अस्ट्रिया सरकारले नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई प्रहरी चौकीमा रूपान्तरण गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया शुरू भएको छ।
नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया शुरू भएको छ। सरकारले उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन लागेको हो।
सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर शहरको केन्द्रमा अवस्थित छ। भवनअगाडि राखिएको स्मारकमा लेखिएको छ— ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ। फासीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिऔँ। लाखौँ मानिसको मृत्यु यसका लागि चेतावनी हो।’ हाल उक्त भवनमा जीर्णोद्धारको अन्तिम काम भइरहेको छ र सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले सन् २०१६ मा निजी मालिकबाट भवन नियन्त्रणमा लिन विशेष कानून पारित गर्दै यसको नाजी साख मेटाउने नीति अघि सारेको थियो। अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो। नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजार निर्वासनमा परेका थिए।
स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले यो निर्णयलाई ‘दुई धारको तरबार’ जस्तो रहेको बताइन्। उनका अनुसार यसले अति–दक्षिणपन्थी समूहलाई भेला हुन निरुत्साहित त गर्छ, तर भवनलाई अझ फरक ढंगले उपयोग गर्न सकिन्थ्यो। नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘समस्यापूर्ण’ बताए। प्रहरी राज्यको संरचनाअनुसार चल्ने भएकाले त्यहाँ स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने उनको तर्क छ।
यसअघि भवनलाई ऐतिहासिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको थियो। स्थानीय व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ऐतिहासिक सन्दर्भमा राखेर प्रस्तुत गर्नु रोचक हुने धारणा व्यक्त गरिन्। अर्कोतर्फ, यसको पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भइरहेको छ।
तर सबै प्रतिक्रिया नकारात्मक छैनन्। इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ्ग लेथनरले भवनलाई प्रहरी चौकी बनाउँदा ‘केही शान्ति आउने’ विश्वास व्यक्त गरे। यसरी प्रयोग गर्दा भवन अति–दक्षिणपन्थीहरूको ‘तीर्थस्थल’ बन्ने सम्भावना कम हुने उनको बुझाइ छ।
ब्राउनाउका कन्जरभेटिभ मेयरको कार्यालयले यस विषयमा टिप्पणी दिन अस्वीकार गरेको छ। अस्ट्रियामा नाजी अतीत र नरसंहारको इतिहासलाई कसरी स्मरण गर्ने भन्ने बहस फेरि सतहमा आएको छ। इतिहासको पीडादायी स्मृतिलाई रूपान्तरण गर्ने प्रयास स्वरूप हिटलर जन्मिएको घरको यो नयाँ पहिचानले जिम्मेवारी र भविष्यको दिशाबारे नयाँ बहस जगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
