अन्तर्वार्ता

‘निर्वाचनमा हुने बाचाहरूको अनुगमन र पूरा नहुँदा सजाय दिने संयन्त्र आवश्यक’

‘जटिल प्रश्नमा प्रवेश गर्दा मान्छे रिसाउन सक्छन्। मान्छे खुशी भएनन् भने भोट हाल्दैनन्। तिनले भोट नहाले सत्तामा जान सकिँदैन। त्यसो भएपछि अप्ठ्यारा प्रश्नमा प्रवेश नै नगर्ने?’

आगामी फागुन २१ गते संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको निर्वाचन हुँदै गर्दा देशैभर चुनावी चटारो बढेको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदातालाई रिझाउन र आफ्नो पक्षमा माहौल बनाउन व्यस्त छन्। चुनावी मैदानमा कोही नयाँ नीति र घोषणापत्र सार्वजनिक गर्दै छन् त कोही प्रचारमुखी ‘स्टन्ट’मा रमाउँदै छन्। कसैले विगतमा गरेका कामको फेहरिस्त सुनाइरहेका छन् भने कतिपयले ‘विगतमा आफूले काम गर्न नपाएकाले यस काम गरेर देखाउने’ आश्वासन बाँडिरहेका छन्।  यस्तो अवस्थामा कतिपय मतदाता कुन पार्टी या उम्मेदवारलाई भोट दिने भन्ने तय गरिसकेका छन् भने कतिपय अझै टुंगोमा पुगेका छैनन्। उसो भए, हामीले कस्तो दल वा कस्तो व्यक्तिलाई छान्ने? संघीय सांसदको मुख्य जिम्मेवारी सडक र भौतिक पूर्वाधार बनाउने हो कि देशका लागि आवश्यक विधि र कानून निर्माण गर्ने? भोट दिनुअघि मतदाताले कस्ता विषयमा सचेत हुन जरुरी छ? यिनै समसामयिक विषयमा आधारित रहेर उकालोका लागि प्रकाश अजातले राजनीतिक विश्लेषक केशव दाहालसँग गरेको कुराकानी:

अहिलेका धेरैजसो युवालाई ‘व्यवस्था के हो’ भन्नेमा भन्दा पनि ‘डेलिभरी’मा चासो देखिन्छ। लोकतान्त्रिक व्यवस्था भनेको के हो? यो किन राजतन्त्र वा सैनिकतन्त्रभन्दा भिन्न छ?
लोकतन्त्रका अनेकन् परिभाषा छन्। यसलाई धेरै कोणबाट हामी व्याख्या गर्न सक्छौं। यो देशको मालिक को हो? राज्यसत्ताको मालिक को हो? र, कसको निर्णयले यी सबै कुरा चल्छ भन्ने कुराको निरूपण गर्ने एउटा अवधारण हो लोकतन्त्र। राज्य र नागरिकको सम्बन्धमा मान्छेहरू भ्रमित भएको देख्छु। को माथि हो? नागरिक कि राज्य? पहिले नागरिक बने कि राज्य? राज्यका मान्छेहरूलाई यसबारे सोध्दा उनीहरू आफू नै माथि रहेको बताउँछन्। ‘हामी छौँ, त्यसैले नागरिक छन्‘’ भनेजस्तो सुन्छु म उनीहरूले। 

तर लोकतन्त्रमा नागरिक भएकाले राज्य रहेको ठानिन्छ। राजतन्त्रमा राजा देशको मालिक हुन्छ। दलतन्त्रमा दल मालिक हुन्छ। लोकतन्त्रमा भने लोक नै देशको मालिक हुन्छ। सैनिकतन्त्रमा भने सैनिक। यो राज्य र देशको मालिक को हो? सबैभन्दा सार्वभौम को छ? र, को केन्द्रमा छ भन्ने कुराको निरूपण गर्ने शासकीय राजनीतिक विधि हो लोकतन्त्र, जसले नागरिक सर्वोच्च छ भन्ने कुरा स्थापित गर्छ।
     null

लोकतन्त्रका पनि अनेक प्रकार छन्।  लोकतन्त्रमा विचार र सिद्धान्त किन महत्त्वपूर्ण छ?
राजनीति या राज्यले मान्छेलाई कसरी न्याय गर्ने? कसरी मान्छेलाई समृद्ध बनाउने? अथवा हाम्रो सभ्यतालाई योभन्दा अझ मानवीय, उदार र सुन्दर बनाउने भन्ने प्रश्नहरूमाथि मान्छेका अनेकन् आइडिया छन्। त्यही नै विचार हो।  

