‘नीति बनाउन केन्द्रित हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन प्रधानमन्त्रीमुखी भइरहेको छ’

‘हाम्रो अघिल्लो संसद् कमजोर र असफल रह्यो। आसन्न निर्वाचनले पनि विगतकै जस्तो संसदीय व्यवस्था र प्रवृत्ति दोहोर्‍याएमा त्यसको कुनै औचित्य रहनेछैन।’

आसन्न निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट भक्तपुर निर्वाचन क्षेत्र १ का उम्मेदवार प्रेम सुवाल हुन्। नेमकिपाको गढ मानिने भक्तपुर १ बाट यसअघि पनि प्रत्यक्ष निर्वाचनमार्फत सांसदका रूपमा उनी निर्वाचित भएका थिए। संसद्मा एक्ला प्रतिपक्षका रूपमा चिनिने सुवालसँग निर्वाचनकै विषयमा उकालोले गरेको कुराकानी:

चुनावका लागि नेमकिपाको तयारी कस्तो छ?
नेपाल मजदुर किसान पार्टी सामाजिक न्याय, निःशुल्क स्वास्थ्य तथा शिक्षा सेवा, र देशभित्रै रोजगारीको बन्दोबस्तसहितको आदर्श समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको हो। पार्टी सोही सिद्धान्तमा रही चुनावको तयारी गरिरहेको छ।

देशको कानून, नीतिनियम, सन्धि-सम्झौता र बजेट बनाउने विषय केन्द्रमा हुनुपर्नेमा यो चुनाव कसलाई प्रधानमन्त्री बनाउने भन्ने दौडमा बढी केन्द्रित देखिन्छ। यसरी हेर्दा जनताका पीरमर्का बुझ्न र संसद्लाई देशभक्तहरूको जीवन्त थलो बनाउनेतर्फ कसैको ध्यान छैन। हामी समाजवादी अर्थतन्त्रसहित कृषि, शिक्षा र स्वास्थ्यमा बिमालाई प्राथमिकतामा राख्ने प्रतिबद्धताका साथ चुनावी प्रचारमा व्यस्त छौँ। एमसीसी र एसपीपीको नाममा हुने वैदेशिक हस्तक्षेपको हामीले सुरुदेखि नै विरोध गरेका छौँ। देशको सीमा सुरक्षा र राष्ट्रघाती विषयमा हाम्रो आवाज सदैव बुलन्द हुनेछ।

जेन-जी विद्रोहपश्चात् विघटन भएको प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा अघिल्लो संसद्को समीक्षा कसरी गर्नुहुन्छ?
हाम्रो अघिल्लो संसद् कमजोर र असफल रह्यो। आसन्न निर्वाचनले पनि विगतकै जस्तो संसदीय व्यवस्था र प्रवृत्ति दोहोर्‍याएमा त्यसको कुनै औचित्य रहनेछैन।

संसद् सत्ताको प्रतिपक्ष हुनुपर्ने थियो। प्रमुख दल भनिने नेपाली कांग्रेस, एमाले र रास्वपा प्रतिपक्षमा बस्नै चाहेनन्। बरु मन्त्री खानका लागि भागबन्डामा लागे। भोलि आफू पनि सत्तामा पुग्नुपर्ने स्वार्थका कारण सरकारलाई प्रश्न नसोध्ने परिपाटी बस्यो। खबरदारीभन्दा मिलापत्र गर्ने थलो बनेकाले संसद् कमजोर भयो।

एक्लै प्रतिपक्षका रूपमा बस्दा कत्तिको कमजोर वा बलियो महसुस गर्नुभयो?
हामीले संसद्मा देश र जनताका विषयलाई प्रभावकारी ढंगले उठाएका छौँ। संसद्मा सत्ता पक्षको बलमिच्याइँ रह्यो र हामीले त्यसको प्रतिवाद गरिरह्यौँ। प्रखर प्रश्न र खबरदारीमार्फत हामीले प्रतिपक्षको भूमिका निर्वाह गरेका छौँ, त्यसैले आफूलाई कमजोर ठानेका छैनौँ।

घरदैलो कार्यक्रममा मतदाताको भावना र समस्या कस्ता पाउनुभएको छ?
हाम्रा मतदाता सकारात्मक छन्। उनीहरू भन्छन्– "पहिलेदेखि नेमकिपालाई भोट हालेको, यो पटक पनि हाल्छौँ।" जनताको निस्वार्थ सेवा गर्ने हाम्रो अडानका कारण मतदाता ढुक्क छन्।

‘पुराना र बुढा पार्टी’लाई विस्थापित गर्नुपर्छ भन्ने लहरबारे नेमकिपा कत्तिको सुरक्षित महसुस गर्छ?
नयाँ र पुरानो पुस्ता समाजकै अंग हुन्, यसलाई अलग रूपमा हेर्नु हुँदैन। यो बहस समाजमा भेद ल्याउने प्रयास मात्र हो। पुस्ताभन्दा पनि विचार मुख्य कुरा हो। अहिलेको पुँजीवादी व्यवस्थाभन्दा समाजवादी समाज धेरै उन्नत हुन्छ।

उमेर कम भएर मात्र हुन्न, दृष्टिकोण कस्तो छ भन्ने मुख्य हो। धेरै पार्टीका घोषणापत्रले अर्थतन्त्र निजी क्षेत्रमा सुम्पने लक्ष्य राखेका छन्, जुन घातक हुन्छ। नेमकिपाले समाजवादलाई लक्ष्य मानेको छ। हामी ‘टु जेनेरेसन, वान डेस्टिनेसन’मा विश्वास गर्छौँ।

null

तपाईंको निर्वाचन क्षेत्रमा अत्यधिक ‘प्लटिङ’ भइरहेको छ, यसमा किन केही गर्न सक्नुभएको छैन?
जग्गा प्लटिङको मुख्य जिम्मेवारी पालिकाको हो। भक्तपुर नगरपालिकाभित्र निजी प्लटिङको सुविधा छैन; त्यहाँ सरकारी तवरबाट मात्र आवास विकास हुन्छ। तर छिमेकी नगरपालिकाहरूमा जनप्रतिनिधि नै प्लटिङमा संलग्न छन्। हामीले संसद्मा ‘सन्तुलित विकास’ को आवाज उठाएका हौँ, तर सत्तामा बस्नेहरूले सुनेनन्। अब नेमकिपालाई जिताउनुस्, यस्तो बेथिति हुन दिँदैनौँ।

नेमकिपा भक्तपुरमै मात्र केन्द्रित भयो र खुम्चियो भनिन्छ नि?
हाम्रो संगठन देशभर छ। हामी चुनावमा पैसा खर्च गर्दैनौँ, सिद्धान्तको राजनीति गर्छौं। अन्य पार्टीले पैसा र मासुका पोका बाँडेर मत किन्छन्। निष्पक्ष निर्वाचन हुने हो भने नेमकिपाले धेरै ठाउँमा जित्छ। हामीले जितेको भक्तपुरको विकासको लाभ देशभरका जनताले लिइरहेका छन्। शिक्षा र स्वास्थ्यमा हाम्रो योगदान कहिल्यै असान्दर्भिक हुँदैन।

पहिलोपटक मतदान गर्न लागेकाहरूलाई के भन्न चाहनुहुन्छ?
नेमकिपाले जनताको निस्वार्थ सेवा गरिरहेको छ। अन्यलाई भोट दिनु भनेको भस्मासुरलाई वरदान दिए जस्तै हो। कुनै दुबिधा नराखी ‘मादल’मा छाप लगाउन सबैलाई अनुरोध गर्दछु।