बिहीबार मतदान केन्द्रहरूमा पुगेको नवयुवा पुस्ताले औँलामा लागेको मसीलाई निर्वाचनको चिह्न मात्र होइन, सुशासन र परिवर्तनका लागि बगेको ‘रगतको मूल्य’का रूपमा चित्रण गरेको छ।
काठमाडौँ— बिहीबार अरु दिनको तुलनामा बिहानदेखि शहरका सडक सुनसान थिए। सुरक्षाकर्मीका गाडी गुडिरहेका थिए,मतदान केन्द्रतिर जाँदै गरेका पाइलाहरूको आवाज सुनिन्थ्यो। विगतका निर्वाचनको तुलनामा यसपटक काठमाडौँ शान्त, सुनसान देखियो।
मतदान केन्द्र आसपासका भित्तामा भदौ २३ को आन्दोलनका क्रममा लेखिएका ‘भ्रष्टाचार बन्द गर’, ‘सुशासन देऊ’ र ‘हाम्रो भविष्य फिर्ता गर’ जस्ता नारा मेटिएका थिएनन्। त्यसबेला भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा ‘जेन–जी’ पुस्ता सडकमा उत्रिएको थियो। सो क्रममा भएको झडपमा परी शुरूमा १९ जनाले ज्यान गुमाएका थिए। त्यसपछि उत्पन्न परिस्थितिका कारण संसद्, सिंहदरबार, अदालत र प्रहरी कार्यालय लगायत दलका नेताका घरहरूमा समेत क्षति पुग्यो। दुईदिने जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो।
यही पृष्ठभूमिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि ‘अर्ली इलेक्सन’ घोषणा गर्यो। बिहीबार त्यहीअन्तर्गत् मतदान सम्पन्न भयो।

नक्साल: केसङको मौन अनुहार
काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ स्थित नक्साल, नारायणचौरको नन्दी माध्यमिक विद्यालय। बिहान ७ बजे विद्यालयको मूल गेटबाहिर सुरक्षाकर्मीको बाक्लो घेरा देखिन्थ्यो। मतदानका लागि मतदाताको लामो लाइन थियो। कोही युवा मोबाइल हेर्दै उभिएका, बुढापाकाहरू चुपचाप आकाशतिर हेर्दै पालो पर्खिरहेका थिए।
त्यही लाइनमा थिइन्, १८ वर्षीया केसङ चोकिएब शेर्पा। हातमा सेतो मतदाता परिचयपत्र लिएर उभिँदा उनको अनुहारमा उमेरले ल्याउने स्वाभाविक चञ्चलता थिएन। यो उनको जीवनको पहिलो मतदान हो, तर उनको मस्तिष्कमा भने केही महिनाअघिको, भदौ २३ को कहालीलाग्दो दृश्य नाचिरहेको थियो— जब उनकै साथीहरूले सडकमा रगत बगाएका थिए।
भित्र पस्नुअघि केसङले लामो सास फेरिन् र भनिन्, “मैले आजसम्म कसैलाई चुनेकी थिइनँ, तर आज मैले चुन्नैपर्छ भन्ने लागेको छ। किनभने भदौ २३ मा हाम्रा साथीहरूले सडकमा रगत बगाए। त्यो घटनापछि म निकै गम्भीर भएकी छु।”
भदौ २३ को दिन सम्झँदा उनको स्वर मलिन बन्यो। “हाम्रा साथीहरू सडकमा प्लेकार्ड समातेर उभिएका थिए। कसैले सोचेका थिएनौँ कि गोली चल्छ भनेर,” उनले भनिन्।
मतदान गरेर बाहिरिएपछि औँलामा लागेको मसीलाई उनी धेरैबेर नियालिरहिन्। मसी लागेको औँला देखाउँदै उनले थपिन्, “मैले आफ्नो कर्तव्य पूरा गरे जस्तो लागेको छ। म अहिले अझ जिम्मेवार बनेको अनुभव गरिरहेकी छु। आफूले मत दिएको व्यक्तिले जितोस् र देशको परिवर्तनमा भूमिका खेलोस्। नेताहरूले आफ्नो बारेमा भन्दा पनि जनताको बारेमा सोचुन्।”
उनको बुझाइमा नेपाल केवल काठमाडौँ मात्र होइन। “गाउँहरूमा अझै विकास पुगेको छैन, गरिबी छ। परिवर्तन सबैतिर हुनुपर्छ,” उनले भनिन्।

