दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, आगलागीपछि उडान प्रभावित

संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण हुँदा आगलागी भएको छ।

तस्वीर: रोयटर्स

काठमाडौँ- संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण हुँदा आगलागी भएको छ। रोयटर्सका अनुसार ड्रोनले विमानस्थल आसपासको इन्धन भण्डारण ट्यांकीमा प्रहार गरेपछि आगो लागेको हो।

आगो नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घटनापछि विमानस्थलका केही उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ।

यो घटनालाई अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको पश्चिम एसिया युद्धको क्रममा भइरहेको मिसाइल र ड्रोन आक्रमणको श्रृंखलाको हिस्सा मानिएको छ।

अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण जारी छ। इरानले खाडि मुलुकमा रहेका अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा, तेल पूर्वाधार,  विमानस्थललगायतमा आक्रमण गरिरहेको छ। अमेरिका र इजरायलले पनि इरानमा निरन्तर आक्रमण जारी राखेका छन्।