किसानले अव्यवस्थित रूपमा बनाएको काँचो मल बेचेरै मनग्ये कमाइरहेका छन्, तर यसलाई सुधार गरेर व्यवस्थित तरिकाले जैविक वा गड्यौला मल बनाउन सके मूल्य धेरै आउने र ओसारपसारमा पनि सहज हुने विज्ञ बताउँछन्।
म्याग्दी– पशुपालन भन्ने बित्तिकै सहजै बुझिने भनेको दुध र दुधजन्य पदार्थको कारोबारबाट गरिने आम्दानी हो। प्रायः पशुले उत्पन्न गर्ने गोबरलाई मलका रूपमा खेतबारीमा प्रयोग गरिन्छ। कतैकतै गुइँठा बनाएर बालिन्छ। तर म्याग्दीका अगुवा किसानले यही गोबरबाट मनग्ये आम्दानी गरिरहेका छन्।
बेनी नगरपालिका–७ टुनीखर्कका कृष्णप्रसाद आचार्यको ‘शर्मा कृषि तथा पशुपक्षी फार्म’मा २० वटा भैँसी छन्। उनले दुध बेचेर त आम्दानी गर्छन् नै, माघदेखि चैतसम्म तीन महिनामा गोबर बेचेरै ३ लाख नगद पनि हात पारे।
उनी पाकेको (कम्पोष्ट) मल ५० केजीको बोराको प्रतिबोरा १०० रुपैयाँका दरले बेच्छन्। आलो (कम्पोष्ट भई नसकेको) मल भने प्रतिबोरा ५० रुपैयाँमा बेच्छन्। जिल्लामा सुन्तला खेती विस्तार भएसँगै यस्तो मलको माग बढेको उनी बताउँछन्।
आचार्यले यस वर्ष पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला बगानमा मल बेचेर ५ लाख रुपैयाँभन्दा बढी कमाए। उनी भन्छन्, “दुध उत्पादन मुख्य पेसा हो, तर गाईभैँसीको मलमूत्रबाट हुने आम्दानी हाम्रा लागी अतिरिक्त कमाइ हो। गोबर बेचेर आएको पैसाले घाँसपात र दाना किन्न सकिएको छ, आफ्नो खेतबारीमा पर्याप्त प्रांगारिक मल पुगेको छ।”
बेनी–६ बाँसबोटका दुर्गा पौडेलले पनि यस वर्ष गाईभैँसीको मल बेचेर ३ लाख २० हजार कमाए। उनको गोठबाट उत्पादित मल म्याग्दीमा मात्र नभई, हिमालपारिको मुस्ताङका कृषकले पनि स्याउबारीमा राख्न लैजाने गरेका छन्। ट्याक्ट्रर र टिप्पर पुग्ने ठाउँमा व्यावसायिक फलफूल तथा तरकारी खेती गर्ने कृषकले मल लैजाने गरेको उनी बताउँछन्।
बेनी–५ चुत्रेनीका कृषक रमेश केसी पनि म्याग्दी, पर्वत र मुस्ताङसम्मका कृषकले गोबर र गहुँत लैजाने गरेको बताउँछन्। केसीले आफ्नै ट्याक्ट्ररमा मल र ड्रममा गहुँत भरेर व्यावसायिक सुन्तला र स्याउ खेती भएका ठाउँसम्म पुर्याई दिन्छन्।
दुध र दुधजन्य पदार्थ मात्र होइन मलबाट पनि पर्याप्त आम्दानी हुन थालेपछि कृषकहरू यसलाई ‘कालो सुन’ भन्न थालेका छन्। दुर्गा पौडेल भन्छन्, “गाइभैँसी पाल्न शुरू गर्दा गोबर बेच्ने कल्पना नै थिएन। बिस्तारै गाउँघरमा पशुपालन गर्नेको संख्या घट्दो र व्यावसायिक फलफूल खेती गर्नेको संख्या बढ्दो हुन थालेपछि गोबर र गहुँतले पनि भाउ पाएको हो। अहिले गोबर ढिक्का सुन, गहुँत झोल सुनजस्तो भयो।”