मान्छे भिन्नभिन्न ठाउँमा जन्मिए। भिन्नभिन्न प्रकारका सभ्यता बने। मान्छे स्वयंले भिन्नभिन्न सपना देख्दै आयो। संसारको मान्छे समग्रमा एउटै देखिए पनि जब मान्छे र उसको जीवन पद्धति र सपनाभित्र हामी प्रवेश गर्छौं, ती मान्छेहरू फरक फरक छन् अनेकौँ पृष्ठभूमिका कारणले गर्दा। ती अनेकौँ मान्छेले यो सभ्यता, जीवन पद्धति र समाजलाई  कसरी अगाडी बढाउने भन्ने चिन्तनमा प्रवेश गर्दा फरक फरक ढाँचा निकालेका छन्। तिनै फरक फरक सपना र ढाँचाहरूलाई हामी राजनीतिक भाषामा विचार भन्नसक्छौँ। 

तपाईँ जुन भूमि, समय र सपनासहित हुनुहुन्छ, त्यो सपना पूरा गर्न तपाईँ कसरी सोच्नुहुन्छ र के गर्नुहुन्छ भन्ने ठान्नुहुन्छ? त्यो नै विचार हो। र, त्यो तपाईँका लागि आवश्यक छ। सुदूर भविष्यमा जान या सभ्यताको अर्को सिँढी चढ्नका लागि आवश्यक छ। तपाईँलाई अघि बढाउने एउटा सूत्र त चाहिन्छ नि! सुदूर क्षेत्रमा देखिएको उज्यालो हो विचार। 

त्यसै कारण कुनै पार्टी वा उम्मेदवारको विचार बुझ्नुपर्ने भनिएको हो? नेता र उम्मेदवारको चालडाल, लोकप्रियता, भ्युज, फुर्तीफार्ती, फोटो र भिडियो मात्रै भाइरल भएर पुग्दैन किन?
हो। समय, सपना र पुस्ताको जीवन पद्धतिसँग राजनीतिको सम्बन्ध हुन्छ। समयभन्दा पछाडि राजनीति भयो भने राजनीतिले त्यो समयलाई न्याय र नेतृत्व गर्न सक्दैन। राजनीति र समय सँगसँगै अगाडि बढ्नुपर्छ। अनि मात्र त्यो राजनीतिले मान्छे र समयलाई, त्यो समयमा जीवित रहेको पुस्तालाई न्याय गर्छ। न्याय भनेको के हो त? नेतृत्व भनेको के हो? न्याय गर्छ भनेको के हो? ठिक ठाउँमा, समृद्धिको लागि उसको सफल जीवनको लागि योगदान गर्छ भनेको हो। त्यो योगदान कसरी हुन्छ त?

त्यो अनुहारले योगदान गर्ने त होइन। यो मान्छे टिकटकमा राम्रो नाच्छ, त्यसैले यसले राम्रो काम गर्छ भन्ने त होइन।

त्यसका लागि त निश्चित दृष्टिकोण चाहिन्छ। तौरतरिका चाहिन्छ। हिँड्ने बाटो चाहिन्छ। ‘म आएँ नि त, मै आएपछि केको चिन्ता, मेरो अनुहार हेर्नुहोस् त! मैले खराब गर्छुजस्तो लाग्छ त, म त छँदै छु नि, लौ हेर्नुहोस् त, म तपाईँको छोरो/छोरीजस्तो र भाइ भतिजाजस्तो मान्छे हो, मलाई विश्वास गर्नुहोस् भनेर’ हुँदैन। आफ्नो दृष्टिकोणसहित तपाईँको जीवनलाई समृद्ध बनाउन, यो समयलाई उन्नत बनाउन, यो समयलाई उन्नत बनाउन, यो पुस्ताको सपना पूरा गर्न म यो विचार र राख्छु। यी अजेन्डा पक्डन्छु। म यसरी अघि बढ्छु’ भनेर भन्नुपर्ने हुन्छ।    

अहिले नयाँ पार्टीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकै चर्चामा छ। तर त्यस दल र त्यसका प्रमुख नेताहरूको विचार प्रस्ट छैन भनेर आलोचना हुने गरेको छ। कसरी हेर्नुहुन्छ?
हरेक राजनीतिक दलले आफ्नो उपस्थिति किन हो, के हो प्रयोजनका लागि भन्ने सिद्ध गर्नुपर्छ। मान्छेको, हरेक युगको, हरेक संगठनको प्रयोजन हुन्छ। आजका देशका संकट के हुन्? आर्थिक, राजनीतिक, संरचनागत र भूराजनीतिक संकट के हुन्? राजनीतिलाई हामी प्राविधिक अर्थमा हेर्दा नेसन बिल्डिङ र स्टेट क्राफ्टिङको कुरा हो राजनीति। राष्ट्रलाई एकताबद्ध, मजबुत र एउटा खास सपनातिर कसरी आवृत्त गर्ने? यो देशलाई, सबै मान्छेहरूको मनोभावलाई सम्बोधन गरेर एउटा समृद्ध राष्ट्र कसरी बनाउने? यिनै विषय नै विचार हुन्।   

