भारतीय दुई हवाई कम्पनीद्वारा मध्यपूर्वका उडान स्थगित

इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेपछि भारतका प्रमुख विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मध्यपूर्वका सबै उडान स्थगित गरेका छन्।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा हुने उडान स्थगित गरेका छन्।

“मध्यपूर्वका केही भागमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, त्यस क्षेत्रका सबै गन्तव्यमा जाने उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,” एयर इन्डियाले सामाजिक सञ्जाल 'एक्स' मार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इन्डिगोले पनि यात्रु र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडान स्थगित गरिएको जनाएको छ।

खाडी राष्ट्रहरू लाखौँ भारतीय आप्रवासीहरूको कार्यथलो हुन्। नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायल र अरब राष्ट्रहरूसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गर्दै आएको छ। यो क्षेत्र विश्वकै तीव्र गतिको उदीयमान अर्थतन्त्रका लागि ऊर्जाको महत्त्वपूर्ण स्रोत समेत हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण सकेर स्वदेश फर्केको भोलिपल्टै इरानमा आक्रमण भएको हो। भ्रमणका क्रममा दुवै पक्ष व्यापार र रक्षा सम्बन्धलाई मजबुत बनाउन सहमत भएका थिए। प्रधानमन्त्री मोदीले इजरायली संसद्लाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको घातक आक्रमणपछि नयाँ दिल्ली इजरायलको पक्षमा “दृढतापूर्वक” उभिएको बताएका थिए।