मार्सल ल प्रकरण: दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरियाको एक अदालतले सन् २०२४ को मार्सल ल प्रकरणमा पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ।

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ। सन् २०२४ डिसेम्बर ३ मा मार्सल ल घोषणा गरी संसद्मा सेना परिचालन गरेको प्रकरणमा सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले बिहीबार यस्तो फैसला सुनाएको हो।

सरकारी वकिलले युनको कदमले लोकतान्त्रिक व्यवस्थालाई प्रत्यक्ष खतरा पुर्‍याएको दाबी गर्दै मृत्युदण्डको माग गरेका थिए। यद्यपि, घटनामा मानवीय क्षति नभएको र सत्ता नियन्त्रणको प्रयास असफल भएको तर्क गर्दै विश्लेषकहरूले उनलाई आजीवन कारावासको सजाय हुनसक्ने अनुमान गरेका छन्। दक्षिण कोरियामा सन् १९९७ यता मृत्युदण्ड कार्यान्वयनमा छैन।

फैसलाका क्रममा सियोल अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। युनका समर्थक र कडा सजायको माग गर्ने प्रदर्शनकारीहरूका बीच सयौँ प्रहरी परिचालन गरिएको थियो। जेलको बसमार्फत् अदालत ल्याउँदा दुवै पक्षका नाराबाजीले परिसर तनावग्रस्त बनेको थियो।

अदालतले पूर्वरक्षामन्त्री किम योङ ह्युनसहित सात जना पूर्वसैनिक तथा प्रहरी अधिकारीमाथि पनि समान प्रकृतिको अभियोगमा फैसला सुनाउने तयारी गरेको छ।

रुढिवादी धारका नेता युनले संसद्मा विपक्षीको बहुमतका कारण आफ्नो कार्ययोजना अवरुद्ध भएको र 'राज्यविरोधी शक्ति' रोक्न मार्सल ल आवश्यक रहेको जिकिर गर्दै आएका थिए। तर, सांसदहरूले सैनिक घेरा तोड्दै आदेश खारेज गरेपछि मार्सल ल करिब ६ घण्टामै समाप्त भएको थियो।

संसद्ले महाभियोग पारित गरेपछि उनी डिसेम्बर १४, २०२४ मा निलम्बनमा परेका थिए। अप्रिल २०२५ मा संवैधानिक अदालतले उनलाई पदमुक्त गरेको थियो। उनी गत जुलाईदेखि हिरासतमा छन्।

गत महिना मात्रै अदालतले मन्त्रिपरिषद्को पूर्ण बैठकबिना मार्सल ल घोषणा गरेको र गिरफ्तारीको प्रतिरोध गरेको अभियोगमा युनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो।

यसैबीच, प्रधानमन्त्री हान डक सुसहित मन्त्रिपरिषद्का दुई सदस्यलाई पनि दोषी ठहर गरिएको छ। जबरजस्ती आदेशलाई वैधानिक देखाउन खोजेको, अभिलेख हेरफेर गरेको र झुटो बयान दिएको आरोपमा उनीहरूलाई २३ वर्षको कारावास सजाय सुनाइएको छ। हानले भने फैसलाविरुद्ध पुनरावेदन गरेका छन्।