दलहरू छन्, हाम्रा संस्थाहरू छन्। तर यो राज्य कसको हो त? यी कसका मान्छे हुन्? यिनको काम र प्राथमिकता के हुन्? कसका लागि यिनीहरूले काम गर्नुपर्छ भन्ने प्रश्नहरू छन्। यी प्रश्नहरूको जवाफ विचार मुद्दाहरूबाट हामीले हेर्नुपर्छ। 

रास्वपालाई हेर्‍यौँ भने उहाँहरूले यो देशको संकटबारे इमानदारीपूर्वक बोलेको देखिँदैन। कहिलेकाहीँ उहाँहरूले बुझ पचाएर, भीडले जे राम्रो सुन्न चाहन्छ, त्यो मात्रै भनेको सुन्छु। देशमा जटिल मुद्दाहरू छन्। कुनै कुनै मुद्दा यस्ता छन्, त्यस्ता मुद्दामा अलोकप्रिय नै भए पनि बोल्नुपर्ने हुन्छ। उहाँहरूले त्यस्ता मुद्दामा बोलेको सुन्दिनँ। यो संकट समाधान गर्नको लागि हामीले कस्ता अजेन्डा समाउनुपर्छ र कहाँ उभिनुपर्छ? 

उदाहरणका लागि, ‘सुशासन आवश्यक छ।’ त्यो त जसले पनि भन्छ। तर सुशासनको प्रत्याभूतिका लागि हामीले गर्नुपर्ने मुख्य काम केके हुन्? नीतिगत र प्रशासनिक सुधार कसरी गर्ने हो? यो कुराचाहिँ विचार र अजेन्डाले निर्देशित गर्छ।  सामाजिक न्याय स्थापना गर्ने हो भने कसरी? जमिन र सुकुम्वासीबारे तपाईंको दृष्टिकोण के हो? हामी काठमाडौँ राम्रो बनाउन चाहन्छौँ, तर कसरी? काठमाडौँ कसरी राम्रो बन्छ? 

उदाहरणका लागि ‘हुनुपर्छ चमेली सबैलाई बराबर’ भनेर गीत गाउने, त्यो एउटा दृष्टिकोण भयो। त्यो गीत धेरै मन पर्छ मान्छेलाई। तर चमेली मन पर्दैन किन? अजेन्डा नभएपछि पक्षधरता हुँदैन। पक्षधरता नभएपछि मान्छे गीत मन पराउँछ, तर चमेली मन पराउँदैन। एक पटक देशभक्तिले ओतप्रोत भएर चुच्चे नक्सालाई धेरै नेपालीले मन पराए। हाम्रा कार्यालयहरूका भित्तामा चुच्चे नक्सा राखियो। तर चुच्चे नक्साभित्र रहेका मान्छेहरू के गर्दैछन्? चुच्चे नक्साभित्रका मान्छेहरू भेडा र चौँरी चराउँदै छन् भने तिनको दुःख के होला? चुनाव आयो, चुच्चे नक्साभित्रका मान्छेहरूले भोट हाल्न पाउँछन् कि पाउँदैनन् होला? तिनले छान्ने उम्मेदवार को होला? चुच्चे नक्सा टाँगेर तपाईँको काम सकियो–यो एउटा दृष्टिकोण हो। चमेलीको गीत गाउनुभयो र चुनाव जित्नुभयो। काम सकियो। तपाईँसँग अजेन्डा, दृष्टिकोण, प्रयोजन र आस्था छ भने तपाईँको काम सकिँदैन। यो चिज केले निरूपण गर्छ?           

यसमा हामीले नियालेर हेर्‍यौँ भने राजनीतिको त्यो गहिराइसम्म रास्वपा पुगेको म देख्दिनँ। पुगोस् भन्ने कामना त छँदैछ। 

अबको चुनावमा ‘बुढा र पुराना सबैलाई सोतर पार्नुपर्छ’ भन्ने आवाज पनि युवामाझ सुनिन्छ। के अब त्यसै गर्नुपर्ने हो?
वास्तवमा यो चुनावको दुर्भाग्य हो। आज सम्मको नेपालका सबै चुनावमा गहिरा राजनीतिक अजेन्डाहरू थिए। १५ सालको चुनाव हेर्दा प्रजातान्त्रिक संस्थाहरू निर्माण गर्ने मूल अभिभाराबाट त्यो सम्पन्न भयो। यसैगरी, अरू चुनावमा पनि खासखास अजेन्डा थिए। यो चुनावलाई पनि जेनजी आन्दोलनसँग अनुभूत गरेर हेर्‍यौँ भने यसको युगिन कार्यभार राज्य र राजनीतिलाई अझ लोकतान्त्रिक, अझ समावेशी, सुशासित र समृद्ध गर्ने हो। यिनै अजेन्डाबाट त्यो आन्दोलन भएको हो। तर दुर्भाग्य–यो चुनावमा ‘नयाँ र पुरानो’को यस्तो न्यारेटिभ बनाउन खोजिँदैछ। नयाँ सबै राम्रो र पुरानो सबै खराब भन्ने त हुँदैन।  

