तुलसीले बाँसुरी बनेयताका ४५ वर्ष नेपाली फिल्मीजगत्मा बिताएका छन्। आफ्नो सपना, योजना र ऊर्जा सम्पूर्ण नेपाली फिल्ममै खर्चिएर यहीँबाट कहिले ताली र कहिले गाली पाइरहेको अवस्था उनका लागि जीवनको सम्झनुपर्ने क्षण बनिसकेको छ।
काठमाडौँ— नेपाली चलचित्र उद्योगमा दुई दर्जनभन्दा बढी चर्चित र स्थापित फिल्मका निर्देशक तथा अभिनेता तुलसी घिमिरेको पहिलो फिल्म थियो—बाँसुरी(२०४१)।
पश्चिम बंगालमा कालिम्पोङको सिन्देबुङ बस्तीमा जन्मे–हुर्केर कामदामको खोजीमा सन् १९७४ मा बम्बे छिरेका तुलसी अनेक संयोग र सपनामाझ नेपाल छिरेका थिए— नेपाली फिल्मका निर्देशक, प्रवर्द्धक बनेर। चलचित्र सम्पादनका प्रखर गुरु कमलाकर कारखानेसको चेला भएर बम्बेमा केही वर्ष बिताएका तुलसी आफ्ना गुरु कारखानेसकै आज्ञा र आदेशमा नेपाली चलचित्र बनाउने जगत्मा छिरेका थिए “शुरूमा गुरुजीले कम्तिमा १० वटा नेपाली फिल्म बनाउनु भनेर गुरुआज्ञा दिनुभएको थियो”, तुलसी सम्झन्छन्, “यो जगत्मा छिरेपछि अरूतिर फिर्न सकिनँ, निरन्तर नेपाली हुनुको गर्व र गौरवले साथ दिँदै लग्यो।”

गुरुआज्ञा मानेरै तुलसीले निर्देशन गरेका थिए— बाँसुरी, कुसुमे रुमाल, लाहुरे, अन्याय, देउता, चिनो, दुई थोपा आँसु, बलिदान, दर्पण छाया आदि। एकपछि अर्को हिट र सर्वप्रिय चलचित्र बन्ने क्रमको लहरमा गुरुदक्षिणा दिएसरह तुलसीको दशौँ फिल्म आएको थियो—दक्षिणा(सन् १९९४)।
तुलसीले आफ्नै रितको काम गरिरहँदा पनि र कामचलाउ शैलीमा आफ्नै परिवार–आफन्तको सञ्जालमा फिल्मी निर्माता/कलाकारको माहौल बनाइरहँदा पनि उनले बनाएका फिल्ममा सुनिने शब्द, संगीत र स्वर गजबकै लाग्छ। कुसुमे रुमाल होस् वा चिनो, हरेक स्रोता र दर्शकका मनमा तुलसी ब्रान्डका गीत–संगीत तनमनमा हलचल मच्चाउँदै आइरहेका हुन्छन्। “हो, फिल्मी जगत मेरो फ्यामिली–इन्डस्ट्री जस्तै रह्यो। ससुरा रञ्जित गजमेरको संगीत, भाइ श्रवण र श्रीमती, छोरीकै अभिनय वा यस्तै नातावाद भए पनि मैले काम र परिणाममा प्रश्न गर्ने धेरै ठाउँ राखेको छैन”, उनी भन्छन्।

तुलसीले नेपाली फिल्मजगत्मा उगेन छोपेल (तुलसीको कथा रहेको साइनो फिल्म निर्देशक), ड्यानी डेङजोक्पा (साइनो नायक), उदितनारायण झा (कुसुमे रुमाल नायक), सुनिल थापा (चिनो खलनायक), तृप्ति (कुसुमे रुमाल नायिका), निरुता सिंह, उत्तम प्रधान आदि कलाकार पनि भित्र्याएका थिए। “यो सबै बम्बेमा बसेर बनाएको साथीभाइ सर्कलको साथ–सहयोग पनि हुन सक्छ अथवा, केही नयाँ गर्ने हुटहुटी पनि हुन सक्छ,” तुलसीले उकालो संवादमा खुलाएका छन्, “अझ रोचक त धेरै वर्षअघि बनाएको ‘पहाड’ फिल्मको कथावस्तुमा आश्वस्त बनेर गायक नारायण गोपालसमेतले यसमा केही अभिनय गर्न चाहनुभएको थियो। तर, वर्षौंपछि मात्रै पहाड आउन लागेको छ।”
आगामी वैशाख १ बाट प्रदर्शनमा आउन लागेको ‘पहाड’ फिल्मको कथानकलाई तुलसीले नयाँनौलो मानेका छैनन्। रहर वा बाध्यताको बसाइँसराइले पहाड, गाउँघर र बस्ती उजाडिँदै गएको यो कथा उहिल्यै ‘मुना–मदन’देखि ‘बसाइँ’ वा ‘अनि देउराली रुन्छ’जस्ता विषयमा पनि आइसकेको स्वीकारोक्ति छ उनको। “तर, त्यही कथामा पनि समय अनुसारको मर्म भिन्न हुन सक्छ। हाम्रा रित्तिँदै गएका पहाडहरू फेरि पनि हराभरा हुनेछन्, हाम्रा युवाहरू बाहिरबाट भित्र आउनेछन् भन्ने सार मैले ‘पहाड’मा राखेको छु”, उनले सुनाए।

तुलसीले बाँसुरी बनेयताका ४५ वर्ष नेपाली फिल्मीजगत्मा बिताएका छन्। आफ्नो सपना, योजना र ऊर्जा सम्पूर्ण नेपाली फिल्ममै खर्चिएर यहीँबाट कहिले ताली र कहिले गाली पाइरहेको अवस्था उनका लागि जीवनको सम्झनुपर्ने क्षण बनिसकेको छ। “ताली, गालीसँगै यहाँ जालीहरू पनि उत्तिकै पाएको छु। तर, अब आएर यो सबै कुरामा बानी परिसकेको छु”, उनले सुनाए।
सन् १९८१ मा चार लाख ७५ हजार भारुमा बनेको ‘बाँसुरी’देखि आजको युगसम्म आइपुगेका छन् तुलसी, जहाँ उनले अझै पनि अझ नयाँ के गर्ने र अझ चिरस्थायी कस्तो विषय छान्ने होला भनेर खोतल्ने काम जारी छ। कसरी सक्दो थोरै पैसामा सबैभन्दा चल्ने फिल्म बनाउने भन्ने सोच राख्दै हुर्किरहेको नेपाली फिल्मीजगत्मा स्रोतसाधन बारेको सोचाइ र दायरा भने निकै संकीर्ण रहेको उनले बताए। ख्यातीका आधारमा वा संख्याकै हिसाबमा धेरै फिल्म बनाइयो भन्दैमा यसले महानिर्देशक वा महानिर्माताको हैसियत दिन नसक्ने स्वीकारोक्तिमाझ तुलसी भन्छन्—“मेरा गुरु सच्चिदानन्द परमहंसको भनाइ म सधैँ स्मरण गरिरहेको हुन्छु— हामी सधैँ जिउने तयारी गरिरहेका हुन्छौँ तर, जिउन भने सकिरहेका हुन्नौँ।”
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
