अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, नागरिकलाई देश छोड्न आदेश

मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच अमेरिकाले साउदी अरब, कुवेतसहितका खाडी मुलुकमा आफ्ना दूतावासहरू बन्द गर्दै नागरिकलाई ती देश छोड्न आदेश दिएको छ।

मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका बीच संयुक्त राज्य अमेरिकाले खाडी मुलुकस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले तनावग्रस्त क्षेत्रमा रहेका आफ्ना कर्मचारी र नागरिकहरूलाई तत्काल ती देश छोड्नसमेत आदेश दिएको छ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासले मंगलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै सेवा बन्द गरेको छ। साउदी अधिकारीहरूले रियादस्थित दूतावासमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरिएको छ। त्यसैगरी, कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई ती देश छोड्न आदेश दिएको छ। मन्त्रालयले यी मुलुकमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई सुझाव दिँदै सुरक्षा चिन्ताका कारण कर्मचारीहरूलाई 'स्वैच्छिक प्रस्थान'को अनुमतिसमेत दिएको छ।

यसबीच इराकको राजधानी बग्दादमा सयौँ प्रदर्शनकारीहरूले आइतबार अमेरिकी दूतावास रहेको 'ग्रिन जोन'मा प्रवेश गर्ने प्रयास गरेका छन्। यता, जोर्डनको राजधानी अम्मानस्थित दूतावासले पनि अज्ञात सुरक्षा खतराका कारण आफ्ना कर्मचारीहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारेको छ। इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको भन्दै बदला लिने चेतावनी दिएकाले यो क्षेत्रमा थप आक्रमणको खतरा बढेको छ।

गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित उच्च कमान्डरहरूको मृत्यु भएपछि यो क्षेत्रमा द्वन्द्व चर्किएको हो। जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण शुरू गरेको छ।

इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको दाबी गरेको छ भने साउदी अरबले इरानद्वारा प्रहार गरिएका एक दर्जनभन्दा बढी क्षेप्यास्त्रहरू आकाशमै विफल पारेको जनाएको छ।