यहाँ प्रतीकात्मक रूपमा के कुरा छुटिरहेको छ? पुराना पनि राम्रा छन्, नयाँ पनि खराब छन्। ध्रुवीकरण हुनुपर्ने अथवा बहस हुनुपर्ने विषय चाहिँ राम्रो र नराम्रोको हो। नेपाली राजनीतिका नराम्रा र राम्रा पक्षको बहस हुनुपर्ने हो। राम्रा संस्था र नराम्रा संस्थाको हो। हामीले सम्हाल्नुपर्ने र बिदा गर्नुपर्ने चीजहरूको हो। त्यो छाडेर जब हामी ‘ब्लक’बाट कुरा गर्छौँ, त्यसले हामीलाई ठिक ठाउँमा लैजाँदैन। त्यसको काउन्टरमा अर्को बहस पनि छ– सिंहदरबार जलाउने र सिंहदरबार बनाउने। यी त्यस्ता चीज हुन्, जसले हाम्रो राजनीतिलाई तर्कबाट निकाल्छ। यसले हामीलाई एकदमै सतही बहसमा लैजान्छ। यसले राजनीतिलाई राम्रो गर्दैन।  

सिंहदरबार जलाउने नराम्रा र बनाउनेचाहिँ राम्रा होइनन् र?
को हुन् ती जलाउने मान्छे? यो चुनावअघि त्यसलाई कसरी डिमार्केसन गर्नुहुन्छ? सिंहदरबार जलाउने को हो र को होइन? तपाईँ ती मान्छे को हुन् भनेर भन्न सक्नुहुन्न। तपाईँलाई केही पनि थाहा छैन। हामी कोही पनि केही भन्न सक्दैनौँ। आशा गरौँ, हाम्रो आयोगले रिपोर्ट देला–यी यी मान्छे सिंहदरबार जलाउने र यी यी मान्छे सिंहदरबार जोगाउने भनेर रिपोर्ट दियो भने मात्र हामी भन्न सक्छौं। तर चुनावको मुखमा भावनात्मक हिसाबले, मान्छेलाई उद्वेलित गर्ने हिसाबले राम्रो-नराम्रो, नयाँ-पुरानो, सिंहदरबार बनाउने र जलाउने बहसतिर पूरै समाज/मतदातालाई लैजानुहुन्छ भने के छुट्छ? 

भूमिहीनले कसरी जमिन पाउँछ? सुकुम्वासीको जीवन कसरी समृद्ध हुन्छ? लोकतान्त्रिक संस्थाहरूमा हामीले सुधार गर्नुपर्ने कुरा के हो? हाम्रो राज्यमा हामीले सुधार गर्नुपर्ने कुरा के हो? प्रादेशिक संरचनाहरूमाथि मान्छेका प्रश्न उठेका छन्। त्यसलाई अझ जनमुखी र प्रभावकारी बनाउने हाम्रा तरिका के हुन्? बहस गर्नुपर्ने यी सारा मुद्दा छाडिनेछन्। यसो हुँदा राजनीतिमा गर्नुपर्ने सबै बहस छुटे, जुन बहस गर्नु आवश्यक नै छैन, जुन नितान्त प्राविधिक विषय हो। हामी त्यसमा केन्द्रित भयौँ।          

जेनजी आन्दोलनले वास्तवमा के मागिरहेको छ? अबको चुनावमा जनताले कस्तो पार्टी र कस्ता उम्मेदवार रोज्नुपर्छ?
जेनजी आन्दोलनको मागलाई अनुभूत गर्ने हो भने त्यो सरल छ। त्यसलाई ‘पिपुल फर्स्ट’ भन्न सकिन्छ। लोकतन्त्रको मालिक को? लोकतन्त्र दलतन्त्रमा संकुचित भयो। केही मुठ्ठीभर मान्छे मालिक बने। जेनजी आन्दोलनले माग्यो–लोकतन्त्रको पुनर्स्थापना। लोकतन्त्रको आत्मा मरेकाले त्यसको आत्मा पुनर्स्थापना गर्ने माग जेनजी आन्दोलनले गर्‍यो। मान्छे–नागरिकलाई केन्द्रमा राख। दल या नेता होइन। तपाईँ स्वास्थ्य नीति बनाउनुहुन्छ, सामाजिक जीवनमा प्रभाव पर्ने अनेकन् नीति बनाउनुहुन्छ। त्यसको केन्द्रमा नागरिक राख।