प्रकृति: ‘यो मसी रगतको मूल्य हो’
नक्सालकी २५ वर्षीया प्रकृति थापा पनि मतदान सकेर बाहिर निस्किँदा अनुहारमा गम्भीरता देखिन्थ्यो। लाइनमा उभिँदा उनी शान्त थिइन्, तर बाहिर निस्किएपछि भने आफ्ना भावना स्पष्ट रूपमा राखिन्। “अर्ली इलेक्सन आवश्यक थियो,” उनले भनिन्, “किनकि देशमा भ्रष्टाचार चरम सीमामा पुगिसकेको थियो।”
भदौ २३ को घटना सम्झिँदा उनले एकछिन आँखा बन्द गरिन्। “सुशासनका लागि रगत बग्नु दुःखद हो, तर त्यही रगतले आज हामीलाई यहाँसम्म ल्याएको छ,” औँलाको मसी देखाउँदै उनले थपिन्, “यो मसी रगतको मूल्य हो।”
उनको मुख्य माग राजनीतिक स्थायित्व हो। “सरकार बल खेले जस्तो घरीघरी परिवर्तन नहोस्। यस्तो इतिहास अब दोहोरिनु हुँदैन,” उनले भनिन्।
टंगाल: आमा र छोरा, एउटै लाइन
काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ स्थित टंगाल माध्यमिक विद्यालयको मतदान केन्द्र। त्यहाँ २१ वर्षीय प्रेयस अर्याल आमा वन्दना अधिकारी अर्यालसँगै मतदान गरेपछि औँलामा लागेको मसी देखाउँदै तस्वीर खिचिरहेका थिए। उनको उत्साहको मुख्य कारण पहिलो पटकको मतदान थियो।
“यसअघिको निर्वाचनमा रुचि नभएकाले मैले मतदाता परिचयपत्र बनाएको थिइनँ। यसपटक जेन–जी आन्दोलनले मेरो आँखा खोलिदियो। राम्रो उम्मेदवारलाई भोट हाल्नुपर्छ भन्ने लाग्यो,” उनले भने।
उनले अगाडि थपे, “हामीजस्तै उमेरका युवाको बलिदानलाई खेर जान दिनुहुन्न भन्ने लागेर मत हालेको हुँ। शिक्षा क्षेत्रमा सुधार र गुणस्तर सुनिश्चित हुनुपर्छ। नेपाली युवा काम र अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता रोकिनुपर्छ।”

उनको अनुमानमा देशको परिस्थितिले गर्दा कुनै न कुनै दिन जेन–जी आन्दोलन हुने निश्चित थियो। निर्वाचित प्रतिनिधिलाई सचेत गराउँदै उनले भने, “जनताको चाहनाविपरीत निर्वाचित प्रतिनिधिले काम गर्न पाउने छैनन्। यसअघिको सरकारले बोल्ने तर काम नगर्ने र जनताको भावनामाथि खेलबाड गर्ने काम गरेको थियो।”
माछापोखरी: मेघाको आक्रोश
काठमाडौँ निर्वाचन क्षेत्र नं. ७, माछापोखरीस्थित मतदान केन्द्रमा पाका उमेरका मतदाताको बाक्लो उपस्थिति थियो। त्यही भीडको बीचमा २५ वर्षीया मेघा ढकाल मतदानका लागि लामबद्ध थिइन्।
“यसअघि मलाई राजनीतिप्रति कुनै रुचि थिएन, यसपटक नयाँ पार्टीहरू आएकाले मतदान गर्न मन लाग्यो,” उनले भनिन्। मेघाका अनुसार भर्खरै भएको जेन–जी आन्दोलनले नै उनलाई मतदान गर्न प्रेरित गरेको हो।
उनले थपिन्, “आन्दोलनका क्रममा पुराना नेताहरूले गरेका कमजोरीबारे थाहा भयो। अब जितेर जानेहरूले भ्रष्टाचार गर्नु हुँदैन। नेपाली जनतालाई स्वदेशमै बस्ने र काम गरेर खाने वातावरण बनाउनुपर्यो।”
महिलाको प्रतिनिधित्वबारे उनले भावुक हुँदै भनिन्, “महिला अधिकारका कुरा कागजमा मात्र सीमित छन्, व्यवहारमा उतार्ने कोशिश भएको छैन। महिलाहरू पुरुषसरह शक्तिशाली नभएसम्म मुलुकको विकास हुन सक्दैन। अब बन्ने सरकारले स्वास्थ्य र शिक्षामा महिलाको सहज पहुँच सुनिश्चित गरोस्।”

