पाँच दशकपछि चन्द्रमामा मानव पठाउने नासाको तयारी अन्तिम चरणमा

नासाले पाँच दशकपछि अन्तरिक्ष यात्रीलाई चन्द्रमाको कक्षमा पठाउने मिसनका लागि शनिबारदेखि ‘काउन्टडाउन’ अभ्यास शुरू गर्दै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ। अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने प्रयोगात्मक काउन्टडाउन शुरू गरेको हो। 

यस अभ्यासले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियादेखि अन्तिम तयारीसम्मको परीक्षण गर्नेछ। यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको कक्षमा पुर्‍याएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ।

कमान्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन्। उनीहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन्। अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्नेछन्। ३२२ फिट अग्लो ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो।

सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्रै प्रक्षेपणको तयारी गर्न सक्नेछ। परीक्षणका क्रममा रकेटमा ७ लाख ग्यालोनभन्दा बढी अत्यधिक चिसो इन्धन भरिनेछ, जुन इन्जिन प्रज्वलन हुनुभन्दा करिब ३० सेकेन्ड अगाडिसम्म पुगेर रोकिनेछ। यसअघि प्रतिकूल मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सरेको थियो। हालको तालिकाअनुसार फेब्रुअरी ८ लाई सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति मानिएको छ।

‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर सतहमा अवतरण नगरी पुनः पृथ्वी फर्कनेछन्। करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण भएर हुनेछ। यसअघि 'अपोलो' कार्यक्रमअन्तर्गत सन् १९६८ देखि १९७२ सम्म नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमध्ये १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए।