साप्ताहिक ब्रिफिङः मिटरब्याजको विषय ओझेलमा, कालिञ्चोकको वनक्षेत्र हडप्न फेरि चलखेल

यो साता उकालोमा ‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली, शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री,आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन? लगायतका समाचार चर्चामा रहे।

न्यूजलेटर शुरू गरौँ, कालिञ्चोकको वनक्षेत्र हडप्न फेरि चलखेल भएको समाचारबाट। धार्मिक र पर्यावरणीय हिसाबले पर्यटकको आकर्षणमा पर्ने दोलखाको कालिञ्चोक क्षेत्र र त्यहाँको सरकारी वन कसरी पहुँचवाला व्यापारीको कब्जामा पर्दै छ भन्नेबारे उकालोले यसअघि नै विस्तृत खोज रिपोर्ट प्रकाशन गरिसकेको छ। एमालेका नेतासमेत रहेका दोलखाका व्यापारी बालकृष्ण शिवाकोटी नेतृत्वको समूहले यो ठाउँमा केबलकार निर्माण गरेर सञ्चालनमा ल्याएको छ। अनि कुरी क्षेत्रमा वनक्षेत्रकै जग्गामा होटलहरू सञ्चालनमा आएका छन्।

केबलकार निर्माणकै बेलादेखि यहाँको राष्ट्रिय वन क्षेत्र हडप्ने प्रयास भएको, तर वन कार्यालय र स्थानीय तहले त्यो प्रयास असफल पारेका थिए। जेन–जी आन्दोलनपछि बनेको गैरदलीय सरकारलाई प्रभावमा पारेर त्यो वन क्षेत्र स्थायी रूपमै हडप्ने चलखेल पुनः तीव्र बनेको छ।

यो चलखेलमा कालिञ्चोकको प्रख्यात भगवतीमाई मन्दिर र कुरी बजार रहेको वनक्षेत्रको जग्गालाई गुठीको नाममा दर्ता गराउने र त्यसपछि स्थायी रूपमै त्यो जग्गा हडप्ने दाउपेच देखिएको छ। यो चलखेल गरिरहेको समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामलाई नै चर्को दबाब दिइरहेको छ। 

यसबारे थप बुझ्न पढ्नुहोस् दिपा दाहालको यो रिपोर्ट: व्यापारीले ओगटेको कालिञ्चोकको वनक्षेत्रः हडप्न फेरि चलखेल, ‘नागरिक सरकार’माथि चर्को दबाब

अब कुरा गरौँ, मधेको चुनावी मुद्दामा ओझेलमा परेको मिटरब्याज पीडितको विषयको समाचारको। सप्तरीस्थित बरसाइनका तपेश्वर मण्डलले जिल्ला प्रहरी कार्यालयमा साहुविरूद्ध उजुरी दिएकै दुई वर्ष नाघिसक्यो। २०७० सालमा हरिदेव सिंहसँग ७ लाख रुपैयाँ ऋण लिएका उनले हालसम्म १९ लाख तिरिसकेका छन्। तर सिंहले अझै ८ लाख बाँकी रहेको दाबी गरिरहेका छन्। साहुको यही दाबीले तपेश्वर बेचैन छन्। 

आफ्नो बेचैनी नयाँ आउने सरकारले दूर गर्ला भन्ने आशा त छ, तर चोकचौराहामा आउने उम्मेदवारले उनको कुरै सुन्न नखोज्दा तपेश्वर थप पीडित बनेको महसुस गरिरहेका छन्।  

सर्लाहीस्थित बलराका कामेश्वर यादव पनि कसैले मिटरब्याजको समस्या समाधान गर्ने बाचा नगरेसम्म मत नहाल्ने बताउँछन्। उनले २०७३ सालमा मकेश्वर कामतसँग ३ लाख ऋण लिएका थिए। अहिलेसम्म ९ लाख तिरिसक्दा पनि साहुले अझै ४ लाखको मागिरहेको उनको भनाइ छ। उनीजस्ता पीडित धेरै छन्, मधेशमा तर यो मुद्दा कसैले उठाएको छैन।

मिटरब्याजी पीडितहरूको आन्दोलनमा चलिरहँदा र समस्या भइरहँदा  मिटरब्याजको विषय चुनावी मुद्दा किन बनिरहेको छैन? पढ्नुहोस् आदित्य नेपालको यो रिपोर्ट: मधेशमा चुनावी मुद्दा: मिटरब्याजको विषय ओझेलमा

साताका प्रमुख हेडलाइन:

