नेप्से परिसूचक ४.४५ अंकले बढ्यो, १४ अर्ब ३२ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ भने १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा कायम भएको हो।

यस दिन ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १ लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, लगानी ०.५४ प्रतिशत, जीवन बिमा ०.४६ प्रतिशत र म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले घटेका छन् भने अन्य सबै समूहका उपसूचक बढेका छन्।

आज व्यापार समूह सबैभन्दा बढी २.८३ प्रतिशतले बढेको छ। बैंकिङ ०.२१ प्रतिशत, विकास बैंक ०.७४ प्रतिशत, वित्त ०.२२ प्रतिशत, जलविद्युत् ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१२ प्रतिशत, लघुवित्त ०.१५ प्रतिशत, निर्जीवन बिमा ०.१६ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

यस दिन सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावरको ८१ करोड एक लाख २१ हजार २०१ रुपैयाँ बराबरको २७ लाख २१ हजार ९८० कित्ता शेयर कारोबार भएको छ।