दोस्रो, राज्य भ्रष्ट भयो। हरेक साधारण नागरिक सरकारी अड्डामा जाँदाखेरि असाध्यै हीनताबोध गर्छ। शासकीय सुधार गर, सेवा प्रवाहलाई सुधार गर। शासक भयौ, अब सेवक बन। भ्रष्टाचारको अन्त गर। कतैकतै डुल्दा मान्छे भन्छन्, ‘‘हामीलाई खासै धेरै कुरा चाहिँदैन। सेवा प्रवाह नागरिकमुखी हुनपर्‍यो। सरकार शासक होइन, सेवक बन्नुपर्‍यो। कम्तीमा पनि हामीलाई आशाको उज्यालो देखाउन पर्‍यो। घोर अन्धकार भयो। यस्तो अवस्थामा अबको १० वर्षपछि मेरो देश र समाज बन्छ भन्ने आशाको उज्यालो देख्यौँ भने आज हामी भोकै बस्न पनि तयार छौं।’’
null

जेनजी आन्दोलनले खोजेको यही कुरा हो।
पोषणविद् सन्ध्या सुवेदीले नेपालका सडकमा ट्रकमा खाँदेर भैँसी ओसारपसार गरिने सन्दर्भ जोड्दै यो चुनावमा पशु–अधिकारबारे कुरा उठाउने उम्मेदवारलाई भोट हाल्न आग्रह गरिन्। त्यो एउटा मुद्दा भयो। जलवायु परिवर्तन, प्रदूषण, रोजगारी, अल्पसंख्यक समुदाय, उत्पीडित लिंग/समुदायका माग र तिनको सम्बोधन—यस्ता धेरै विषय छन्। आजको युगमा, आजको नेपालमा, कुनै पनि उम्मेदवार कम्तीमा कुन–कुन मुद्दामा प्रस्ट हुनै पर्छ?

यो एकदमै ठूलो प्रश्न हो। यस कारण ठूलो कि हाम्रा अनेकन् मुद्दाहरू छन्। आजको राजनीतिले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ–मान्छे मान्छे नै हो। मान्छेलाई बुझ्यो भने प्रकृति पनि बुझिन्छ। पानी हावा र पर्यावरण बुझिन्छ। यो धर्तीमा हामी मात्रै छैनौँ भन्ने अनुभूति हामीमा हुनुपर्‍यो।  हामी एक्लै छैनौँ, हाम्रो समाज छ भन्ने बुझ्नुपर्‍यो। मानवीय राजनीति आजको सबैभन्दा महत्त्वपूर्ण चिज हो। मान्छे र मान्छेसँग सम्बन्धित अनेकौँ विषयप्रति तपाईँ संवेदनशील हुनुपर्‍यो।

अर्को कुरा, हाम्रो राजनीतिले अहिलेसम्म संघर्ष सिकायो। हाम्रो सभ्यताको ठूलो कडीचाहिँ संघर्ष हो। लड्दैभिड्दै यहाँसम्म आइपुगेका हौँ। कहिले देशदेशका युद्ध भन्यौँ। वर्गका युद्ध र जातका युद्धलगायत अनेकन् युद्धबाट हामी यहाँसम्म आइपुगेका हौँ। अब हामी लडेर कहीँ पुग्दैनौँ। भन्दाखेरि यो ठूलो कुरा हो, तर यो धर्ती, यसको पर्यावरण र मान्छेको जीवन पद्धतिलाई मिलेर हामीले सम्हालेनौँ भने आउने पुस्ताले दुःख पाउनेछन्।

र, अर्को कुरा, अहिले जीवनको परिभाषा फेरिएको छ। हामी पहिले दुई वटा लिंगको मात्रै कुरा गर्थ्यौं, अहिले लैंगिक पहिचान व्यापक भयो। अहिले पहिचानको विषय संवेदनशील भयो। पहिचान मात्रै संवेदनशील भएन, यसको विश्वव्यापीकरण अर्को विषय बन्यो। हामीसँगै लोकलाइज र ग्लोबलाइज भयौँ। यो डाइनामिक्सलाई राजनीतिले बुझ्नुपर्‍यो। ‘‘संसार यहाँ पुगिसक्यो, तिमी जातका कुरा गर्छौ’’ भनेर पनि भएन। यस्तो कुरा गर्न पनि आवश्यक भयो। लोकलाइज सपनालाई हामीले बुझेनौँ भने तल बस्ने मान्छेको चित्त दुख्छ। तर संसार त ग्लोबलाइज मात्र नभएर ब्रह्माण्डीय हुँदैछ। ब्रह्माण्डको अर्को ग्रह जाने परिकल्पनासमेत गरिरहेछ मान्छे। यो डाइनामिक्सलाई सोच्ने र बुझ्नेचाहिँ गर्नुपर्छ। राजनीतिको यो महत्त्वपूर्ण काम हो।

