सबैले बरु बिर्सिए आफ्नो पैतालाको काँडा झिक्न, तर बिर्सेनन् देश जोगाउन र देश बढाउन। हामीले पढ्ने इतिहासमा ती अनेकन मान्छेको परिचय र अनुहार अध्यावधिक छँदैछैन, भए पनि चिन्नै नसकिने र पढ्नै नसकिने धमिलो छ।
गहिरोसँग पढ्यो भने इतिहासमा हाँसोभन्दा रोदन र सुखभन्दा दुःख ज्यादा हुन्छ। यो इतिहासबारे स्थापित मान्यता हो।
इतिहासमा भएका त्यस्तै लडाइँ, संघर्ष, बिछोड र दुःखका सुस्केराहरूलाई बढाइचढाइ नगरिकन लेखिएको सुन्दर आख्यान हो अज्ञात।
इतिहासमा आधारित यो उपन्यासमा केवल इतिहास मात्र हेरेर पुग्दैन र कथा मात्र पनि छैन। आफ्नो पहिलो कथा कृति ‘अर्को भोर’मार्फत २०७८ सालमा पद्मश्री साहित्य पुरस्कार जितेका लेखक केशवराज ज्ञवालीले इतिहासको समयरेखाका पर्खालहरू नभत्काइकन कल्पना र साहित्यको मुलायम लेप लगाएर गजब र बलियो किल्ला खडा गरेका छन्।
उपन्यासले अंगालेको सबैभन्दा मजबुत पक्ष यसको प्राविधिक पाटो हो। इतिहास जस्तो निरस विषयलाई उपन्यासको मूल विषय बनाएका लेखक ज्ञवालीले निक्कै मीठो भाषामार्फत घटनाक्रमको सजीव चित्र उतार्न सफल भएका छन्।
इतिहास केन्द्रित उपन्यासको विमर्श गर्दा प्रायः खड्किने विषय हुन्– समय, घटना, पात्र र परिवेश। यी कति हदसम्म वास्तविक छन्? तथ्यसँग कति मेल खान्छन्? लेखकले आफ्नो सजिलोका लागि वा चर्चा कमाउने नाममा तथ्यलाई आफूखुसी विनिर्माण त गरेका छैनन्? कल्पना (लेखकको निजी क्षमता), तथ्यको सन्तुलन र तादम्य कस्तो छ? यी सबैखाले सन्देहलाई ‘अज्ञात’ले गौँडा गौँडामा छिचोलेको छ।
स्पष्ट समयसीमा तोकेर अज्ञातले मूलकथा चर्चेको छ। गोरखा राज्यको विस्तार गर्दै पृथ्वीनारायण शाहको शासन चार भञ्ज्याङ तरेर काठमाडौँ उपत्यका टेकेदेखि सुगौली सन्धिमा गएर नेपालको अन्तिम सीमा अडिनु अघिसम्म नेपाल (राज्य र जनस्तर दुवै) को एउटै लक्ष्य थियो– एक पाइला बराबर भए पनि देशको सीमा विस्तार गर्ने। सम्भवतः राज्य र जनताका तर्फबाट कुनै एउटा ध्येयका लागि यति दत्तचित्त भएर श्रम, रगत–पसिना मिसाएको कुनै अर्को कालखण्ड छैन।
लेखक ज्ञवालीले राज्य विस्तारको सात दशक लामो अभियानमध्येको ३० वर्षलाई आख्यानको आधारभूमि बनाएका छन्। अर्थात्, गोरखा राज्यले गुल्मी आक्रमणबाट पश्चिम फैलिन पाइला चालेको संवत् १८४३ देखि नालापानी युद्धको उत्कर्ष संवत् १८७१ सम्मको कठोर कालखण्डमा ‘अज्ञात’ अडिएको छ। उपन्यासले ओगटेको समयरेखा भलै पुगनपुग तीस वर्षको भए पनि खासमा यो आख्यानको बीज कुनै बखतको सानो र गरीब गोरखा राज्यका युवराज (पृथ्वीनारायण शाह)को ‘नेपाल एकीकरण गरि छाड्ने’ प्रेरणादायी प्रस्थान बिन्दु हो।
