गोली र बमका छर्राले छिद्र बनाएको ‘शान्ति स्तम्भ’लाई बेनी नगरपालिकाले आफ्नो कार्यालय परिसरमा राखेको छ। बेनी घुम्न जानेका लागि ‘पर्यटकीय’ बनेको यही खम्बाले बेनीबासीलाई २२ वर्षअघिको रात सम्झाइरहन्छ।
म्याग्दी– बेनी नगरपालिकाको आँगनमा एउटा खम्बा ठिंग उभिइरहेको छ। यो खम्बाले कुनै बेला बिजुलीको लट्ठा बोक्थ्यो। बेनीलाई उज्यालो बनाउने बिजुली तिनै तारको बाटो भएर बग्थे। तर अहिले खम्बाले युद्धको ‘घाउ’ सम्झाइरहन्छ।
खम्बाको बीच भाग छियाछिया छ। गोली र बमका छर्राले छेडेका यिनै छिद्रले २२ वर्षअघि तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीले गरेको बेनी आक्रमणको याद दिलाउँछन्। बेनी नगरपालिका कार्यालयमा राखिएको ‘घाइते’ खम्बालाई ‘शान्ति स्तम्भ’ नामले चिनिन्छ।
बेनीबासीका लागि २०६० चैत ७ गते शनिबारको त्यो रात अन्य रातजस्तै सामान्य थिएन। बेनीका दुई कुनाबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीमा ‘रगत पो बग्दैछ कि’ जस्तो अत्यास थियो। हावामा बारुदको गन्ध थियो। जताततै चित्कार सुनिन्थ्यो। विद्रोही माओवादीले चारैतिरबाट बम र गोलीको वर्षा गरेपछि बेनी बजार रणमैदान भएको थियो।
त्यही रात अहिले नगरपालिकामा राखिएको खम्बा गोली र बमका छर्राले क्षतविक्षत भएको थियो। बेनी नगरपालिकाका प्रमुख सुरत केसी त्यस खम्बालाई ‘शान्ति स्तम्भ’का रूपमा आफूहरूले संरक्षण गरेको बताउँछन्। उनी भन्छन्, “यो केवल फलामको पोल मात्र हैन, सयौँ भिडन्त र विध्वंसको बिम्ब हो, जसले हामीलाई त्यो दुर्गति नदोहोरिने सुनिश्चितताका लागि सधैँ सचेत गराउने विश्वास गरेका छौँ।”
आक्रमणको २२ वर्षपछि बेनीको स्वरूप फेरिएको छ। युद्धमा भत्किएका संरचना नयाँ बनेका छन्। सडकहरूले रूप फेरेका छन्। बस्ती बाक्लो हुँदैछ। त्यो युद्धका बेला जन्मेको पुस्ता आज ‘जेन–जी आन्दोलन’को बाहक बनेको छ।
यो पुस्ताका लागि त्यो ‘जनयुद्ध’ एउटा रोमाञ्चक कथा वा इतिहासको धमिलो पाना मात्र बन्न पुगेको कतिपय राजनीतिकर्मी बताउँछन्। त्यही युद्धको भर्याङ चढेको तत्कालीन माओवादी धेरैपटक सत्तामा पुगेको छ। तर यो खम्बाले इतिहास बिर्सिन नदिएको बेनी नगरपालिका–६ की शान्तादेवी केसी बताउँछिन्।
त्यो चैत ७ गते बेनी आक्रमण गर्नुअघि माओवादी लडाकुहरू रोल्पाको थवाङमा भेला भएका थिए। माओवादीका चार वटा ब्रिगेड– मंगलसेन, सतबरिया, लिस्ने–गाम र बासुस्मृति अन्तर्गतका ६ वटा बटालियनका करिब पाँच हजार लडाकु रुकुमको लुकमु, ढोरपाटनको उच्च जंगल छिचोल्दै म्याग्दीको ताकममा भेला भएका थिए। त्यसपछि आक्रमणका लागि बेनी ओर्लिएका थिए।
बेनी आक्रमण माओवादीले सञ्चालन गरेको १० बर्से सशस्त्र द्वन्द्वका क्रममा भएका नौ ठूला आक्रमणमध्ये सैन्य बल र व्यापकताको दृष्टिले सबभन्दा भीषण मानिन्छ। त्यो लडाइँ लगातार १२ घन्टासम्म चलेको थियो। त्यस बेला माओवादीले आफ्नो शक्ति प्रदर्शनका लागि गरेको आक्रमणकै कारण बेनीबासीले ठूलो मूल्य चुकाउनु परेको थियो।
“त्यो रातमा फैलिएको अत्यासलाग्दो आवाज अझै पनि मेरो कानमा गुञ्जिरहन्छ,” नगरपालिका आँगनको त्यही छियाछिया खम्बा समाउँदै शान्तादेवी केसी भन्छिन्, “हामीलाई लागेको थियो, अब यो शहरमा कोही जीवित रहेका छैनन्।”
बेनी भिडन्तमा १९ सर्वसाधारण, १७ प्रहरी, १४ सैनिक र करिब ९० विद्रोही गरी कम्तीमा १४० जनाको मृत्यु भएको थियो। माओवादीले तत्कालीन प्रमुख जिल्ला अधिकारी र डीएसपीसहित ४० जनालाई युद्धबन्दी बनाएका थिए।
बेनी र अन्य धेरै ठाउँमा पड्किएका बम र बगेको रगतको जगमा तत्कालीन माओवादी २०६२/६३ को जनआन्दोलन मार्फत सत्तामा पुग्यो। त्यो विद्रोहमा युवा पुस्ताको आकर्षण थियो। युवाहरूले नै विद्रोहलाई उत्कर्षमा पुर्याएका थिए। तर अपेक्षाअनुसार काम गर्न नसक्दा अहिले अर्को युवा पुस्ता नयाँ आन्दोलनमा लाग्नु परेको शान्तादेवीको भनाइ छ।
पछिल्लो निर्वाचनमा सशस्त्र विद्रोह हाँक्ने तत्कालीन माओवादीकै विरासत बोकेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौँथो स्थानमा खुम्चिएको छ। बेनीको त्यो छियाछिया पोलले भने एउटा सन्देश दिइरहेको छ, “युद्धमा कसैले जित्दैन, केवल समाजले कहिल्यै नमेटिने खत मात्र बोक्छ।”
अहिले त्यो खम्बा बेनी घुम्न जानेहरूका लागि ‘पर्यटकीय’ बनेको छ। तर युद्धमा आफन्त गुमाएका पीडितका लागि त्यही खम्बाले घाउ बल्झाइरहेको छ। आफन्त सम्झाइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
