नेप्सेमा लगातार दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

सोमबार खुलेको शेयर बजारमा नेप्से परिसूचक ५ प्रतिशत बढेपछि लगातार दोस्रो सर्किट लागेको छ।

काठमाडौँ- सोमबार खुलेको शेयर बजारमा नेप्से परिसूचकमा तीव्र उछाल देखिँदा लगातार दोस्रो सर्किट लागेको छ।

सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

त्यसपछि पुनः खुलेको बजारमा पनि नेप्से परिसूचक उस्तै बढिरह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दु बढ्दै कूल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको हो।

पहिलो सर्किटपछि खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ। अब ४० मिनेटपछि खुल्ने बजारमा नेप्से थप १ प्रतिशत विन्दु अर्थात कुल ६ प्रतिशतसम्म बढेमा सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द हुने नेपाल स्टक एक्सचेन्जको नियम रहेको छ।