संघीय संसद्को प्रतिनिधिसभामा सांसद चुन्न हुन लागेको यो चुनावमा कतिपय उम्मेदवारले विकास–निर्माणका ठूला वाचा गरिरहेका छन्। संघीय संसद् त मूलतः नीति निर्माण गर्ने थलो होइन र? अहिले त अधिकांश विकास–निर्माण स्थानीय र प्रदेश सरकारअन्तर्गत पर्दैन?
हाम्रोमा प्रारम्भदेखि नै जनप्रतिनिधि भन्नेबित्तिकै पुल, बाटो बनाउने मान्छेजस्तो भयो। राजनीति, प्रशासनिक संरचना र विकासे अड्डा ठीकठाक हुने हो भने पुल र बाटो राजनीतिक नेताले बनाउने होइन।  नीति, विधि, प्रक्रिया र संरचनामा चिन्ता गर्ने हो प्रतिनिधिसभाको सदस्यले। तर हाम्रोमा नीति, विधि र संरचनामा चिन्ता हुँदैन। संसदमा विधेयकमा छलफल हुँदै गर्दा हाम्रा संसद् सदस्यहरू त्यहाँ हुँदैनन्। उनीहरू योजना आयोगको रातो किताबमा योजना पार्न र मन्त्रालयमा गएर ‘मलाई पुल देऊ’ भनेर कराइरहेका हुन्छन्। यसरी, मूल प्रयोजन छुटिरहेको छ। सहायक प्रयोजनतिर हाम्रा नेता र जनप्रतिनिधि लागे। यो गलत अभ्यास हो। यसको उपाय गर्नुपर्छ अब। सबै कुरा ठीक दुरुस्त हुने हो भने मन्त्रालय, सचिव र विभागहरूले गर्न सक्ने काम हुन् नि त विकाश निर्माण र पूर्वाधारका काम।    

मानिसहरू किन ‘अधिकार, अधिकार’ भनेर मात्रै कराइरहेका देखिन्छन्? चिल्लो सडक र राम्रा भवन बने त देश आफैं विकसित हुँदैन र?
पहिलो कुरा त, अहिले हामीले हेर्दा पो मान्छेले गाडी चढे। सडक बने, घरमा धारा छ। पार्टीहरू बने। मान्छे पार्टीमा आबद्ध छ। भोट हाल्न पाएकै छ। तर पहिले त यो थिएन नि त।  ‘अधिकार’ भनेर पहिले मान्छेहरू लडेकै कारण हामीले अहिले यी अधिकारहरू उपभोग गर्न पाएका हुन्। त्यही भएर मान्छे मान्छेजस्तै भएर बाँच्न पाएका हुन्। हिजो मान्छेहरू कुनै राजामहाराजा हिँड्दा बाटो छाडेर या घोसेमुन्टो लगाएर हिँड्नुपर्थ्यो। स्वस्ति र दर्शन गर्नुपर्थ्यो। ठाडो शिर लगाएर हिँड्न नमिल्ने र महिलाले भोट हाल्न नपाउने जुग थियो। अहिले पनि शहरमा खासै विभेद देखिँदैन।

तर गाउँघरमा अहिले पनि एउटा मान्छे विशेष दर्जामा छ र अर्कोचाहिँ दोस्रो दर्जाको नागरिकको जीवन बिताउन बाध्य छ। त्यसैले, आफ्नो स्वायत्तता, सार्वभौमिकता र समृद्धिको लागि हरेक मान्छे सबै बराबर हुन आवश्यक छ। कोही विशेष छैन भन्ने स्थापित गर्न पनि आन्दोलन आवश्यक छ।

नेपाली युवालाई विदेश जानबाट रोक्नुपर्छ भन्ने कुरा देशभित्र र बाहिर दुवैतिर सुनिन्छ। आजको भूमण्डलीकरणको युगमा कोही मान्छेलाई कतै जानबाट रोक्न सकिन्छ त? नेपालभित्रै नेपाली युवा रोक्न सक्दा नेपाल समृद्ध बन्ने हो?
मलाई त्यस्तो लाग्दैन। संसार त धेरै सानो भइसक्यो। त्यसो हुँदा कसरी रोक्ने? ‘देशले के दियो भनेर नसोच, देशलाई के दिऊँ भनेर सोच’ भन्दै हामीलाई पहिले पढाइयो। देशप्रेमी र राष्ट्रप्रेमी देखिन मान्छेहरूले त्यसो भनेको पाउँछु। हाम्रा सन्तानले रूखोसुखो खाएर भए पनि यहीँ पसिना बगाउनुपर्छ। यही माटोमा जन्मियौँ, यही माटोमा मर्नुपर्छ भन्ने देशप्रेमको उदात्त भावनाबाट यस्ता कुरा आउँछन्। तर यो भावनात्मक कुरा मात्र हो। आजको पुस्तालाई देशले थाम्न सकेन भने भावनाले मात्रै त्यो रोकिनेवाला छैन। देशले के दियो भन्ने कुरा पनि आजको युवाले सोच्छ, देशलाई के दिएँ भन्ने मात्र होइन।

