अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन औषधि ऐन, २०३५ को संशोधन गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
काठमाडौँ– नेपाललाई अत्यावश्यक औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र औषधिमा आत्मनिर्भरता विषयक नीतिगत सवाल’ अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले औषधि महँगो हुँदा बर्सेनि पाँच लाख मानिस गरिबीको रेखामुनि पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ र गुणस्तरीय औषधि पाउनुपर्ने बताइन्। “अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको स्वास्थ्य उपचार हुनुपर्छ,” उनले भनिन्, “औषधि ऐन संशोधन गरेर नेपाली उद्योगलाई प्रोत्साहन दिनु आवश्यक छ।” उनले काम नगर्ने समितिहरू खारेज गरी नागरिक सेवालाई सहज बनाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले औषधि ऐन, २०३५ लाई संशोधन गरी उद्योगमैत्री बनाउनुपर्ने बताए। “स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सबै औषधि स्वदेशी उद्योगबाट उत्पादित हुनुपर्छ,” उनले भने, “यसले औषधिको खपत बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछ।”
राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार औषधिको गुणस्तर सुनिश्चित गर्नुपर्ने बताए। नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रवलजंग पाण्डेले प्राविधिक सीप र विदेशी मुद्रा सटहीमा सहजीकरण गरे धेरै उपलब्धि हासिल गर्न सकिने धारणा राखे।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. दीपेन्द्र पाण्डेले जेनेरिक औषधि उत्पादनमा सरकारले प्रोत्साहन र कच्चा पदार्थमा कर छुट दिनुपर्नेमा जोड दिए। औषधि व्यवस्था विभागकी प्रमुख औषधि व्यवस्थापक शिवानी खड्गीले राजनीतिक अस्थिरताका कारण स्वदेशी उद्योगमैत्री ऐन बन्न नसकेको स्वीकार गर्दै नयाँ सरकारबाट समस्या समाधानको अपेक्षा गरिन्।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालको आयातमुखी ऐनमा सुधार गरे पाँच वर्षमै मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी गरे। उनले भारत र बांग्लादेशको उदाहरण दिँदै नेपाली उद्योगलाई प्रतिस्पर्धात्मक मूल्यमा उत्पादन गर्न सरकारले उपयुक्त वातावरण बनाइदिनुपर्ने बताए।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले औषधिको गुणस्तर र नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलको आवश्यकता रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
