अहिले नदेखिएका वा लुकाइएका गलत व्यवहार कुनै न कुनै दिन सार्वजनिक हुने भएकोले विशेषतः नेता बन्न चाहनेका लागि नैतिक सतर्कता, पारदर्शिता र आत्म अनुशासन अत्यावश्यक गुण हुन्।
३० जनवरी २०२६ मा अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस (डिओजे) ले जेफ्री एप्स्टिनसँग सम्बन्धित लगभग ३० लाख पृष्ठका दस्ताबेजहरू पुनः सार्वजनिक गरेको छ।
(यदि यहाँलाई थाहा छैन भने अमेरिकाको कुख्यात 'एप्स्टिन प्रकरण'को यहाँ कुरा हुँदै छ। जेफ्री एप्स्टिन एक अरबपति व्यापारी थिए, जसलाई नाबालिग केटीहरूको यौन शोषण र तस्करीको गम्भीर आरोप छ। सन् २०१९ मा एप्स्टिनको अमेरिकी जेलमै उनले आत्महत्या भएको बताइयो। यद्यपि, उनको आत्महत्यालाई कतिले हत्याको आशंका गर्छन्। को–को शक्तिशाली मानिस एप्स्टिनसँग नजिक थिए, उसको निजी टापु/घरमा को आउजाउ गर्थ्यो, यौन शोषण तथा मानव तस्करीका आरोपमा संलग्न थियो भन्ने कुरा एप्स्टिन फाइलले क्रमशः उजागर गर्दै छ।) जसमा करिब दुई हजार भिडियो र एक लाख ८० हजार तस्बिरहरू समेत समावेश छन्। यो विशाल दस्ताबेज २०२५ को नोभेम्बरमा पारित एप्स्टिन फायल ट्रान्स्पेरेन्सी एक्टको पालनास्वरूप सार्वजनिक गरिएको हो। यी दस्ताबेजहरूमा अदालतका फाइलहरू, एफबीआइ र डिओजेका अनुसन्धान नोटहरू, फोन रेकर्ड, इमेल, सामाजिक सम्पर्क र अदालत प्रक्रियासँग सम्बन्धित विस्तृत विवरणहरू छन्। केही अत्यन्त संवेदनशील सामग्रीहरू पीडितको सुरक्षाका लागि सम्पादित गरिएका छन्।)
यो प्रतिवेदन डिसेम्बर २०२५ मा बीबीसी र अन्य मिडियाले प्रकाशित गरेको प्रारम्भिक रिपोर्टभन्दा व्यापक र विस्तृत छ। जसले एप्स्टिन र उनको नेटवर्कसँग सम्बन्धित उच्च‑प्रोफाइल व्यक्तिहरू, उडान र सम्पत्ति विवरण तथा सम्भावित भेटघाट र संवादका थप प्रमाणहरू प्रस्तुत गरिएका छन्। अमेरिकी डिपुटी एटर्नी जनरलले हालका लागि यी दस्ताबेजहरूले नयाँ अभियोग चलाउन पर्याप्त कानुनी आधार प्रदान नगरेको दाबी गरेका छन्, तर पारदर्शिता र अनुसन्धानको लागि यो ऐतिहासिक कदम हो।
सार्वजनिक दस्ताबेजहरूले एप्स्टिनको सम्बन्ध एलन मस्क, बिल गेट्स, डोनाल्ड ट्रम्प, बिल क्लिन्टन, प्रिन्स एन्ड्र्यू, पिटर म्यान्डेलसन, सारा फर्गसन, हावर्ड लुटनिक, रिचर्ड ब्रान्सन, सर्जी ब्रिन, स्टिभ टिस्च, लियोन ब्ल्याक, जर्ज मिचेल, एन्ड्र्यू फार्कास, नर्वेकी राजकुमारी मेटे-मारिटजस्ता विविध क्षेत्रका व्यक्तिहरू देखिएका छन्। यो रिपोर्टले एप्स्टिन काण्डलाई केवल व्यक्तिगत अपराधको मुद्दा नभई अन्तर्राष्ट्रिय, सामाजिक र कानुनी असफलताको उदाहरणको रूपमा पुनः पुष्टि गरेको छ।
यिनै नाममध्ये अहिले बेलायतका राजनीतिज्ञ पिटर म्यान्डेलसनको कारण लेबर प्रधानमन्त्रीमाथि ठुलो प्रश्न चिन्ह खडा भएको छ। विपक्षीहरू मात्र होइन, लेबर सांसदहरूले समेत उनीबारे सम्पूर्ण विवरण सार्वजनिक गर्न तथा त्यस्तो व्यक्तिलाई हालसालै मात्र अमेरिकाको लागि राजदूत बनाएको कारण प्रधानमन्त्री समेत जबाफदेही हुनुपर्ने आवाज बलियो हुन थालेको छ। गत सालको निर्वाचनमा लेबर पार्टीले हासिल गरेको भव्य जीत यो र अन्य आन्तरिक कारणले गर्दा छोटो समयमा नै संकटपूर्ण अवस्थामा पुगेको छ। त्यसमाथि अनुदारवादी नेता नाइजल फराजको बढ्दो राजनीतिक चहलपहलले लेबरको भविष्य निकै चुनौतीपूर्ण देखिएको छ।