एकीकरण अभियानको बीज त पृथ्वीनारायण शाह होलान्, तर एकीकरण र ढुंगो (राज्य) विस्तारको कष्टसाध्य र लामो यात्रामा हजारौँ, लाखौँ योद्धाहरूको खुन–पसिना मिसिएको ऐतिहासिक सत्य हो। उपन्यासको सुन्दर खासियत यो छ कि, लेखकले हामीले आजका दिनमा ‘नेपाल देश’ भनेर माया गर्ने, वा ‘हाम्रो समाज’ भनेर गौरव गर्ने यो आधुनिक देश वा समाज बन्दै गर्दा सामान्यतः चर्चितभन्दा ओझेलमा परेका, नामचिनभन्दा गुमनाम, ज्ञातभन्दा ‘अज्ञात’ पात्रको योगदान धेरै थियो भन्ने कुराको आख्यानिक इतिहास उतारेका छ्न्।
खुला समाज, आधुनिकता र उन्नत लोकतान्त्रिकको वर्तमानमा त राज्यसत्ता र शक्ति करिब केन्द्रीकृत छ भने, अढाई सय वर्षअघिको नेपालमा राजा र रैतीको दूरी कति फराकिलो हुँदो हो? लेखक ज्ञवालीले इतिहास छिमल्दा सुगम भन्दा दुर्गम बाटो रोजेका छन्। केन्द्रले बिर्सिएको किनारा खोजेका छन्। अनि, इतिहास ‘चढ्न सक्नेको घोडा हो’ भन्ने नमिठो यथार्थलाई तथ्य र कल्पना दुवै कोणबाट सक्दो विनिर्माण गरे। ज्ञात हुनैपर्ने ‘अज्ञात’हरू नायक बने।
राजनीतिक कोणबाट हेर्दा निःसन्देह राज्यलाई कसैले नेतृत्व गरेको हुन्छ। जस–अपजसको पहिलो भागिदार नेतृत्व नै हुन्छ। तर हामीले गर्वका साथ आफ्नो भनेर अंगिकार गरेको राज्य, सीमा र सामर्थ्यलाई अड्याई राख्ने त रैतीले नै हो। रैतीले नै ढुंगोको सीमानालाई ‘एक टुक्रा माटो’ मात्र नठानी आफ्नै आमा बराबर दर्जा दिएकैले त राज्य थामिइरहने हो। नदेखिने बलिया जराले विशाल पिपल वृक्षलाई हावा, हुरी र पहिरोबाट जोगाएझैँ अनेकन भुईंमान्छेले देशको मान र माटो जोगाएका हुन्छन्।
मुलुक निर्माण र रक्षार्थ हामीले सुन्दै र पढ्दै आएको ‘मेरा साना दुःखले आर्ज्या मुलुक होइन’ भन्ने मान्यतालाई लेखक ज्ञवालीले यो उपन्यासमा विस्थापित गरेर ‘हाम्रा साना दुःखले आर्ज्या मुलुक होइन’ भन्ने यथार्थको प्रत्यारोपण गरेका छन्। आफ्नो काँधबाट कमारो हुनुको दुःख फालेर आमा खोज्दै हिँडेको एउटा अनाथ पात्र मन्या, जो तिलंगा बनेर देशका लागि लडेको छ र नालापानी युद्धमा जनरल जिलेस्पीको मुटु छेडेको छ।
जनरल जिलेस्पीलाई दागा धर्ने त्यही बन्दुक हो, जसलाई मन्याले चलाएको थियो। मन्याले समग्र उपन्यासको नायकीय भार उठाएको मात्र छैन, आवेग, संवेग र सहानुभूतिको हरेक चरणमा संयक बनेर उभिएको छ। अनेक प्रारब्धले झन्डै अज्ञात र अनाम बनेको मन्या उपन्यासको नायक हुनुले पनि साँचो अर्थमा लेखकले महान आख्यानमा ‘महान नायक’ हुनुपर्ने परम्परा र रूढलाई अस्वीकार गरेका छन्। ‘अज्ञात’लाई ज्ञातको आँगनमा उभ्याउन लेखकले गरेको यो इमानदार प्रयासले आख्यानलाई साँचो अर्थमा ‘प्रगतिवादी’ बनाइदिएको छ।
प्रष्ट तिथिमिति र ठोस रूपमा इतिहासको चौघेरा तोकेर लेखिनु उपन्यासको प्राविधिक शक्ति हो। उपन्यास भए पनि ‘अज्ञात’मा पञ्च महाभूतको बिम्बात्मक प्रयोगले ऐतिहासिक कथालाई भौतिक यथार्थ र दार्शनिक अर्थबीचको सेतुको काम गरेको छ। इतिहासलाई केवल घटनाक्रमको एकसरो फेहरिस्तका रूपमा होइन, राज्यको शक्तिशाली तख्ता र भूईं तहका मान्छेबीचको वास्तविक अन्तरसम्बन्धभित्र अल्झिएको अस्तित्व, संघर्ष र समर्पणका कथालाई मुलायम भाषामा पुनर्जागरण गराएका छन्।
