँमा एकले अर्कालाई हराउनु भन्दा पनि यति बेला जोगाउनु नै जितको कुरा हुनेछ। यस प्रकारको साहस भने यति बेला उठिबास लागिसकेको छ। आज जुनै पनि देशको दशा र दिशा स्वयंसित नभएर ती देशहरूसित छ, जोसित राजनीति र कूटनीतिको पहुँच होइन, केवल सामरिक सामर्थ्यको दबाब-दबदबा छ।

ग्रिनल्यान्डमा सिर्जित समस्या पनि यिनै प्रभावद्वारा उद्घाटित अवस्था हो। सर्वसत्तावादी जनवाद (अथरिटेरियन पपुलिज्म) मा पुलकित गतिविधिले निर्मित वैश्विक व्यवस्थामा स्वतन्त्रता, समानता र बन्धुत्वको नतिजा त परको कुरा, नारा नै पनि बेस्याहार छ। संसारमा शान्ति अब काल्पनिक कथाकुथुङ्ग्री भइसकेको छ। जसलाई पढ्न र स्मरण गर्न त सकिन्छ, त्यसैमा विचरण गर्न सायदै सम्भव छ।

एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले पक्षीलाई जस्तो च्याप्प पक्रेर ल्याएको दृश्यले के संकेत गर्छ? के चील अब अन्तर्राष्ट्रिय पक्षी बनिसकेको हो? अन्तर्राष्ट्रिय न्यायालय हेरेको हेर्‍यै। विश्वका सार्वभौमिक सम्झौताहरू अब सम्झना मात्र बनेका छन्। मूकदर्शक समयमा यति भन्न सकिन्छ, 'सम्झिने पानी छम्किने!' उताको कुरा गर्दा यताको कुरा बिर्सिनु हुन्न, जुन के भने भर्खरै गोर्खा जातिका माग सम्बन्धका लागि केन्द्र सरकारले नियुक्त गरेका इन्टरलोक्युटर (समन्वयक) पङ्कज कुमार सिंह विधान सभा चुनावको क्यालेन्डर डेटमा दिल्लीबाट दार्जिलिङ आइपुगेका छन्। जसलाई सत्तासीन पार्टीबाहेक प्रायःले भेटेर गोर्खाका समस्या र मागहरू सुनाइरहेका छन्।

गोर्खाहरूको मुद्दा उहिलेदेखि अहिलेसम्म केन्द्र सरकारले सुनेको सुन्यै र पढेको पढ्यै छ। सोचेको र सम्झेको भने छैन। बुझ्नुको अर्थ बोझमा परिणत बनिसकेको बेलामा, बोझ उठाउने जाँगर तातोभूत्लो कसैमा देखिँदैन। उही बिदाइ गर्नुपर्ने नेताहरूकै सधैँ पहाडमा हाइहाइ छ। बिहारका खान सरले भनेजस्तो 'नेता र फिल्म त्यस्तै चल्छ जस्तो जनता छ।' समाजमा त्यही विचार र दर्शन बिनाका नेताहरूलाई समर्थन गर्ने प्रचलन चलेकै छ। जुन नेताहरूको दलनमा जनताहरूको दैनिकी छ। उता ट्रम्प-पुटिनको बम-बारुद राजनीतिमा बेमतलब छ दुनियाँ। यता दुबिधाको विधामा नै आफूलाई सुविधा मानिरहेको दार्जिलिङ पहाड भने मनोज तिवारीको भोजपुरी गीतको बोल जस्तै, जहिल्यै 'हिहि हिहि हास्देली।'