अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण शुरू गरेपछि इरानले पनि इजरायलका साथै बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी जवाफी कारबाही शुरू गरेको छ।
इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण शुरू गरेपछि इरानले पनि जवाफी कारबाही थालेको छ। इरानले शुरूमा इजरायललाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेलगत्तै बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानलाई समेत निशाना बनाउन थालेको हो।
ती क्षेत्रहरूमा ठूला विस्फोटका आवाज सुनिएको बताइएको छ। इरानको विदेश मन्त्रालयले शनिबार भएको संयुक्त आक्रमणको प्रतिक्रिया दिँदै नयाँ सैन्य आक्रामकताको सामना गर्न देशले ‘हिचकिचाहट नगर्ने’ बताएको छ।
“मातृभूमिको रक्षा गर्ने र शत्रुको सैन्य आक्रमणको सामना गर्ने समय आएको छ,” विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “जसरी हामी वार्ताका लागि तयार थियौँ, हामी सधैँ रक्षाका लागि अझ बढी तयार छौँ। इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले पूर्ण अधिकारका साथ आक्रमणकारीहरूलाई निर्णायक जवाफ दिनेछ।”
यता, इरानविरुद्ध सैन्य आक्रमण शुरू गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ (सत्ता हातमा लिन) अपिल गरेका छन्। राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको थियो। त्यसपछि शहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको थियो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसन’ शुरू गरेको बताएका छन्। उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे। यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा थिए वा थिएनन् भन्ने स्पष्ट भएको छैन। अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन्।
इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने शर्तमा बताएका छन्। तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन। इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरेको छ। छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ।
इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ। इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन्। इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ।
यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका थिए। अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा पूर्ण स्तरको सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
