साप्ताहिक ब्रिफिङः भट्टचनलाई जोगाउन चलखेल, स्वास्थ्य बीमासम्बन्धी समस्या के हो?

यो साता उकालोमा, सुगम लुम्बिनीको दुर्गम नियति: गर्भ बसेपछि मृत्युको भय,  जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’​​​​​​लगायतका खबरले बनाए हेडलाइन।

न्यूजलेटर शुरू गरौँ, लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च भएको समाचारबाट। लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च छ। पछिल्लो तथ्यांकअनुसार, सात प्रदेशमा भएको कुल मातृमृत्युमध्ये ३७ प्रतिशत लुम्बिनीमा छ। भौगोलिक रूपमा विकट कर्णालीभन्दा यो पाँच गुणाले बढी हो।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार, लुम्बिनीमा ६५० भन्दा बढी साना–ठूला स्वास्थ्य संस्था छन्। यहाँ बुटवलस्थित प्रादेशिक अस्पताल र नेपालगन्जस्थित भेरी अस्पतालजस्ता ठूला ‘टर्सरी केयर’ र मेडिकल कलेज छन्। गाउँगाउँसम्म सडक सञ्जाल पुगेकाले स्वास्थ्य संस्था पुग्न कर्णाली प्रदेशका पहाडी जिल्लाभन्दा सहज छ।

तर स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले हरेक वर्ष सार्वजनिक गर्ने मातृ तथा शिशुमृत्यु सर्भिलेन्सको पछिल्लो रिपोर्टअनुसार, लुम्बिनीमा आमाहरूको अवस्था नाजुक छ। महाशाखाले २०८२ वैशाखमा सार्वजनिक गरेको रिपोर्टअनुसार, यहाँका ४३ प्रतिशत गर्भवतीमा रक्तअल्पता छ, जुन राष्ट्रिय औसतभन्दा धेरै हो। रक्तअल्पताकै कारण लुम्बिनीमा मातृमृत्यु पनि बढी छ। पछिल्लो एक वर्षमा लुम्बिनीमा ५८ जना आमाले ज्यान गुमाए।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) रिपोर्टले पनि लुम्बिनीमा प्रति एक लाख जन्ममा २०७ सुत्केरीको मृत्यु हुने देखाएको छ। यो संख्या कर्णाली प्रदेशको (१७२) र मधेशको (१९२) भन्दा उच्च हो। जबकि, राष्ट्रव्यापी तथ्यांकमा प्रति एक लाख जन्ममा १५१ आमाको मृत्यु हुन्छ। बागमतीमा भने प्रति एक लाख जन्ममा ५८ आमाको मृत्यु हुन्छ।

लुम्बिनीमा आमा मात्र होइन, शिशु पनि सुरक्षित छैनन्। एनडीएचएस रिपोर्टअनुसार, प्रति एक हजार जन्ममा २५ शिशुको मृत्यु जन्मिएको एक महिनाभित्रै हुन्छ। पछिल्लो सरकारी विवरण त झन् डरलाग्दो छ, पछिल्लो एक वर्षमा ६२ शिशुले जन्मिएको सात दिन पनि बिताउन पाएका छैनन्, जसमध्ये बाँकेका २० र कपिलवस्तुका ११ जना छन्।

सुगम मानिने लुम्बिनी प्रदेशमै मातृशिशु स्वास्थ्यमा किन छ विकराल समस्या? यसको पूरा कथा बुझ्न पढ्नुहोस् सागर बुढाथोकीको यो रिपोर्ट : सुगम लुम्बिनीको दुर्गम नियतिः गर्भ बसेपछि मृत्युको भय ​​​​​​

अब कुरा गरौँ, स्वास्थ्य बीमासम्बन्धी समाचारबाट। स्वास्थ्य बीमा गरेका परिवारले बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा पाइने उपचार सुविधाको रकम ७५ प्रतिशतले घटाइएको छ। यस्तो सुविधा १ लाखबाट २५ हजार रुपैयाँमा झारिएको छ। ओपीडीबाहेक अस्पताल भर्ना (आईपीडी) र आकस्मिक (इमर्जेन्सी) सेवाको सुविधा भने छँदैछ।

बीमा बोर्डको यो निर्णयले स्वास्थ्य बीमाको प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ। बोर्डले यो निर्णय गर्नुअघि नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरेका अस्पतालले धमाधम बीमा सेवा बन्द गर्न थालेका थिए। बीमा बोर्डले भुक्तानी दिन समय लगाएको भन्दै त्रिवि शिक्षण अस्पतालले सेवा बन्द गर्ने निर्णय गरिसकेको थियो।

वीर, गंगालाललगायत अस्पतालले पनि बीमा बोर्डले भुक्तानी नदिए सेवा बन्द गर्ने घोषणा गरेका थिए। अरू केही अस्पतालहरूले समेत बीमा सेवा बन्द गर्न थालेपछि स्वास्थ्य बीमा गरेकाहरू समस्यामा परेका छन्। 

अब बोर्डले नै रकम घटाएपछि बिरामीले पाउने सुविधा पनि खुम्चिएको छ। स्वास्थ्य बीमा गरेका नागरिक उपचारका लागि अस्पताल पुग्दा कतिपय सेवा पाउन छाडेका छन्।

बोर्डले भुक्तानी दिन नसक्नुको कारण के हो? किन भुक्तानी दिन पुग्ने प्रिमियम उठाउन सक्दैन बोर्ड?लगायतका जिज्ञासा मेटाउन सागर बुढाथोकीको यो एक्सप्लेनर पढ्नुहोस् :स्वास्थ्य बीमासम्बन्धी समस्या के हो, किन आयो?

