नेप्से परिसूचकमा ३८ अंकको वृद्धि, ६ अर्ब २३ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ को बिन्दुमा पुग्दा ६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ३८.५२ अंकले बढेर २,७१२.४९ को बिन्दुमा पुगेको छ। साताको दोस्रो कारोबार दिन नेप्सेमा १.४४ प्रतिशतको वृद्धि देखिएको हो।

मंगलबार ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा कूल ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ। व्यापार समूहबाहेक आज अन्य सबै उपसूचकहरूमा हरियाली छाएको छ। व्यापार समूह ०.८४ प्रतिशतले घट्दा जलविद्युत् समूहमा सबैभन्दा धेरै २.१३ प्रतिशतको वृद्धि देखिएको छ।

बैंकिङ १.६४, विकास बैंक १.५९, वित्त १.४३, होटल तथा पर्यटन १.६०, र लघुवित्त समूहको सूचक १.६६ प्रतिशतले बढेका छन्। यस्तै, उत्पादन तथा प्रशोधन, लगानी, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको उपसूचकमा पनि सुधार आएको छ।

आज कम्पनीगत रूपमा सलपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशत कमाएका छन् भने शुभम् पावरका शेयरधनीले २.३२ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ३४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।