पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशियामा बढ्दो भू-राजनीतिक अस्थिरताका कारण हवाई इन्धनको मूल्यवृद्धि र ट्रान्जिटको अन्योल उत्पन्न हुँदा नेपालको मुख्य पर्यटकीय याममा विदेशी पर्यटकको आगमन प्रभावित भएको छ।

काठमाडौँ– पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको असर नेपालका अन्य क्षेत्रका अतिरिक्त पर्यटन क्षेत्रमा पनि देखिएको छ।

अमेरिका, इजरायल र इरानमा जारी द्वन्द्व र अस्थिरताको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको हो। नेपालमा पर्यटकीय याम शुरू भए पनि पश्चिम एशियामा जारी तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले भ्रमणको योजना पछि सारेका छन्।

नेपाल एशोसियसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सिएन पाण्डे पश्चिम एशियाको समस्याले संयुक्त अरब इमिरेट्स, कतार र टर्की जस्ता ‘ट्रान्जिट प्वाइन्ट’ मा समेत तनाव बढेको बताउँछन्। यसका कारण उडान अनिश्चित हुँदा नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको उनले बताए।

एकातिर उक्त द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ भने अर्कातिर नियमित र छोटा उडान पनि अव्यावहारिक र निकै लामो एवं झन्झटिलो ट्रान्जिटका साथ हुने गर्नाले उडान पनि कम हुने गरेका छन्। यसरी पर्यटकीय सिजनको मुखमा हवाई इन्धनको मूल्य बढ्दा टिकटको दरसमेत उच्च भएका कारण नेपालमा अपेक्षाअनुसार पर्यटक आउन नसकेको पाण्डेको भनाइ छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को मार्चको तुलनामा सन् २०२६ को मार्चमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ। सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ भित्रिएका छन्। भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्र फेरि पश्चिम एशियाको द्वन्द्वको मारमा परेको हो।

क्याथे प्यासिफिक एयरलाइन्स नेपालकी प्रमुख जुनु मलेखु इन्धनको मूल्य बढेसँगै हवाई टिकट महँगिँदा यात्रुलाई ठूलो समस्या परेको बताउँछिन्। "द्वन्द्व शुरू हुनुअघि नेपाल–हङ्कङ–नेपाल उडानको ८० देखि ८५ हजार भाडा लाग्ने गरेकामा अहिले १ लाख ५ हजार पुगेको छ। यसले गर्दा अनिवार्य भ्रमण गर्नुपर्ने बाहेक अन्यले टिकट रद्द गरेका छन्," उनी भन्छिन्।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कुमारमणि थपलिया हवाई इन्धनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको बताउँछन्। उनी भन्छन्, "हवाई भाडा बढ्दा यसको असर लामो समयसम्म पर्छ कि भन्ने चिन्ता थपिएको छ।" युरोप र अमेरिकालगायत मुलुकमा नेपालको सीधा हवाई सम्पर्क नहुँदा पर्यटकमा अन्योल थपिएको छ, जसका कारण होटल बुकिङ र ट्रेकिङ प्याकेजमा प्रत्यक्ष असर परेको छ।

होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुयाँल पर्यटकीय यामको मुखमा धमाधम होटल बुकिङ रद्द हुँदा व्यवसायी मारमा परेको बताउँछन्। मध्यपूर्वको तनाव दीर्घकालीन रूपमा रहिरह्यो भने नेपालको पर्यटन पुनरुत्थानमा थप चुनौती थपिन सक्ने उनको बुझाइ छ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमला गत वर्षको तुलनामा यसवर्ष ठमेल आउने पर्यटक घटेको बताउँछन्। ठमेलमा होटल सञ्चालन गरिरहेका धमलाका अनुसार पर्यटकीय सिजनमा समेत होटलमा जम्मा ५० देखि ६० प्रतिशत मात्र ‘अकुपेन्सी’ छ। ठमेलका गल्लीहरूमा पनि गत वर्षभन्दा यस वर्ष कम पर्यटक देखिएका छन्।