यसमा म मिडल क्लास र अपर क्लासको युवाको कुरा मात्र गर्दिनँ।

एउटा बच्चा सुकुम्वासी बस्तीमा जन्मन्छ। तराईको कुनै मुसहर। उ स्कुल पढ्न जान सक्दैन। उसका लागि कुनै स्कुलमा प्रिभिलेज छैन। १६ वर्षको उमेरको भएपछि नागरिकता बनाउन जान्छ, तर सजिलोसँग पाउँदैन। जागिर खोज्छ, पाउँदैन। जमिन मात्र होइन, केही पनि छैन ऊसँग। उसका लागि देश के हो? त्यसपछि उ सस्तो श्रमका लागि भारत जान्छ। यो देशमा तिमी मर्नुपर्छ भनेर उसलाई हामी कसरी भन्नसक्छौँ? उसलाई हामी यो देश तिम्रो पनि देश हो भनेर भन्नसमेत सक्दैनौँ। 

हामी त्यसो किन भन्न सक्दैनौँ भने उसले देशबाट केही पनि पाएन। त्यसो हुँदा यस देशप्रति उसको कुनै दायित्व छैन। यदि राज्यले कुनै दायित्व छ भन्छ भने राज्यले उसलाई पनि केही दिनुपर्छ। कसैले देशबाट सम्पूर्ण सुख सुविधा पाइरहेको छ भने उसको देशप्रति पनि दायित्व हुन्छ। दोस्रो कुरा, युवालाई हामी यो देशमा राख्न पर्छौं भन्ठान्छौँ भने राख्ने प्रबन्ध गर्नुपर्‍यो देशले। भावनाले युवा रोकिँदैनन्। मान्छे आकाशमा उड्छ। र, यो युग आकाशमा उड्न दिने युग हो। समातेर पिँजडामा राख्ने युग होइन।   

चुनावकै सन्दर्भमा पपुलिजमको चर्चा पनि भइरहेको छ। बालेन, रवि, कुलमान र कहिलेकाहीँ गगन थापाको समेत उदाहरण दिँदै ‘पपुलिजम खराब हुन्छ’ भनिन्छ। पपुलिजम के हो र किन यो समस्याग्रस्त छ?
राजनीतिक विमर्शमा आउने जटिल प्रश्नहरूमा प्रवेश नगरीकन, भीडलाई जे सुन्न मन लाग्छ, त्यही बोल्ने, कुनै अडान र अजेन्डा नभएको, चटक गरेर आफ्नो उपस्थिति सिद्ध गर्न चाहने व्यक्ति नै पपुलिस्ट हो। यसलाई म जंक पोलिटिक्स भन्छु। उदाहरणका लागि: चाउचाउ लोकप्रिय छ, तर पोषणविद् भन्छन्–त्यसमा कुनै पौष्टिक तत्त्व छैन (एकदमै कम छ)। तर खाँदा मिठो छ। खोल चिटिक्क छ। 
null

खोल राम्रो भएको, भावनात्मक उद्वेग सहितको, अप्ठ्यारा प्रश्नहरूमा प्रवेश नगर्ने, मान्छे मुस्कुराउने र ताली बजाउने विषयहरूमा मात्र प्रवेश गरेपछि सबै कुरा ठीक दुरुस्त हुन्छ ठान्ने चिन्तन नै पपुलिजम् हो। जटिल प्रश्नहरूमा प्रवेश गर्दा मान्छे रिसाउन सक्छन्। मान्छे खुसी भएनन् भने भोट हाल्दैनन्। तिनले भोट हालेनन् भने म सत्तामा जान सक्दिनँ। त्यसो भए के गर्ने त? अप्ठ्यारा प्रश्नमा प्रवेश नै नगर्ने। मुस्कुराउने र राम्रो खोल देखाउने। राम्रो चित्रण गर्ने। गुदीमा धेरै चिन्तन नगर्ने। यसले देशलाई अन्ततः बरबाद गर्छ।

‘छाडेर काम सारा, एक काम रोजिरहेछु, यो देशमा एउटा मानिस खोजिरहेछु’ भन्ने गीत लेखेर माधवप्रसाद घिमिरे जानुभयो। तर तपाईँ व्यक्ति होइन, संस्था सुधार्ने कुरा जोड दिएर गरिरहनुभएको छ। त्यसो किन?
किनभने हामी लोकतन्त्रमा छौं। एक जना मान्छेले चमत्कार गर्छ र संसार/देशका सबै दुःखहरू समाधान गर्छ भन्ने अवधारणा भ्रमपूर्ण छ। अलौकिक शक्तिमा विश्वास गर्ने, धेरै परम्परावादी अवधारणा हो यो। कोही पनि मान्छेले जादु या चमत्कार गरेर यो देश राम्रो हुँदैन। एउटा मान्छे ईश्वर बनेर, हाम्रा दुःख र संकटहरू पार लगाउने सम्भावना हुँदैन।