मन्याकी आमा आफ्नो छोरोलाई कमारो नतुल्याउने शर्तमा आफू कमारी बनेर बेचिएकी थिइन्। छोरालाई स्वतन्त्र राख्न आफू बेचिएकी आमालाई खोज्ने र आमाको दासत्व ‘अमलेख’ गर्ने केवल एक सूत्रीय अभिष्ट बोकेर मन्या चन्द्रभङ्गाको चिसो भङ्गालोमा हेलिएको थियो। तर प्रारब्धले मन्यालाई निकै लामो बाटो हिँडाउँछ। यसरी हिँडाउछ कि, कोख र काख दिने आमालाई खोज्दा खोज्दा पैताला अडिएको ‘देश–आमा’लाई पो सेवा गर्न पुग्छ। आमाविहीन अपसादमा कतै किनारामा बसेर निम्छरो जीवन बाँचेको एउटा कमारो ठिटो नायक बन्दासम्मको यात्रा साँच्चिकै शक्तिशाली छ।
यो कथा त्यो बेलाका राजा र रैती दुवैको हो। तर कथाको पूर्ण सहानुभूति भने डर नचिनेका, इमान नबेचेका र स्वाभिमान सग्लो राखेका करिब ५२ लाख रैतीको पक्षमा छ। यो दुनियाँमा यदि सरहदको थिती नहुँदो हो त बेल्लै कुरा, सरहद र सीमाको कुरा आइसक्दा जनता ‘बाँध’ र ‘साँध’ दुवै हुन्। जनता ‘जग’ हुन्। जनताबाट छाँटिएर, खारिएर कति भरिया बने, झराली, हुलाकी, ढाक्रे, उम्रा बने। चेवा, अमली, तिलङ्गा, सिपाही बने। ती सबै सबैले बरु बिर्सिए आफ्नो पैतालाको काँडा झिक्न, तर बिर्सेनन् देश जोगाउन र देश बढाउन। हामीले पढ्ने इतिहासमा ती अनेकन मान्छेको परिचय र अनुहार अध्यावधिक छँदैछैन, भए पनि चिन्नै नसकिने र पढ्नै नसकिने धमिलो छ।
‘अज्ञात’मा लेखक केन्द्रदेखि किनारासम्म डुलेका छन्। राजधर्म र रैतीको हितभन्दा निजी आनन्दमा मखलेल तत्कालीन राजा रणबहादुर शाहको सौख र शैलीलाई आख्यानमा जीवन्त उतारेका छन्। एक बित्ता भए पनि देश जोड्न र जोगाउन आफ्नो ज्यान र भविष्यको वास्ता नगरी लडेका जनता र सिपाहीले राजा र राज्यको आड भरोसा पर्खेको बेला दरबारभित्र ‘यौन र विलास’ बढाउन गोहीको जिब्रो खानुपर्ने दुरुह मागफारम जारी हुने दृश्यले इतिहासको कोक्याउने पाटोलाई छुन्छ।
देशभक्त भैकन पनि बहादुर शाह इतिहासका ‘अभागी’ पात्र हुन्। उनै बहादुर शाहले ‘अज्ञात’मा न्यायपूर्ण स्थान पाएका छन्। संवत् १८४३ माघमासे दिनगता १० को तिथि मिति तोकेर शुरू हुने बहादुर शाह खण्डले कारुणिक र रौद्र दुवै बनाउँछ।
बहादुर शाह र पाल्पाकी राजकुमारी विद्यालक्ष्मीबीचको विवाह र प्रेमको गठिलो वर्णन उपन्यासमा छ। पाल्पाकी राजकुमारीसँग बहादुर शाहको विवाह केवल संयोग मात्र थिएन, गोरखा राज्य विस्तारको रणनीतिक हिस्सासमेत थियो। यो विवाहले विद्यालक्ष्मीलाई त अवला बनायो नै, उनको माइती राज्य पाल्पालाई समेत पिर्यो।
बहादुर शाहको केन्द्रीय शक्ति देशप्रेम हो। राष्ट्रको एकता, सुरक्षा र गौरवका लागि उनले देखाएको प्रतिबद्धता उच्च आदर्शको प्रतीकका रूपमा लेखकले उधिनेका छन्। देशप्रेम र स्पष्ट दृष्टिकोणका कारण बहादुर शाह आफ्नै भतिज राजा रणबहादुर शाह र दरबारभित्रका स्वार्थी शक्तिहरूको आँखामा काँडो बन्छन्।
