क्यारेबियन सागर क्षेत्रमा अमेरिकी सैन्य कारबाहीबाट ३ जनाको मृत्यु

क्यारेबियन सागरमा अमेरिकी सेनाले लागुऔषध तस्करको शंकास्पद डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ।

क्यारेबियन सागर क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले एक सन्दिग्ध तस्करी डुंगामाथि गरेको कारबाहीमा तीन जनाको मृत्यु भएको छ। अमेरिकी साउदर्न कमान्डले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उक्त डुंगा ‘लागुऔषध तस्करीको मार्ग’मा सक्रिय रहेको दाबी गरिएको छ।

सार्वजनिक गरिएको एक भिडियोमा तीव्र गतिमा गुडिरहेको उक्त डुंगामा विस्फोटपछि आगो लागेको देखिन्छ। यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएका ३८ वटा यस्तै कारबाहीमा ज्यान गुमाउनेको संख्या १३३ पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागुऔषध ओसारपसार गर्ने डुंगालाई लक्षित गरी यस्ता घातक कारबाही सञ्चालन गर्दै आएको छ।

हालै अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यी कडा कारबाहीका कारण ठूला लागुऔषध तस्कर समूहहरूले आफ्ना गतिविधि अस्थायी रूपमा बन्द गरेको दाबी गर्नुभएको थियो। यद्यपि, उहाँले आफ्नो दाबीलाई पुष्टि गर्ने ठोस प्रमाण भने सार्वजनिक गर्नुभएको छैन।

यसैबीच, राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी 'ड्रग कार्टेल'सँग अमेरिका 'सशस्त्र द्वन्द्व' मा रहेको बताउँदै लागुऔषध प्रवाह रोक्न यस्ता सैन्य प्रहार आवश्यक भएको धारणा व्यक्त गर्नुभएको छ। तर, प्रशासनले 'नार्को-टेररिस्ट' (लागुऔषध आतंककारी) भनिएका व्यक्तिहरू मारिएको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा जारी यी सैन्य कारबाहीले क्षेत्रीय सुरक्षासँगै मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरूसमेत उब्जाएको छ।