अन्तर्वार्ता

‘भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु पहिलो प्राथमिकता’

‘जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ पार्टीले मात्रै सम्बोधन गर्नेछन् भन्ने भ्रममा पर्नुभएन। नयाँ पार्टी त धेरै छन्, देश बनाउने खाका र स्वरूप नयाँ हुनुपर्यो नि। त्यो कोसँग छ हेर्न जरुरी छ।’

आसन्न फागुन २१ को निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ। देशभर चुनावको सरगर्मी बढेको छ। राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारहरू मत माग्न मतदाताका घरदैलो पुगिरहेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पनि चुनावी माहोल बढेको छ। हेभिवेटका रूपमा यहाँ नेपाली कांग्रेसबाट एनपी साउँद, नेकपा एमालेबाट बचनबहादुर सिंह र रास्वपाबाट दिपक बोहरा चुनावी मैदानमा छन्। उनीहरूलाई टक्कर दिन नेपाली कम्युनिष्ट पार्टीबाट ३९ वर्षीय युवा नेता माधव पन्त चुनावी मैदानमा होमिएका छन्। चुनावमा पन्तको उम्मेदवारी, उनका अजेन्डा लगायतका विषयमा उकालोले गरेको कुराकानीः

तपाईंको उम्मेदवारी के–का लागि?
मेरो उम्मेदवारी भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गराउनका लागि हो। देशको आर्थिक सम्वृद्धि कसरी गर्न सकिन्छ त्यसमा अलिकति भए पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ भन्ने लाग्छ। अर्कोतर्फ यो क्षेत्रको विकास निर्माणमा आफूले भूमिका खेल्नुपर्छ भनेर पनि हो। जनताका आधारभूत आवश्यकता पनि पूरा गर्न नसकिरहेको अहिलेको अवस्थामा त्यसमा पनि काम गर्नुपर्छ भन्ने लागेर नै म ४० वर्षमुनिको उम्मेदवारका रूपमा अघि बढेको छु। यो मुलुकलाई वैदेशिक हस्तक्षेपबाट बचाउनेदेखि राष्ट्रिय स्वाधीनता जोगाउनका लागि पनि म चुनावी मैदानमा होमिएको हुँ।

मतदातासँग मत माग्दै गर्दा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
यसपटक मतदाता निकै उत्साहित र खुशी देखिएका छन्। म २०७९ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्दा पनि जनतासँग केही घुलमिल भएकाले अहिले केही सहज बनेको छ। तपाईं एउटा युवा यो क्षेत्रमा निर्वाचन लड्न आउनुभएको छ भनेर सबैले सहयोग गरिरहेका छन्। उहाँहरूले मेरो बोली व्यवहार र यहाँको समस्या बुझेका कारणले पनि सहयोग गरिरहेका छन्। यो क्षेत्रको मात्र होइन देशकै सवालमा पनि प्रष्ट वक्ताको रूपमा कुरा राख्न सक्नुहुन्छ, तपाईंलाई हाम्रो सहयोग हुन्छ भनिरहनुभएको छ। यो निर्वाचन क्षेत्रका तमाम समस्यालाई भोलि संसदमा गएर राख्न सक्ने देखेर पनि उहाँहरू मप्रति सकारात्मक देखिनुभएको छ।

तपाईंलाई त्यहाँका जनताले किन भोट दिने ?
कञ्चनपुर क्षेत्र नम्बर २ निकै सम्भावनायुक्त क्षेत्र हो। पर्यटन, कृषिका हिसाबले पनि यहाँ धेरै सम्भावना छ भने उद्योग कलकारखाना स्थापना गरेर यहाँको विकास निर्माणदेखि बेरोजगारी समस्यालाई केही हदसम्म हल गर्न सकिन्छ। यो क्षेत्रमा रहेको गरिबी, अभाव, जनताले भोगेका भूमि सम्बन्धी, नदी कटान, जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेदेखि घाइते हुने समस्या छन्। तीनलाई सम्बोधन गर्ने निश्चित खाका बनाएको छु। त्यस्तै यहाँ वर्षौदेखि सुकुम्बासी र आरक्ष पीडितका समस्या छन्। तीनको पनि सम्बोधन गर्नुपर्ने छ। विगतमा जति पनि जितेर गए उनीहरूले चुनावका बेला आउने भाषण गर्ने काम मात्रै भयो। समस्या समाधानमा कुनै पहल हुन सकेन। त्यसैले पनि यहाँको समस्या मैले बुझेको छु। त्यसै हिसाबले मतदातालाई भनिरहेको छु। मैले केही ठोस योजना तयार पारेको छु, जसलाई जनतामाझ पनि राखेको छु।