भीमसेनस्थानः सनिसको भविष्यको चिन्ता
काठमाडौँ निर्वाचन क्षेत्र नं. ६, भीमसेनस्थानको मतदान केन्द्रको भीडमा भेटिए २१ वर्षीय सनिस डंगोल। पहिलो पटक मतदान गरेपछि उनले भने, “जेन–जी आन्दोलनले देशको वास्तविकता देखायो, त्यसैले पनि मैले पहिलो पटक मत हालेको हुँ।”
उनको सपना सरल छ, “पढाइ सकेपछि नेपालमै काम गर्न पाऊँ, विदेसिन मन छैन।” उनलाई आफ्नो मात्र होइन, आफू जस्तै युवाहरूको भविष्यको पनि चिन्ता छ। कम्तीमा उनीहरू आफ्नै देशमा अध्ययन गरी काम गरेर खान सक्ने वातावरण बनोस् भन्ने उनको कामना छ।
नयाँ निर्वाचित हुने जनप्रतिनिधिसँग उनले यही माग गरे, “तपाईंहरू हाम्रा बारेमा सोचेर काम गर्नुहोला। पहिलेका नेताहरूले गरे जस्तै बदमासी नगर्नुहोला।”

बानेश्वरः राहुलमा आएको जागरण
काठमाडौँ निर्वाचन क्षेत्र–१, मध्यबानेश्वर पुग्दा भीडमा २३ वर्षीय राहुल बलामी भर्खरै मत खसालेर निस्किएका थिए। राहुलले भने, “यसअघि मलाई मतदाता परिचयपत्र बनाउनुपर्छ भन्ने चासो पनि थिएन। तर, यस पटक जेन–जी आन्दोलनले मेरो मनमा राजनीतिक सचेतना जगायो। त्यसैले समयमै परिचयपत्र बनाएँ। शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो चाहना हो।”
उनले बानेश्वर चोकतर्फ औँला सोझ्याउँदै प्रश्न गरे, “त्यही त हो हाम्रा साथीहरूले ज्यान गुमाएको, अनि हामी कसरी भुल्न सक्छौँ?”
बिहीबार काठमाडौँका मतदान केन्द्रहरूमा शब्दभन्दा बढी दृश्य बोलिरहेका थिए। औँलामा मसी लगाएर तस्वीर खिच्ने जेन–जीहरूको उत्साह पनि थियो र उनीहरूमा एक किसिमको गम्भीरता पनि देखिन्थ्यो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा भेटिएका एक युवाले भने, “आज हामीले मसी लागेको औँला देखाएर फोटो मात्रै खिचिरहेका छैनौँ, देशको इतिहासलाई तस्वीरमा कैद गर्दै छौँ।”

काठमाडौँ क्षेत्र नम्बर १० मा पहिलो पटक मत दिएका नवयुवालाई अन्तर्वार्ता दिन भ्याइनभ्याई देखिन्थ्यो। उनीहरूका प्रतिक्रिया सुनेर मतदान केन्द्रको लाइनमा उभिएका वृद्धवृद्धाहरू मुस्कुराइरहेका थिए। सञ्चारकर्मी र पर्यवेक्षकले समेत सोधपुछ गर्न थालेपछि कतिपय मतदान केन्द्रमा त सुरक्षाकर्मीहरूले नै पहिलो पटक मतदान गर्न आएका जेन–जीहरूको नामसमेत संकलन गरिरहेका थिए।
निर्वाचन आयोगसँग पहिलो पटक मत दिनेहरूको छुट्टै तथ्यांक छैन। तर, काठमाडौँ जस्तै अन्य जिल्लामा पनि पहिलो पटक मत दिनेहरूले औँलामा मसीसहितको तस्वीर खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
उनीहरूले चेतावनी पनि दिएका छन्, “अब बन्ने सरकारले भ्रष्टाचार गर्न पाउँदैन, सांसदहरूले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। कसैले पनि हामीलाई धोका दिन पाउँदैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