पिटर म्यान्डेलसन बेलायती राजनीतिका सबैभन्दा प्रभावशाली र विवादास्पद व्यक्तित्वमध्ये एक हुन्। उनी न्यू लेबरका प्रमुख वास्तुकारका रूपमा चिनिन्छन्, जसले १९८० को दशकमा लेबर पार्टीको सञ्चार निर्देशक भएर काम गर्दै पार्टीको छविलाई परम्परागत ट्रेड युनियन–केन्द्रितबाट आधुनिक, व्यवसायमैत्री, मध्यमार्गी र चुनाव जित्ने शक्तिमा रूपान्तरण गरे। टोनी ब्लेयरको नेतृत्वमा उनको रणनीतिक कौशल र चतुर मिडिया व्यवस्थापनले १९९७ मा लेबरलाई ऐतिहासिक बहुमत दिलायो, जसका कारण १८ वर्षपछि पार्टी सत्तामा फर्कियो। उनलाई 'प्रिन्स अफ डार्कनेस' र 'स्पिन डक्टर' भनिन्थ्यो, किनकि उनी पर्दा पछाडिबाट नीति, चुनावी अभियान र विरोधीहरूलाई कमजोर पार्ने चालबाजीमा निपुण थिए।
उनको जन्म २१ अक्टोबर १९५३ मा हेन्डन, मिडलसेक्समा भएको थियो। पोलिस यहुदी मूलका परिवारमा हुर्केका म्यान्डेलसनले अक्सफोर्डबाट दर्शन, राजनीति र अर्थशास्त्रमा स्नातक गरे। किशोरावस्थामा यङ कम्युनिस्ट लिगमा जोडिए पनि पछि उनी लेबर पार्टीमा सक्रिय भए। १९७९ मा लाम्बेथ काउन्सिलमा निर्वाचित भएपछि १९८२ देखि १९८५ सम्म लन्डन वीकेन्ड टेलिभिजनमा कार्यक्रम निर्माता भएर काम गरे। १९८५ मा नील किनाँकले उनलाई लेबरको सञ्चार निर्देशक बनाएपछि उनी पार्टीको मुख्य रणनीतिकार बने। १९९२ मा हार्टलपुलबाट सांसद निर्वाचित भएपछि उनले जोन स्मिथको मृत्युपछि टोनी ब्लेयरलाई नेतृत्वमा समर्थन गरे र १९९७, २००१ तथा २००५ का चुनाव अभियान सफलतापूर्वक निर्देशन गरे।
१९९७ मा लेबर सरकार बनेपछि उनी मिनिस्टर विदाउट पोर्टफोलियो बने र मिलेनियम डोम परियोजनाको जिम्मेवारी सम्हाले, जुन पछि आर्थिक रूपमा विवादास्पद र असफल साबित भयो। १९९८ मा ट्रेड एन्ड इन्डस्ट्री सेक्रेटरी भए पनि सहकर्मी जेफ्री रोबिन्सनबाट £३७३,००० को गोप्य ऋण लिएर घर किनेको र यो घोषणा नगरेको कारण स्वार्थ द्वन्द्वको आरोप लागेपछि राजीनामा दिनुपर्यो। १९९९ मा नर्दर्न आयरल्यान्ड सेक्रेटरी बनेर गुड फ्राइडे एग्रीमेन्ट कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिए तर २००१ मा हिन्दुजा ब्रदर्सको पासपोर्ट प्रक्रियामा प्रभाव पार्न खोजेको आरोप लागेपछि दोस्रो पटक राजीनामा गर्नुपर्यो, यद्यपि पछि छानबिनले उनलाई दोषमुक्त ठहर्यायो।
२००४ देखि २००८ सम्म युरोपियन कमिसनर फर ट्रेड भएर अन्तर्राष्ट्रिय व्यापार र ग्लोबलाइजेसनको पक्षमा आक्रामक भूमिका खेले। २००८ को वैश्विक वित्तीय संकटमा गोर्डन ब्राउन सरकारमा फर्केर बिजनेस सेक्रेटरी, फर्स्ट सेक्रेटरी अफ स्टेट र लर्ड प्रेसिडेन्ट अफ द काउन्सिल जस्ता वरिष्ठ पद सम्हाले। यस अवधिमा आर्थिक सुधार, औद्योगिक नीति र डिजिटल अर्थतन्त्रमा उनको योगदान उल्लेखनीय थियो। हाउस अफ लर्ड्समा लाइफ पियर बनेपछि पनि उनी नीतिगत बहस र सल्लाहमा सक्रिय रहे।२०१० देखि २०२४ सम्म उनले निजी क्षेत्रमा १० वर्षभन्दा बढी समय विभिन्न व्यापारिक सल्लाहकार र अन्तर्राष्ट्रिय कूटनीतिक कार्यहरूमा संलग्न भए।
