इरानको क्षेप्यास्त्र क्षमता वार्ताको विषय बन्न सक्दैन : इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पको साटो वार्ताको प्रस्ताव गरे पनि इरानी अधिकारीले आफ्नो क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता वार्ताको विषय बन्न नसक्ने स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने आफ्नो चाहना नरहेको बताएपछि प्रतिक्रिया स्वरूप इरानी अधिकारीले इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको विषय बन्न नसक्ने बताएका छन्।

ट्रम्पले हालैका प्रदर्शनमा भएको दमनलाई लिएर हस्तक्षेप गर्ने चेतावनी दिँदै मध्यपूर्वमा नौसैनिक युद्धपोत पठाएपछि तेहरान र वासिङ्टनबीच आरोप–प्रत्यारोप जारी छ। अमेरिकी राष्ट्रपतिले बिहीबार राति तनाव मत्थर पार्ने प्रयासमा आफूले सैन्य कारबाही नचाहेको र इरानसँग वार्ता गर्न तयार रहेको बताएका थिए।

राष्ट्रपति ट्रम्पले तेहरानलाई आफ्नो परमाणु कार्यक्रममा सम्झौता गर्न दबाब दिँदै आएका छन्। अमेरिका लगायतका पश्चिमा मुलुकले इरानले परमाणु बम बनाउने लक्ष्य लिएको विश्वाससहित उसलाई रोक्न दबाब दिइरहेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले टर्की भ्रमणका क्रममा भनेका थिए, “यदि आपसी हित र सम्मानका आधारमा समान स्तरमा कुरा भयो भने तेहरान वार्ताका लागि तयार छ।” उनले अगाडि थपे, “म दृढताका साथ भन्न चाहन्छु कि इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमता कहिल्यै पनि वार्ताको विषय बन्ने छैन।”

एक्सिओस समाचार साइटका अनुसार अमेरिकी अधिकारीहरूले तेहरानसँग हुने कुनै पनि सम्झौतामा लामो दूरीका मिसाइलको भण्डारणमा सीमा तोकिनुपर्ने, संवर्धित युरेनियम हटाउनुपर्ने र स्वतन्त्र संवर्धनमा प्रतिबन्ध लगाउनुपर्ने शर्त राखेका छन्। अंकारास्थित ‘सेन्टर फर इरानी स्टडिज (आईआरएएम)’का निर्देशक सेरहन अफाकानले एएफपीसँग कुरा गर्दै अन्य मुद्दाहरूसँगै आणविक विषयमा अब सम्झौता गर्ने प्रयास ‘असम्भव’ हुने बताएका छन्। “ब्यालेस्टिक मिसाइल कार्यक्रम इरानको रक्षा योजनाको केन्द्रमा रहेकाले यो उसका लागि ‘रातो रेखा’ (रेड लाइन) बनेको छ,” उनले भने।

टर्कीका विदेशमन्त्री हाकान फिदानले इरानको पारमाणविक कार्यक्रमबारे वासिङ्टनसँग वार्ता पुनः शुरू गर्नु क्षेत्रीय तनाव कम गर्न महत्त्वपूर्ण हुने बताएका छन्। इस्तानबुलमा अराघचीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इजरायलले अमेरिकालाई इरानमाथि आक्रमण गर्न दबाब दिइरहेको दाबी गर्दै वासिङ्टनलाई ‘सामान्य ज्ञानका साथ काम गर्न र तनाव बढ्न नदिन’ आग्रह गरे।

इरानमा डिसेम्बरको अन्त्यमा आर्थिक मुद्दालाई लिएर शुरू भएको प्रदर्शन जनवरी ८ र ९ मा उत्कर्षमा पुगेको थियो। इरानले उक्त प्रदर्शनका लागि अमेरिका र इजरायललाई दोषी ठहर गर्दै उनीहरूले ‘आतंकवादी अभियान’लाई बढवा दिएको आरोप लगाएको छ। शुरूमा शान्तिपूर्ण भनिएको उक्त आन्दोलन पछि हिंसात्मक बन्दा ठूलो संख्यामा हताहती भएको थियो।

हताहत हुनेहरूको संख्या स्वतन्त्र रूपमा पुष्टि नभए पनि विभिन्न अधिकारवादी समूहहरूले पाँच हजारभन्दा बढीले ज्यान गुमाएको दाबी गरेका छन्। इरान सरकारले मृतकको संख्या करिब तीन हजार रहेको बताएको छ भने अमेरिकास्थित मानवअधिकारवादी संस्था एचआरएएनएले ११८ बालबालिकासहित ६ हजार ४७९ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ।