बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ, १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ, १५ सदस्यीय मन्त्रिपरिषद् गठन
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

शपथ ग्रहण कार्यक्रमअघि राष्ट्रपति कार्यालयमा ७ वटा शंखनाद भएको थियो। त्यसपछि १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता  शाह आजै संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री शाहले आजै १५ सदस्यीय मन्त्रिमपरिषद् गठन गरेका छन्।

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, उर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, सन्चार तथा सूचना प्रविधि मन्त्रीमा डा. विक्रम तिमिल्सिना, स्वास्थ्यमन्त्रीमा निशा मेहता नियुक्त भएका छन्।

त्यस्तै, शिक्षामन्त्रीमा सस्मित पोखरेल, पर्यटन मन्त्रीमा खडक पौडेल(गनेस पौडेल), कानुनमन्त्रीमा सोविता गौतम, श्रम तथा रोजगार मन्त्रीमा दीपक कुमार साह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि मन्त्रीमा गीता चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्त भएका छन्।