व्यक्तिगत जीवनमा म्यान्डेलसन समलैंगिक हुन् र १९९० को दशकमा आफ्नो निजी जीवनलाई गोप्य राख्थे। उनी रेनाल्डो अविला दा सिल्भासँग मार्च १९९८ देखि सँगै बस्दै आएका थिए र २८ अक्टोबर २०२३ मा विवाह गरे।
२०२५ मा प्रधानमन्त्री कीर स्टार्मरले उनलाई अमेरिकाका लागि ब्रिटिस राजदूत नियुक्त गरे, जसलाई ट्रम्पसँग सम्बन्ध मजबुत बनाउने अवसर मानियो। तर जेफ्री एपस्टाइनसँगको २००२ देखि २०११ सम्मको लामो मित्रताले ठूलो संकट निम्त्यायो। सेप्टेम्बर २०२५ मा सार्वजनिक भएका इमेलहरूले एपस्टाइनलाई 'मेरो बेस्ट पाल' (मेरो बेस्ट साथी) भनेको, २००८ को दोष प्रमाणित भएपछि पनि समर्थन गरेको र चाँडो रिहाइका लागि सुझाव दिएको देखाएपछि स्टार्मरले उनलाई बर्खास्त गरे। जनवरी २०२६ मा थप कागजातहरूले एपस्टाइनबाट ७५,००० भन्दा बढी अमेरिकी डलर भुक्तानी प्राप्त गरेको र २००९–२०१० मा बिजनेस सेक्रेटरी हुँदा गोप्य सरकारी जानकारीहरू (जस्तै बैंकर्स बोनस कर, इयु बेल आउट, एसेट सेल्स) आदि चुहाएको आरोप लाग्यो।
नयाँ सार्वजनिक रिपोर्टमा पिटर म्यान्डेलसनसँग सम्बन्धित केही संवेदनशील तस्बिरहरू पनि समावेश छन्। यी तस्बिरहरूमा म्यान्डेलसन अन्डरवियरमा देखिएका छन्, जसमा उनी एक महिलासँग कुरा गर्दै उभिएका छन्। महिलाले सेतो बाथरोब वा ड्रेसिङ गाउन लगाएकी छन्, तर उनको अनुहार अमेरिकी अधिकारीहरूले रिड्याक्ट (लुकाएर) गरेका छन्। जसले गर्दा उनको पहिचान अज्ञात नै छ। स्काई न्यूजको डाटा तथा फरेन्सिक युनिटले गरेको विश्लेषण अनुसार, यी तस्बिरहरू जेफ्री एपस्टाइनको पेरिस फ्ल्याटभित्र खिचिएका हुन्। 'हाउस अफ सिन' भनेर चिनिने यो फ्ल्याटको झ्यालबाट देखिने धातुको बाल्कोनी रेलिङ मिल्दोजुल्दो भएकाले यो पुष्टि भएको हो। यी फोटोहरू एपस्टाइनको व्यक्तिगत संग्रह 'बर्थडे बुक' मा फेला परेका थिए।अन्य तस्बिरहरूमा पनि म्यान्डेलसन एपस्टाइनसँग याटमा, बर्थडे केकसँग वा अन्य महिलाहरूसँग देखिएका छन् ।
फेब्रुअरी २०२६ मा रिफर्म युके र अन्यले उजुरी दिएपछि मेट्रोपोलिटन पुलिसले 'मिसकन्डक्ट इन पब्लिक अफिस' को आपराधिक अनुसन्धान सुरु गरेको छ। उनको घरहरूमा छापा मारेर थुप्रै सामानहरू जफत गरेका छन्। मेट्रोपोलिटन पुलिसको अनुसन्धान मुख्य रूपमा डेढ दशकभन्दा बढी पुराना आरोपहरूमा केन्द्रित हुने अपेक्षा छ। उनीमाथि देशद्रोहको अभियोग पनि लाग्न सक्ने देखिन्छ। गत फेब्रुअरी १ मा म्यान्डेलसनले लेबर पार्टीबाट राजीनामा दिए र फेब्रुअरी ३ मा हाउस अफ लर्ड्सबाट पनि बाहिरिए। स्टार्मरले यो नियुक्तिमा म्यान्डेलसनले आफूलाई झूट बोलेको बताउँदै एपस्टाइनका पीडितहरूप्रति माफी मागे। यो विवादले उनको राजनीतिक जीवनलाई त पूर्ण रूपमा समाप्त पार्ने नै भयो, तर आउँदो निर्वाचनमा लेबर पार्टीको अवस्था के हुने भन्ने गम्भीर सवाल पनि उठाएको छ ।