साताका प्रमुख हेडलाइनहरू

देश-समाज

भट्टचनलाई जोगाउन सत्ता र राज्य–संयन्त्रबाटै भएको चलखेल
सहकारीका बचतकर्ता र बैंकको रकम अपचलन गरेर व्यवसाय फैलाएका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहलाई जोगाउन सत्ताको छाया परेका सीआईबीदेखि सरकारी वकिल कार्यालयसम्म लागिपरेका थिए, कसरी?

निगमका कार्यकारी सञ्चालक नै टिकट बिक्रीमा संलग्न, मन्त्रालयले थाल्यो छानबिन
नेपाल वायुसेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले बजार प्रबन्ध विभागको अग्राधिकारमाथि हस्तक्षेप गर्दै विभिन्न उडानको टिकट निश्चित ट्राभल एजेन्सीलाई सस्तोमा बिक्री गरेको खुलेपछि मन्त्रालयले छानबिन थालेको छ।

यी हुन् ‘कालोसूची’मा भेटिएपछि समानुपातिकको बन्दसूचीबाट नाम हटाइएका उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका २१ जनासहित ७६ उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै उनीहरूको नाम हटाएको छ।

दशकौँदेखि थाती छन् मधेशका समस्या, फेरि निर्वाचन पर्खिंदै मतदाता
मधेशमा २०४८ सालको आमनिर्वाचनदेखि उठिरहेका मुद्दा तीन दशकपछि पनि यथावत छन्। बेरोजगारी, गरिबी, अशिक्षाजस्ता सवाल छाडेर उम्मेदवारहरू एक–अर्काका व्यक्तिगत विषयमा केन्द्रित भएका छन्।

‘ट्राफिक आइल्यान्ड’ बनिरहेको टुँडिखेल, सभा र समारोहले बिथोलिन्छ सडक
काठमाडौँमा हरेक दिन गुड्नेमध्ये ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा पुग्छन्, तर त्यही क्षेत्रमा धेरै ट्राफिक जाम हुँदा सर्वसाधारणले हैरानी बेहोर्नुपर्छ।

नेपालीभाषी राजबन्दीलाई क्षमादान गर्न भुटानका राजासमक्ष अपिल
प्रतिवेदनहरूका अनुसार भुटानको राजधानी थिम्फु नजिकका राबुना र चेमगाङ कारागारमा हाल कम्तीमा ३६ जना राजनीतिक बन्दी रहेका छन्।

गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’
गिरीबन्धुको ५१ बिघा जमिनको खरिदबिक्री रोक्का हुँदा २०६० सालदेखि बसोबास गर्दै आएका स्थानीय समस्यामा छन्। जमिन तत्काल फुकुवा गर्नुपर्ने मागसहित उनीहरूले यस क्षेत्रलाई ‘निर्वाचन गतिविधि निषेधित क्षेत्र’ घोषणा गरेका छन्।

स्वास्थ्य बीमा जोगाउन प्रधानमन्त्रीको अग्रसरताले देला त ‘ब्रेक थ्रु’?
स्वास्थ्य बीमा बन्द हुने अवस्था किन आयो, यो समस्या समाधान कसरी गर्न सकिन्छ र सरकारले तत्काल के गर्न सक्छ भन्ने बारे छलफल गर्न प्रधानमन्त्री कार्की आफैले बैठक डाकेकी हुन्।

विचार

टोकियोमा ‘नेपो–बेबी रिभिजिटेड’
यो हदको बेपरवाह, मनलाग्दी वा थेत्तरो तिथि त्यस बेलादेखि अहिलेसम्म यथावत् नै छ। यस्तो बेथितिको स्थितिमा अरबी भाषामा केही भन्नुपरेमा प्रचलित शब्दावली छ, खल्लीबल्ली।​​​​​​​

सम्भावित प्रधानमन्त्री बालेनका सजिला, अप्ठ्यारा
बालनेप्रति मतदातामा अत्यधिक मोह देखिन्छ। उनले भनेजस्तो नतिजा दिन उनी प्रधानमन्त्री बने भने पनि कम्तीमा यो कार्यकालले मात्रै पुग्ने छैन।

भोकभन्दा पहिले आस्था! जब मन्दिरले गाउँ र खेती जन्मायो
जंगलमा फिरन्ते भएर बस्नुभन्दा आफ्नै झुपडीको आँगनमा बीउ रोपेर त्यसलाई संरक्षण गर्नु सुरक्षित हुन्छ भन्ने यही स्त्री–चेतना नै वास्तवमा कृषिको शुरूआती विन्दु थियो।

कला/संस्कृति

जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, कति सम्पदामैत्री र व्यावहारिक?
काठमाडौँ महानगर जयबागेश्वरी र हाडीगाउँमा १८ करोड ४९ लाख खर्च गरेर बस्तीलाई ‘मौलिक स्वरूप दिने’ मास्टरप्लान कार्यान्वयनमा जुटिरहँदा यसको सम्पदामैत्री पाटो र स्थानीयलाई कति व्यावहारिक हुन्छ भन्ने प्रश्न यथावत् छन्।​​​​​​​

खेल

अभ्यास खेलमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी
आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा शुरू हुने विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। नेपालले फेब्रुअरी ८ मा साबिक विजेता इङ्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्राको सुरुआत गर्नेछ। समूह ‘सी’मा नेपालसँगै वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले समूह चरणका आफ्ना सबै खेलहरू मुम्बईमा खेल्ने तालिका रहेको छ।

विश्व

तीन महिनामा १ लाख अफगान परिवार स्वदेश फिर्ता
अफगान आप्रवासीहरू घरफिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।