नेप्सेमा १० अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा सीमित भएको छ भने कुल ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आइतबार ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बजारमा मिश्रित प्रभाव देखिएको छ। लगानी र अन्य समूह क्रमशः ०.०८ र ०.४६ प्रतिशतले बढे पनि बाँकी सबै उपसूचकहरू ओरालो लागेका छन्। होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी २.१३ प्रतिशतको गिरावट देखियो भने व्यापार समूह १.३० र उत्पादन तथा प्रशोधन १.१५ प्रतिशतले घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत् र बीमा समूहमा पनि सामान्य गिरावट आएको छ।

बजार घट्दा पनि सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता कालिन्चोक दर्शनका लगानीकर्ताले सबैभन्दा धेरै ८.९१ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा आज सुपर मार्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ५६ करोड ३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो। शेयर संख्याका आधारमा भने रिडी पावर कम्पनीको सर्वाधिक १६ लाख ५८ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ।