कविलाई नभेटीकनै ‘बैरागी काइँलाको लास’ कविता लेखेको थिएँ: श्रवण मुकारुङ (भिडियोसहित)

२०६२/६३ को आन्दोलनका क्रममा ‘बिसे नगर्चीको बयान’मार्फत आन्दोलनकारी कविको छायाछवि बनाएका मुकारुङ कवितामा उब्जने विद्रोह र निराशाका भावहरू सधैँ यथावत् रहने बताउँछन्।

काठमाडौँ– वर्षौँसम्म कवि–गीतकारको चिनारीमा बाँधिएर हालै मात्र आख्यानकार बनेका भोजपुरे लेखक श्रवण मुकारुङले कवि-लेखकले पाउने नाम तथा इज्जतको लोभ गर्दै आफू लेखन दुनियाँमा छिरेको बताएका छन्।

भोजपुरको दिल्पा गाउँबाट ४० वर्षअघि काठमाडौँ छिरेका मुकारुङको ‘सलह’ उपन्यास चर्चामा रहेकै बेला उनले आफ्नो कविता लेखनका आदर्श र पूर्णकालिक कवि हुनुको आनन्दका बारेमा अनुभव सुनाएका छन्। मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘बिसे नगर्चीको बयान’, ‘सुन रे सियाराम’ लगायतका कविता-गीतसंग्रह प्रकाशित छन्।

आफ्ना कवितामा कवि बैरागी काइँलादेखि मोहन कोइरालासम्मको व्यक्तिचित्र उतार्न पाउनुलाई संयोग र सौभाग्य मान्ने स्रष्टा मुकारुङले गद्य कविताको क्षेत्रमा मोहन कोइराला अतुलनीय रहेको बताए। भोजपुर–चतराको भीर–पहरामा नुन-तेल र जस्तापाता बोक्ने भरियाझैँ आफूले कोइरालालाई ‘कविताको भरिया’ मान्दै आएको उनले सुनाए। “आफैँमा विशाल भव्यता भएका कवि हुन् मोहन कोइराला। तिनै विशाल कविको योगदान र भूमिका सम्झेर मैले एउटा भरियासँग तुलना गर्दै उनका बारेमा व्यक्तिचित्र झल्कने कविता लेखेको थिएँ,” मुकारुङले सम्झे।

उनले अर्का कवि बैरागी काइँलाबारे पनि ‘बैरागी काइँलाको लास’ शीर्षकमा कविता लेखेका छन्, जसलाई स्वयं काइँलाले पनि मन पराएका रहेछन्। “काइँला अझै जीवित हुनुहुन्छ। तर मैले एउटा भिन्न संवेदना र प्रभावमा परेर उहाँमाथि कविता लेखेको थिएँ। उहाँलाई भेट गर्नै नपाई मेरो सपना र कल्पनाको काइँलामाथि त्यो कविता लेखेको थिएँ,” उनले‍ सुनाए।

२०६२/६३ को आन्दोलनका क्रममा ‘बिसे नगर्चीको बयान’मार्फत आन्दोलनकारी कविको छायाछवि बनाएका मुकारुङ कवितामा उब्जने विद्रोह र निराशाका भावहरू सधैँ यथावत् रहने बताउँछन्। बिसे नगर्चीको बयान कवितामा राजनीतिक चेतना र ‘टाउको फन्फनी घुमिरहेको’ बिम्ब उतार्ने उनी अहिले पनि मुलुकको स्थिति हेर्दा त्यस्तै विद्रोहको राय सुनाउँछन्। “यस्तो अवस्था रहिरहन्छ। यसका रूप बदलिन्छन्, भाव रूपान्तरण होला तर विद्रोही चेतना यथावत् रहिरहन्छ,” मुकारुङ भन्छन्।