पशुपालक कृषकहरुले गाईभैँसीको गोबर बेचे पनि धेरैले गहुँत भने आप्mनै खेतबारीमा प्रयोग गर्छन्। केहीले पशुपालन नगरेका कृषकसँग घाँससँग प्रांगारिक मल साट्ने गरेका छन। एउटा वा दुईटा मात्र चौपाया पाल्ने किसानलाई आफ्नो खेतबारीमा मल अपुग हुने हुँदा धेरै पशु पाल्ने कृषकबाट मल लैजाने र घाँस दिने गर्छन्।
गाईभैँसीको मात्र नभएर बाख्राको मल (झुत्तो) पनि बिक्ने गरेको छ। ५० केजीको बोरामा प्रतिबोरा २५० रुपैयाँका दरले झुत्तो र कुखुराको सुली प्रतिबोरा १०० रुपैयाँका दरले बिक्री हुन्छ। घरमा ८–१० वटा बाख्रा, २–३ वटा भैँसी र एक हल गोरु पाल्नेले पनि बर्षमा ४०–५० हजारको मल बेच्ने गरेका छन्।
बेनी–४ डाँडाखेतका महेन्द्र बानियाँको बाख्रा फार्म छ। उनले आफ्नै बारीमा पुग्दो झुत्तो प्रयोग गरी वार्षिक २ लाख रुपैयाँभन्दा बढीको बेच्ने पनि गरेका छन्। उनी भन्छन्, “असोज–कात्तिकमा आलु रोप्ने बेला, मंसिरमा गहुँ छर्ने बेला र फागुन–चैतमा मकै रोप्ने बेला मलको माग आउँछ।”
गोबरबाट बन्ने जैविक मलले जमिनको उर्वराशक्ति बढाउँछ। जनावरहरुले उत्सर्जन गरेको मलमूत्र साथै रुखबिरुवाको पतिङ्गर तथा हरियो डालो कुहाएर जैविक मल बनाइन्छ। बेनी नगरपालिकाका पशुचिकित्सक डा. आशीष सापकोटाका अनुसार, गोबरमलमध्ये गाईको मललाई सबैभन्दा राम्रो मानिन्छ। बाख्रा र कुखुराको मल प्रयोग गर्दा भने अनुपात मिलाउन सक्नु पर्छ।
कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाका अनुसार, अहिले कृषकले अव्यवस्थित काँचो मल बेच्ने र प्रयोग गर्ने गरिरहेका छन्। त्यसलाई ‘भर्मिकम्पोष्ट’ (गड्यौला मल) बनाएर बेच्न सके मूल्य धेरै हुन्छ र बोकेर खेतबारीमा लैजान पनि सजिलो हुन्छ। गहुँतलाई भने मलका रूपमा मात्र नभई असुरो, तीतेपाती हालेर जैविक विषादीको रूपमा पनि उपयोग गर्न सकिन्छ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमका अनुसार, परम्परागत भकारोलाई सुधार गरी र मलमूत्रबाट जैविक मलको व्यावसायिक उत्पादन गर्न पनि सकिन्छ। यस्तो मल उत्पादनमा भौगोलिक अवस्थाले भने असहज बनाएको छ। भिरालो र कान्लामा मलमूत्रका लागि छुट्टाछुट्टै भण्डारण गर्न, ‘कम्पोष्टिङ्ग प्लान्ट’ बनाउन समस्या हुन्छ।
गौतम भन्छन्, “परम्परागत खाडलमा गोबर थुपारेर बनाइने हिलो मलभन्दा उन्नत विधि अपनाउन सके माटोको उर्वराशक्ति बढ्नुको साथै कृषकको आम्दानी बढ्छ। त्यसका लागि भर्मिकम्पोस्टिङ मल र जापानी प्रविधिमा आधारित बोकासी मल बनाउन सके छिटो कुहिने र कम गन्ध आउने हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