लोकतन्त्र भनेको सामूहिक प्रयत्न हो। दोस्रो, लोकतन्त्रमा जनता आफैँ सार्वभौम हुन्छ। जनताभन्दा माथि कुनै ईश्वर या पालनहार चाहिँदैन। जनताले आफैँ निर्णय गर्छ र ईश्वर त्यो निर्णयको नायक बन्न सक्दैन। हामीलाई नेता चाहिने हो। तेस्रो, नेता पनि एउटा मान्छे सर्वगुण सम्पन्न हुन्छ र त्यसले चमत्कार गर्छ भन्ने होइन। देश बनाउने कुरा सामूहिक प्रयत्न भएकाले यसमा विधि, संरचनाहरूको महत्त्व हुन्छ। हामीले हाम्रो समाधान सामूहिकतामा खोज्नुपर्छ।        

अन्त्यमा, थप केही भन्न चाहनुहुन्छ?
नागरिकलाई सार्वभौम बनाउने कुरा ज्यादै महत्त्वपूर्ण कुरा हो। नागरिक स्वयंले म सार्वभौम छु। म यस देशको मालिक हुँ। म छु, त्यसैले यो सबै चीज छ भन्ने बोध हुनुपर्छ नागरिक स्तरमा। तर हाम्रोमा नागरिक निम्छरो भयो। तिनले आफूलाई कमजोर ठाने।

‘म त निम्छरो छु हजुर। हजुरहरूले जे गर्नुहुन्छ, हजुरहरूकै कृपा!’ यो चीजबाट हामीले नागरिकलाई निकाल्नुपर्‍यो र के भन्नुपर्‍यो भने नागरिक सबैभन्दा शक्तिशाली युनिट हो। नागरिक देशको मालिक हो। नागरिक मालिक भयो भने मात्र त्यो लोकतन्त्र सफल र प्रभावकारी हुन्छ। अर्को, कुनै प्रक्रियाबाट सत्तामा पुगेका नेताले ठान्नुपर्‍यो– म सेवक हो।

निर्वाचनको बेला मलाई भन्न मन लाग्ने कुरा छ— मतदाता र उम्मेदवारबीचको सम्झौता हो निर्वाचन। एउटा उम्मेदवारले 'म यो यो काम गर्छु' भन्छ। अर्कोले 'म फलानो फलानो गर्छु' भन्छ। मतदाताले ‘तिमीले यो काम गर्छु भन्यौ। म तिमीलाई भोट दिन्छु’ भनेर भोट हाल्छ। यसरी सम्झौता हुन्छ। मतदाताले आफ्नो जिम्मेवारी पूरा गर्‍यो। वाचा गर्नेले वाचा पूरा गरेन भने के हुन्छ? राजनीतिमा सबैभन्दा ठूलो घात र अपराध हो त्यो।  नैतिक र राजनीतिक हिसाबले मतदाताप्रतिको ठगी हो। 

यो निर्वाचन भइरहँदा मान्छेलाई हामीले बताउन सक्नुपर्छ कि त्यस उम्मेदवार र दललाई भोट दिँदा तपाईँको जीवनमा के परिवर्तन आउँछ? बदलाव र फाइदा के हो? उम्मेदवरलाई तपाईँले भन्नुपर्छ कि यो करारनामा हो। धोका भयो भने म सहनेछैन। मतदान करारनामा हो भनेर स्थापित गर्नुपर्छ। हामी भन्नलाई मतदान भन्छौं, तर यो मतदान होइन। मताधिकार हो। शास्त्रीय हिसाबमा त दान भन्नेबित्तिकै एउटा हातले दिँदा अर्कोले थाहा नपाउनुपर्ने भन्ने मान्यता छ। फेरि, दान नि:सर्त हुन्छ भनिन्छ। 

तर यो त्यस्तो होइन। दान होइन। सर्तसहित हो यो। सर्तसहित हामीले प्रयोग गरेको अधिकार हो यो, जसमा हामी एउटा मान्छेलाई विश्वास गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छौं। ‘हाम्रो प्रतिनिधि भएर राज्यमा जाऊ र यो यो काम गर’ भन्छौ मतमार्फत। यो यो काम गर भनेको मान्छेले काम गरेन भने त्यो त अपराध भयो। सम्झौतामा धोकाधडी भयो। त्यस्ता प्रतिनिधिलाई राजनीतिक र नैतिक सजाय हुनुपर्छ। र, अझ हामीसँग त्यस्ता संस्था हुनुपर्छ, जसले निर्वाचनमा हुने बाचाहरूको अनुगमन गरोस् र बाचा पूरा भएन भने त्यसलाई सजाय देओस्।​​​​​​