घोडेपानी जोड्ने सडक मर्मत गर्न समुदायको श्रमदान

म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्डमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न स्थानीय बासिन्दाले श्रमदान अभियान शुरू गरेका छन्।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्ड मर्मतका लागि आजदेखि समुदायस्तरबाट श्रमदान अभियान सञ्चालन गरिएको छ। पोखरेबगर–घोडेपानी सडकको लुलिया घुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले स्वतःस्फूर्त रूपमा मर्मत थालेका हुन्।

आज पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ७८ जना श्रमदानमा सहभागी भएको पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए। अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण गरिएको छ भने १५ मिटर दूरीमा ढुङ्गा बिछ्याएर सोलिङ बनाइएको छ। थप कामका लागि सोमबार पनि श्रमदान अभियानलाई निरन्तरता दिइने अध्यक्ष खड्काले बताए।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय युवा राजाराम बरुवाल, विपिन बरुवाल र रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतको काम अघि बढेको हो। सडक मर्मतका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ भने यातायात व्यवसायीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

लुलिया घुम्ती र हल्लेखर्क पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयका साथै घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको छ। पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेकाले ती ठाउँमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने र दुर्घटना हुने समस्या बढेको स्थानीय बताउँछन्।

सङ्घीय सरकारले बजेट विनियोजन गरेको आयोजना कार्यान्वयनमा ढिलाइ भएपछि जोखिम न्यूनीकरणका लागि समुदायस्तरबाट अस्थायी मर्मत थालिएको वडाध्यक्ष खड्काले बताए। “लुलिया घुम्ती र हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा ढिलाइ गर्दा सास्ती बढेको छ,” उनले भने, “दीर्घकालीन समाधानका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यालयले बेवास्ता गर्दा आयोजना कार्यान्वयनमा अन्योल सिर्जना भएको हो।”

अहिले घोडेपानीका वनपाखा लालीगुराँसले रङ्गिएका छन्। कास्कीको बिरेठाँटी–उल्लेरी हुँदै पनि घोडेपानी सडकले जोडिएको छ। लालीगुराँसको जङ्गल र पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको अहिले घुइँचो लागेको छ।