बांग्लादेशका विद्यार्थी नेता हादीको हत्याका आरोपी भारतबाट पक्राउ

बांग्लादेशका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यामा संलग्न रहेको आरोपमा दुई बांग्लादेशी नागरिक भारतको पश्चिम बंगालबाट पक्राउ परेका छन्।

बांग्लादेशको ढाकामा लोकप्रिय विद्यार्थी नेताको हत्या गरेको आरोपमा दुई बांग्लादेशी नागरिक भारतमा पक्राउ परेका छन्।

सन् २०२४ मा बांग्लादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने जनविद्रोहमा सक्रिय भूमिका निर्वाह गरेका र भारतका मुखर आलोचक सरिफ उस्मान हादीमाथि गत वर्ष नकाबधारी आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए। सो आक्रमणमा गम्भीर घाइते भएका उनको पछि सिंगापुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

बांग्लादेशी प्रहरीले हत्या आरोपीहरू भागेर भारत पुगेको दाबी गरे पनि भारतीय अधिकारीहरूले यसअघि त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर, बांग्लादेशसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको प्रहरीले आइतबार हिरासतमा रहेका दुई बांग्लादेशी नागरिकसँग प्रारम्भिक सोधपुछ गर्दा हादीको हत्यामा उनीहरूको संलग्नता पुष्टि भएको जनाएको छ।

भारतीय प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बांग्लादेशबाट भागेर दुई व्यक्ति अवैध रूपमा भारत प्रवेश गरेको ‘गोप्य विश्वसनीय सूचना’ प्राप्त भएको थियो। उनीहरू बांग्लादेश फर्कने योजनाका साथ सीमा क्षेत्रमा लुकेर बसेका थिए।”

हादीको मृत्युपछि बांग्लादेशमा हिंसात्मक प्रदर्शन शुरू भएको थियो। त्यसक्रममा आक्रोशित भीडले भारतपरस्त मानिने दुई प्रमुख अखबार र एक सांस्कृतिक संस्थाका भवनहरूमा आगजनीसमेत गरेका थिए। हसिनाले प्रजातन्त्र समर्थक विद्रोहपछि भारतमा शरण लिएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको छ।

भारतको विदेश मन्त्रालयले हादीको हत्यामा नयाँ दिल्लीको संलग्नता रहेको भन्ने आरोपलाई ‘गलत कथन’ भन्दै खण्डन गरेको छ। यद्यपि, हसिनाको बहिर्गमनपछि गत फेब्रुअरीमा भएको पहिलो संसदीय निर्वाचनमा जित हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बांग्लादेश नेसनलिस्ट पार्टीलाई बधाई दिएका थिए।