नेप्से परिसूचकमा ८.१६ अंकको गिरावट, करिब ८ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ भने कारोबार रकम सात अर्ब ९४ करोड रुपैयाँमा खुम्चिएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य बढेको बजारमा यस दिन भने बिक्री चाप देखिएको हो।

सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य संकुचन आएको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार सात अर्ब ९४ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ कम्पनीको ८० हजार ५५९ पटकको कारोबारमा एक करोड ९६ लाख कित्ता शेयर किनबेच भएको छ।

बजार घटे पनि तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो। यता, खानी खोला हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर ६५ करोड ३ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। यस्तै, आँखु खोला जलविद्युत्को करिब ५२ करोड र ङादी ग्रुप पावरको ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये वित्त, होटल तथा पर्यटन र उत्पादन उपसमूह बाहेकका सबै सूचक ओरालो लागेका छन्। जलविद्युत् उपसमूहमा सबैभन्दा बढी १.०२ प्रतिशतको गिरावट देखिएको छ।