तपाईंले काम गर्नुहुन्छ भनेर मतदाता कसरी विश्वस्त हुन्छन् त?
आम मतदाताले मैले काम गर्न सक्छु कि सक्दैन राम्रोसँग बुझेका छन्। सबै समस्या समाधान एकै रातमा त गर्न सकिन्न। जनताका अपेक्षा धेरै हुन्छन् र छन् पनि। तर, एउटा कार्यतालिका बनाएर काम गर्न सकिन्छ। मैले गर्न नसकेको कामका विषयमा पनि म जनतासँगै जोडिएर अघि बढ्ने हो। जनताकै घरदैलोमा गएर यो कारणले यो काम हुन सकेन भनेर उनीहरूकै साथमा अघि बढेर समाधानका लागि अग्रसर हुने हो।

जेनजी विद्रोहपछि हुन लागेको यो निर्वाचनलाई कसरी हेर्नुभएको छ? 
जेनजी आन्दोलनले सुशासन कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने लगायतका मुद्दा उठाएको थियो। ती सान्दर्भिक थिए। तीनको सम्बोधन हुनु अपरिहार्य जस्तै छ। सुशासन र आर्थिक सम्वृद्धिको जे कुरा उठेका थिए। तीनैलाई आधार मानेर मैले आफ्नो प्रतिबद्धता पत्र पनि बनाएको छु। जेनजी आन्दोलनको भावनाअनुसार काम गर्नुपर्छ भन्ने मेरो पनि मान्यता हो। यहाँका जनताले पनि त्यही भनिरहेका छन्। हाम्रो देशको शिक्षा क्षेत्रको सुधार आवश्यक भइसकेको छ। रोजगारीलाई ध्यानमा राखेर त्यसै अनुसारले शिक्षाको योजना बनाउनुपर्ने छ। स्वास्थ्य केन्द्र र अस्पतालमा दक्ष जनशक्तिको अभाव छ। त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ। युवाहरूको वैदेशिक पलायन कसरी रोक्ने र उनीहरूलाई स्वदेशमै रोजगारीको अवसर कसरी प्रदान गर्ने भन्ने नै मेरो योजना रहेको छ।

तपाईं उमेरले युवा भए पनि पुरानै दलबाट उम्मेदवार हुँदा युवाले कसरी विश्वास गर्छन् त?
नेपाली कम्युनिष्ट पार्टी विभिन्न दलहरू मिलेर बनेको हो। यो पार्टीमा सबै साना ठूला दलहरू मिलेर एक बनाइएको हो। हिजो जनयुद्धको नेतृत्व गरेकोदेखि अन्य क्रान्ति गरेका नेताहरू भएको पार्टी हो। राजनीति गर्ने कुरालाई सामान्य रूपमा लिनुहुँदैन। यो देश विकासको स्पष्ट खाका कसले ल्याउन सकेको छ। त्यो हेर्न जरुरी छ। गणतन्त्र, समावेशीता लगायतका मूलभूत मुद्दा कसको अगुवाइमा स्थापित भयो त्यो पनि हेर्नुपर्छ। त्यसैले हामी सबै एक ठाउँमा आएका हौं। नयाँ भनेर मात्र हुँदैन। पार्टी पुरानो हुँदैमा गलत हुने होइन। त्यो पार्टीको राजनीतिक अवधारणा उसले लिने नीति लगायतले पनि भूमिका खेल्छ। व्यक्तिको हिसाबले म एउटा युवा हुँ। आफ्नो अध्ययन सकेर आफ्नो ठाउँमा आएर काम गर्न खोज्दैछु। हरेक समस्याको समाधान गर्न खोजिरहेको छु। अहिलेको समस्याको निकास नै नेपाली कम्युनिष्ट पार्टी हो, त्यो जनताले बुझेका छन्।