वंशपरम्परामा जेलिएको राजकाजमा काबिल काका बहादुर शाह कसरी राजा भएका कलिला र सनकी भतिज रणबहादुर शाहबाट कजिनु र मारिनु पर्छ भन्ने सन्दर्भ साँच्चै रुवाउने खालकै छ। यद्यपि, बहादुर शाह इतिहासको ज्ञात पात्र हुन्। इतिहासका अनेकन दस्ताबेजमा बहादुर शाहलाई पढ्न पाइन्छ। तर बहादुर शाह उपर यति समानुभूत र संयक न्याय चाहिँ ‘अज्ञात’ले नै गरेको छ सायद।
तर उपन्यासको ‘शिर–पाउ’ मन्या र भूदास हुन्। ‘मर्छु या तर्छु’ भन्दै गढवाललाई पीठ फर्काएर चन्द्रभङ्गामा हेलिएको मन्या निसास्सिएरै बिलाउँथ्यो, यदि कुनै ‘गोसाई’ले चुल्ठोमा समातेर नतारेको भए। गोसाई भेट हुने त्यही चन्द्रभङ्गा संयोगबाट मन्याको नयाँ जीवन शुरू हुन्छ।
परिवारलाई छोडी हिँड्ने आफ्नो लापरवाह बाबुलाई भेट्न मात्र पाए कठालोमा झुन्डिनेझैँ गरी आगो बोकेर हिँडेको मन्या बाबु गोविन्दे खवासलाई भेट्नासाथ सितांग हुन्छ र शुरू हुन्छ गोविन्द खवासले झेलेको चिसो कथा। त्यहीबाट शुरू हुन्छ आख्यानको चुरो।
हरका पैरीमा गोविन्द खवासलाई विसर्जन गरेसँगै एक ठाउँमा अडिन छोडेर मन्या हिँड्छ। हिँडिरहन्छ। भूदासको पदचाप पछ्याउँदै र दुखावत कथाहरू बिदाइको मालाझैँ जोडिँदै जान्छन्। आख्यानमा कथा, उपकथा अलिकति पनि लय बिगारेर उफ्रिदैनन्। मन्या र भूदास कर्णाली तर्छन्। प्युठान पुग्छन्।
प्युठानले उपन्यास वाचनलाई फराकिलो त बनाउँछ नै, त्यस बखत प्युठानको सामरिक शक्तिको पनि राम्रोसँग वर्णन छ। आफ्नो सारा काम बिताएर एकै बोलिमा राजाको काम गर्न आउनेले आखिर के पाउँदा हुन्? सोच्ने बनाउँछ। प्युठानमा मन्या र भगीबीच एउटा प्रेमफूल पुष्पित गराएर लेखकले मिठो सुगन्ध छाडेका छन्।
उपन्यासको अर्को बिसौनी रिडी हो। बहादुर शाह–विद्यालक्ष्मीको वियोगान्त कथा उप्किँदा रिडीको चिसो सिरेटो साक्षी बन्छ। भूदास चरित्रको बिस्तारै रहस्योद्घाटन, मन्याका काँधमा थपिँदै गएका परिबन्धसँगै उपन्यासको उत्कर्ष शुरू हुन्छ।
आमा खोज्ने र भेटाउने तिर्खा बोकेर हिँडेको मन्याले गुल्मीको शान्तिचौरमा भेटेकी उदास कमारीसँग खुलेर आँखा जुधाउन नसक्नु तर बन्दुक समात्न नालापानी पुग्दा बल्ल थाहा हुनु, आमा त उनै हुन्। यहाँ मन्याप्रति असाध्यै सहानुभूति जाग्ने दृश्य निर्माण गरेका छन् लेखकले।
दामोदर कुण्डबाट गण्डकीको धमिलो भेलसँगै अनेक बगर, भित्ता र पिँधमा ठोक्किँदै बग्दै आएको चिल्लो शालिग्रामझैँ खारिएको मन्या जब उसले कल्पना गरेभन्दा फरक मान्छे र दरबार भएको काठमाडौँ खाल्डो र मुख्तियारको चौखटसम्म आइपुग्छ, आगोको बीउ बन्छ।
यसै पनि उपन्यासको क्यानभास ठूलो छ। ब्रिटिश शासकविरुद्ध भारतको भेल्लोरमा भएको पहिलो सिपाही विद्रोहको ‘एउटा पात’ समेत जोड्दा आख्यान अझ फराकिलो बनेको छ। भूदास जस्ता पात्रलाई लामो समय रहस्यमय तरिकाले हिँडाएर गोपालको वास्तविकता मार्फत कथालाई नयाँ मझेरीमा लैजाने शैलीले लेखकको निजत्वलाई उचो बनाएको छ।
