स्वदेशमै निर्मित ‘कार-टी सेल’ उपचारलाई क्लिनिकल प्रयोग अनुमति

औषधि व्यवस्था विभागले नेपालमै उत्पादन गरिएको ‘कार-टी सेल’ उपचार विधिलाई क्लिनिकल प्रयोगका लागि अनुमति दिएको छ।

काठमाडौँ– नेपालले क्लिनिकल प्रयोगका लागि पहिलो पटक स्वदेशमै निर्मित ‘कार-टी सेल’ उत्पादनलाई स्वीकृति दिएको छ। औषधि व्यवस्था विभागले यो अत्याधुनिक उपचार पद्धतिलाई अनुमति प्रदान गरेसँगै नेपालभित्रै क्यान्सरको विशिष्ट उपचार सेवा उपलब्ध गराउने दिशामा ठूलो सफलता मिलेको हो।

विभागले स्वीकृत गरेको यो उत्पादन ‘सीडी१९ कार-टी सेल’हो, जसमा प्रयोग हुने सीडी१९ एउटा प्रोटिन हो जुन निश्चित प्रकारका क्यान्सरजन्य बी-सेल्सको सतहमा पाइन्छ।

यस उपचार पद्धतिमा बिरामीको आफ्नै रगतबाट प्रतिरक्षा प्रणालीका कोषहरू सङ्कलन गरिन्छ र प्रयोगशालामा ती कोषहरूलाई ‘काइमेरिक एन्टिजेन रिसेप्टर’ (सीएआर)मार्फत आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। यसरी परिमार्जित कोषहरूले क्यान्सर कोषमा भएको सीडी१९ मार्करलाई चिन्न सक्छन्। बिरामीको शरीरमा पुनः पठाएपछि ती कोषहरूले क्यान्सरलाई पहिचान गरी नष्ट गर्छन्।

यो उपचार मुख्यतया ‘बी-सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’, ‘डिफ्युज लार्ज बी-सेल लिम्फोमा’ र अन्य उपचार कठिन भएका रगतका क्यान्सरहरूको उपचारमा प्रयोग गरिन्छ। हालसम्म यस्तो उपचारका लागि नेपाली बिरामीहरू विदेश जानुपर्ने बाध्यता थियो, जसले गर्दा ठूलो आर्थिक र मानसिक भार पर्ने गरेको थियो। अब बिरामीले देशमै यो जीवनरक्षक उपचार प्राप्त गर्न सक्नेछन्।

नेपालमा यो उपचार पद्धति विकास गर्न ‘सेन्टर फर रिजेनेरेटिभ मेडिसिन’ का विशेषज्ञ टोलीले काम गरिरहेको थियो। उक्त टोलीमा रहेर डा. संजिवन गौतमले प्रविधि हस्तान्तरण प्रक्रियाको नेतृत्व गर्नुका साथै नेपालको पहिलो ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मानक प्रयोगशाला र गुणस्तर प्रणाली स्थापनामा मुख्य भूमिका खेले। त्यस्तै, प्रयोगशाला विज्ञ बलराम गौतमले खरिद प्रक्रियाको समन्वय, प्राविधिक जनशक्ति विकास र आन्तरिक व्यवस्थापनको काम गरे। टोलीमा प्राध्यापक ओम कुर्मी, प्राध्यापक डा. सुधांशु केसी, प्राध्यापक डा. दिलिप शर्मा र दिपेन्द्र पराजुलीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

null

डा. गौतमका अनुसार, सेन्टर फर रिजेनेरेटिभ मेडिसिनको टोलीले यस्तो वातावरणमा काम गर्‍यो जहाँ उन्नत जैविक उपचारका लागि नियामक निकाय अझै विकासको क्रममा थिए। विभिन्न संस्थाहरूको अनुदान सहयोगले यो कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। “यो प्रविधि भित्र्याउन तथा विकास गर्न निकै चुनौतीपूर्ण थियो, सबैको सहकार्यबाट यो सम्भव भएको हो,” उनले भने।

प्राध्यापक डा. सुधांशु केसीले अब यो उत्पादनलाई उपचारको चरणमा लैजान देशभरका चिकित्सकहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए। “अब यो प्रविधिले बिरामीको उपचार गर्न मान्यता पाएको छ, सोही क्रममा हामी देशभरका चिकित्सकसँग सहकार्य गर्न चाहन्छौँ,” उनले भने।

सेन्टर फर रिजेनेरेटिभ मेडिसिनको टोलीले प्राप्त गरेको उपलब्धिलाई स्वदेशी तथा विदेशी विज्ञहरूले प्रशंसा गरेका छन्। जर्मनी र अमेरिकामा कार्यरत सेल थेरापीका विज्ञ प्रा. डा. लुका गाटिनोनीले नेपालमा यो क्षमता विकास हुनुले देशको वैज्ञानिक र क्लिनिकल टोलीको कडा प्रतिबद्धता झल्किने बताए। त्यस्तै, अमेरिकामा कार्यरत हेमाटोलोजिस्ट प्रा. विनोद ढकालले यसलाई नेपालको चिकित्सा इतिहासको एउटा निर्णायक मोडका रूपमा वर्णन गरे। ‘विल्सन वुल्फ’ का सीईओ जोन विल्सनले नेपाली टोलीको प्रगतिको प्रशंसा गर्दै यसबाट नेपाली बिरामीहरूले ठूलो लाभ उठाउने बताए।

डा. गौतमका अनुसार यो स्वीकृति केवल एक वैज्ञानिक उपलब्धि मात्र नभई यसले बायोटेक्नोलोजी र क्लिनिकल अनुसन्धानमा नेपालको क्षमतालाई सुदृढ बनाएको छ। यसले नेपाललाई दक्षिण एसियामा उन्नत जैविक उपचारको उदाउँदो केन्द्रका रूपमा उभ्याएको छ। “कार-टी सेल उपचार क्लिनिकल अभ्यासमा प्रवेश गरेसँगै यसले जटिल रक्त क्यान्सरबाट पीडित बिरामी र उनीहरूका परिवारका लागि नयाँ आशा जगाएको छ र नेपालमा क्यान्सर उपचारको नयाँ युगको सुरुवात गरेको छ,” उनले भने।