देश-समाज

भारतीय नम्बरका गाडी अस्थायी प्रवेशको कानूनमै व्यवस्था, निर्वाचन प्रयोगमा निषेध
विदेशी नम्बर प्लेटका गाडी अस्थायी रूपमा नेपाल भित्र्याउन ऐनले नै व्यवस्था गरिदिएको छ। तर उम्मेदवारले निर्वाचन प्रयोजनका लागि भारतीयसहित कुनै पनि विदेशी नम्बरका गाडी प्रयोग गर्न पाइँदैन।

‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली
अफ्रिकाका ५४ मध्ये ३८ भन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गइरहेका छन्, कतिपय गरिब र द्वन्द्वग्रस्त देशमा पनि सहजसँग काम गरिरहेका छन्। तर सिंगो महादेशका लागि दुई देशमा मात्र नेपाली दूतावास छन्।

​​​​​आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन?
डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका र पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा कांग्रेसको विशेष महाधिवेशनपछि सार्वजनिक जीवनमा कतै देखिँदैनन्।

शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री
पहिलोपटक २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जित्दा नै शरतसिंह भण्डारी मन्त्री भएका थिए। त्यसयता अहिले १०औँ पटक उम्मेदवार बनेका छन् र दुईपटक मात्र पराजित भएका छन्।

ताप्लेजुङको चुनावी माहोलः पुरानाको साख, नयाँको चर्चा
अघिल्ला दुईवटा निर्वाचनमा लगातार जितेको एमालेले यसपटक उम्मेदवार परिवर्तन गरेको छ। एमालेलाई तेस्रो जितबाट रोक्न अन्य १२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कस्तो ‘मुड’मा छन् ताप्लेजुङका मतदाता?

 ​​​​भेडेटारको पर्यटनमा स्काइवाकले थपेको ‘एड्भेन्चर’
धनकुटाको भेडेटारमा गर्मी मौसममा पनि हुस्सु लागेर चिसो हुने हुँदा तराई र भारतको बिहारबाट समेत गर्मी छल्न पर्यटक आउँछन्। छोटो बसाइका लागि आउने यी पर्यटकको रोजाइ बन्न थालेको छ यहाँको स्काइवाक।

विचार

मधेशी दलित बालबालिका र निर्वाचनको निर्णायक परीक्षा
मधेशका धेरै जिल्लामा दलित बालबालिकामा पुड्केपनको दर ४० प्रतिशतभन्दा माथि छ, जुन राष्ट्रिय औसत र पहाडी दलित बालबालिकाभन्दा पनि खराब अवस्था हो।

अन्तर्वार्ता

तिर्न सक्नेलाई अनिवार्य नगरे स्वास्थ्य बीमा सफल हुँदैनः शम्भु आचार्य
‘सरकारले सबैलाई बीमा गर्दिन्छ भन्नु पपुलिस्ट हुनु हो। बीमाको भिजनअनुसार चलेको भए पपुलिस्ट हुँदैनथ्यो। बीमा जे सोचेर ल्याइएको थियो, त्यसरी नचलाएकाले सरकारलाई बोझ मात्र भयो।’

‘निर्वाचनमा हुने बाचाहरूको अनुगमन र पूरा नहुँदा सजाय दिने संयन्त्र आवश्यक’
‘जटिल प्रश्नमा प्रवेश गर्दा मान्छे रिसाउन सक्छन्। मान्छे खुशी भएनन् भने भोट हाल्दैनन्। तिनले भोट नहाले सत्तामा जान सकिँदैन। त्यसो भएपछि अप्ठ्यारा प्रश्नमा प्रवेश नै नगर्ने?’

हरि रोका भन्छन्: संसद् कायरहरू बस्ने ठाउँ होइन
‘अहिलेको अवस्थामा एकीकृत योजना बनाउने विषय राजनीतिक पार्टी वा उम्मेदवारहरूबाट भएको पाउँदिन। उनीहरू पुरानो संगठनको कुरा गर्ने, अरूको चरित्रहत्या गर्ने र अनर्गल कुराकानी गर्ने परिपाटीमा छन्।’

अर्थ/बजार

बजेटको अर्धवार्षिक समीक्षा: ‘अवास्तविक’ लक्ष्यमा अर्थमन्त्रीको कैँची
स्रोत र क्षमताबिना ठूलो बजेट ल्याउने विगतकै कमजोरी दोहोरिँदा सरकारले अर्धवार्षिक समीक्षामार्फत शुरूआती विनियोजनभन्दा २ खर्ब ७६ अर्ब रुपैयाँ कम खर्च हुने संशोधित प्रक्षेपण गरेको छ।

खेल

नेपाल इटलीसँग १० विकेटले पराजित
नेपालले पेस गरेको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै भेटायो। नेपालले तेस्रो खेल आइतबार वेस्टइन्डिजसँग खेल्नेछ।

विश्व

बांग्लादेशमा बीएनपीलाई बहुमत
बीएनपीले ल्याएसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्।