पुराना दलले केही गरेनन्, अब नयाँलाई अवसर दिनुपर्छ भन्ने आवाज बढ्दो छ नि?
त्यसो भनेर अहिले समाजमा गलत भाष्य निर्माण गरिँदैछ। नयाँ भनेको नयाँ पार्टी र त्यसको उम्मेदवार मात्र होइन। सोच र विचारमा नयाँ हुने हो। हिजो जेनजी आन्दोलनको बलमा जे मुद्दा अगाडि सारिए‍, ती सुशासनको पक्षमा छन्। ती मुद्दा नयाँ पार्टीले मात्रै उठाएका छन् भन्ने होइन। नयाँ पार्टी त धेरै छन् कसलाई नयाँ भन्ने त? नयाँ पार्टी भनेर हुँदैन, देश बनाउने खाका र स्वरूप नयाँ हुनुपर्यो नि। त्यो कोसँग छ हेर्नु जरुरी छ। नामले नयाँ भनिदिएर मात्रै देशको विकास त हुने होइन नि। हामी धेरै पार्टी मिलेर नयाँ संरचना अनुसार बनेकाले हाम्रो पार्टी पनि त नयाँ हो नि उसो भए त। जसले नवीनतम् विचार बोकेर अघि बढ्छ त्यो नै नयाँ हो।

यो चुनावले राजनीतिक अस्थिरता अन्त्य हुनेमा आशावादी हुनुहुन्छ?
पक्कै पनि आशावादी छु। किन भने देशले अहिले सम्वृद्धि चाहेको छ। देशमा सुशासन कायम गर्नुछ। यो नै अहिलेको अनिवार्य सर्त नै हो नि। विषम परिस्थितिमा हुन गइरहेको यो निर्वाचनबाट बन्ने सरकारले सुशासन कायम गर्न सक्नुपर्छ। मतदाताले विकास निर्माण देखि सुशासन लगायतको अपेक्षा राख्नु स्वभाविक छ। तर, यो देश रहने की नरहने वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने की नगर्ने। विभिन्न दलका नाममा यो देश र समाजलाई विध्वंसमा लैजान चाहने केही तत्व पनि राजनीतिमा आएका छन्। यो देशलाई जोगाउनुपर्छ, संविधान र गणतन्त्र जोगाउँदै सामाजिक न्याय स्थापना गर्नुपर्छ। यसतर्फ सबैको ध्यान जानुपर्छ। र सबै मिलेर नै देशलाई सम्वृद्धिको यात्रामा अगाडि बढाउने हो। पुराना दलप्रति आक्रोश र वितृष्णा किन भयो त, हिजो सुशासन कायम गर्न नसकेरै हो। सबैले समयमा ध्यान नदिने हो भने फेरि पनि धक्का खानुपर्छ। त्यसैले पनि हामी विभिन्न पार्टीले विचार विमर्श गरेर नयाँ योजनाका साथ अघि बढेका हौं। मुलुक सम्वृद्ध बनाउन नयाँ योजना, नीति, कार्यक्रम गुरुयोजना आवश्यक छ। हामीले यो देशलाई सम्वृद्ध बनाउने निश्चित खाका लिएर नै आएका छौं।

हामी कहाँ चुक्यौं र अबको बाटो के हो?
यो मुलुकमा केही नभएको पनि होइन। जुन गतिमा विकास गर्न सकिन्थ्यो त्यस हिसाबले अघि बढ्न सकिएन। कमजोरीबाट पाठ सिक्दै नयाँ हिसाबले अघि बढ्न सक्नुपर्छ। आजसम्म देशले समाजवादको गति लिइसक्थ्यो होला। नेपाल सम्वृद्धिको दिशामा अघि बढिसक्थ्यो होला तर, त्यसो हुन सकेन। राज्यले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सक्थ्यो होला त्यो पनि हुन सकेन। अब हामीले समाजवादको यात्रा तय गर्दा पहिले आधारभूत विषय तयार गर्नुपर्छ। दुई ठूला देशको बीचमा हामी छौं। ती देशको बीचमा पुलको काम गरेर सम्वृद्ध बन्नुपर्थ्यो, त्यो गर्न सकेनौं। अब त्यस दिशामा नेपाललाई अगाडि बढाएर लैजानुपर्छ।

भोलि तपाईं निर्वाचित भएर आइसकेपछि संसदमा कसरी भूमिका खेल्नुहुन्छ?
यद‍ि म निर्वाचित भएर सदनमा पुगेँ भने नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्नेछु। आम नागरिकको नैसर्गिक अधिकारको विषय हो शिक्षा, त्यसका लागि मेरो विशेष पहल रहनेछ। देशका मूलभूत समस्या के–के छन्, तीनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेदेखि संसदलाई पनि कानून निर्माणमा सक्रिय हुन निरन्तर आवाज उठाइरहने छु। जनजीविकाका सवालदेखि अन्य थुप्रै समस्या सम्बोधनका लागि पैरवी गर्ने र पहल गर्ने मेरो लक्ष्य हुनेछ।