यो घटनाले बेलायतको सन् १९६३ को राजनीतिक इतिहासलाई सम्झाइदिएको छ। त्यति बेलाका युद्धमन्त्री जोन प्रोफुमोको क्रिस्टिन किलर नामकी युवतीसँग गहिरो सम्बन्धमा रहेको कुरा सार्वजनिक भयो। उनी त्यति बेलाकी नामुद मोडल र 'सो गर्ल' थिइन्। त्यति मात्र होइन, उनको सोभियत दूतावाससँग सम्बन्धित एक व्यक्तिसँग पनि राम्रै उठबस थियो। शीतयुद्धको समय भएकाले यसले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गर्यो। ठुलो दबाबपछि प्रोफुमोले संसदमा आफूले कुनै गलत काम नगरेको भन्दै बयान दिए। तर पछि त्यो असत्य प्रमाणित भयो। अन्ततः उनले झूट बोलेको स्वीकार गर्दै राजीनामा दिए। यो घटनाले सरकारको विश्वसनीयतामा गहिरो चोट पुर्यायो र बेलायती राजनीतिमा नैतिकता र पारदर्शिताबारे ठूलो बहस सुरु गरायो।
त्यो बेला बेलायतका प्रधानमन्त्री कन्जर्भेटिभ (टोरी) पार्टीका नेता हेरोल्ड म्याकमिलन थिए। प्रोफुमो काण्ड सार्वजनिक हुँदा म्याकमिलनको सरकार कमजोर अवस्थामा थियो र केही समयपछि उनले स्वास्थ्यको कारण देखाउँदै पद छोडे। उनको स्थान एलेक डग्लस-होमले लिए। टोरी पार्टी त्यसअघि लगातार करिब १३ वर्ष (१९५१–१९६४) सत्तामा थियो। अनेकन् काण्ड, आन्तरिक विभाजन र जनविश्वास घट्दै जाँदा १९६४ को आम चुनावमा लेबर पार्टी विजयी भयो। लेबरका नेता हेरोल्ड विल्सन प्रधानमन्त्री बने र उनले पहिलो चरणमा १९६४ देखि १९७० सम्म शासन गरे। त्यस पछिको चुनाव भने हारे। अहिले पनि झन्डै १३ वर्ष पछाडि शासनको बागडोर हातमा आएको बेला लेबर पार्टीले पनि अर्को निर्वाचनमा ठुलो मूल्य चुकाउनु पर्ने देखिन्छ।
म्यान्डेल्सन प्रकरणले स्पष्ट पारेको छ कि राजनीतिक नेतृत्व केवल नीतिगत निर्णय वा प्रशासनिक दक्षताले मात्र मूल्याङ्कन हुँदैन। नेताको व्यक्तिगत आचरण, सामाजिक सम्बन्ध र निर्णय लिने तरिका पनि राज्य र समाजको नैतिक छविमा गहिरो प्रभाव पार्छ। विकसित, सभ्य र लोकतान्त्रिक भनिने देशहरूमा समेत नेताहरूको निजी व्यवहार सार्वजनिक बहसको विषय बन्न सक्छ र यसले संस्थागत विश्वास र लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउन सक्छ।
म्यान्डेल्सनको विवादले सत्ता नजिकको सम्बन्ध, पारदर्शिताको अभाव, निजी स्वार्थसँग जोडिएका निर्णय र प्रभावको प्रयोगले नेताहरू प्रतिको सार्वजनिक धारणा अत्यन्तै छिटो बदल्न सक्छ भन्ने प्रमाणित गरेको छ। यसले नागरिकलाई लोकतन्त्रमा केवल कानुनी वैधता पर्याप्त छैन, नैतिक वैधता र जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने महत्त्वपूर्ण पाठ सिकाएको छ। अन्ततः राजनीतिक नेतृत्वको प्रभावकारिता र दीर्घकालीन विश्वास त्यसको व्यक्तिगत आचरण र सार्वजनिक जिम्मेवारीसँग नजिकबाट जोडिएको हुन्छ। अहिले नदेखिएका वा लुकाइएका गलत व्यवहारहरू कुनै न कुनै दिन सार्वजनिक हुने नै भएकोले विशेषतः नेता बन्न चाहनेहरूका लागि नैतिक सतर्कता, पारदर्शिता र आत्म अनुशासन अत्यावश्यक गुणहरू हुन्। यसको पालन गर्नु अनिवार्य हुन्छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