मन्यालाई पश्चिम लडाइको ढोकामा पुर्याउनुअघि आख्यानले गोपाल र मन्याको अन्तरद्वन्द्वसहित केही तर्क उभ्याउँछ। जस्तो, “पूर्वदेखि पश्चिम कुनासम्म बसेका मान्छेले पेट काटेर तिरेको अधियाँ, पसिना र रगत यता आउँछ। तर यताबाट केही फर्केर जाँदैन।”
“आफ्नो ठाउँ भन्नुको मतलब आफूले स्वीकार गरेको घेरा हो। त्यो घेरो सबैका लागि अलग अलग हुन सक्छ। तर जहिलेसम्म त्यो घेराको व्यवस्थामा आफ्नोपन हुन्छ, एउटा सम्भावना बाँकी रहन्छ। तिमीहामी जस्ताका लागि राज्य भन्नु त्यही एउटा सम्भावनाको नाम हो।”
यस्ता संवादले आख्यानको वैचारिकी प्रष्ट पार्न विराट पर्वको काम गरेको छ। शासक निष्ठुर भए पनि ‘घेरो’ अर्थात्, देशको माटो आमा समान हो। आमालाई पुज्नु र जोगाउनु स्वःधर्म हो भन्ने मनोविज्ञान स्थापित गराएर मन्यालाई नालापानीतर्फ हिडाउँदासम्म उसको चरित्र निर्माण सिंगो उपन्यासलाई जुरुक्क उठाउन सक्नेगरी बनिसकेको हुन्छ।
के उस बखतका शासकले इच्छ्याएको भए वा बुद्धि लगाएको भए नालापानी युद्ध टार्न सक्थे? टारेको भए के आज पनि हामी ‘नेपालको सीमा पूर्वमा टिस्टा र पश्चिममा काँगडा’ भन्न पाउथ्यौँ?
सम्भावनाको छुट आख्यानलाई छ , इतिहासलाई छैन। यद्यपि, ‘अज्ञात’का लेखक मनखुसी बग्न पाइने कल्पनाका भंगालाहरूलाई छेउ छोडेर तथ्यपरक इतिहासकै मूलबाटो हिँडेका छन्। उपन्यासको उठानदेखि उत्कर्षसम्म कहीँकतै तथ्य र कल्पनाको बेमेल देखिँदैन। उपन्यासको उत्कर्ष नालापानी लडाइँ हो। ‘अज्ञात’ पढ्दैगर्दा हामीले नालापानी युद्धको इतिहासमा पढेका अनेकन चर्चित नामहरूको लावालस्करअघि मन्या उभिन आइपुग्छ। लेखकले त्यही मन्या चिनाइदिए, जो बितेका २१० वर्षसम्म कसैले चिनेनन्।
नालापानी युद्धको दृश्यवर्णन पढ्दै गर्दा ठूलो पर्दामा सिनेमा हेरेझैँ सचित्र लाग्छ। त्यति मात्र होइन, ‘अज्ञात’लाई आकार दिने मसिना कथा धेरै छन्, तर कुनै कथा पनि अतिरिक्त लाग्दैनन्। ऐतिहासिक उपन्यास हुनुको मतलब निरस र पट्यारलाग्दो इतिहास विवरण छैनन्।
इतिहासले नलेखेका र नदेखेका पात्रहरूलाई केन्द्रमा राखेर त्याग, स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा लेख्ने ज्ञवालीको शैली शक्तिशाली अमेरिकी आख्यानकार हवार्ड फस्टसँग तुलना गर्न लायक छ। यो उपन्यासको मन्या अज्ञातहरूको ‘आदि विद्रोही’ झैँ लाग्छ।
मन्या इतिहासको नयाँ नायक हो र मन्या हिँडेको बाटो इतिहासले चिन्नैपर्ने नयाँ गोरेटो हो। यस अर्थमा पनि ‘अज्ञात’लाई सिर्जनात्मक ऐतिहासिक उपन्यासको उपल्लो कोटीमा राख्न मिल्छ।
‘अज्ञात’मा अज्ञातहरूको मझेरीसम्म पुग्न ने मुनिले आग्लो उघार्छन्। इतिहासलाई मिथकीय चेतनासँग जोडेर आख्यानको फ्रेम तयार गर्ने यो शैली मीठो छ। यो देशको नाम ‘नेपाल’ रहनुको अन्तर्यमा मिथक र इतिहास दुवै पाटो जोडिन आउने पात्रको नाम हो ने मुनि। उनैले ‘अज्ञात’लाई ‘जुम इन’ र ‘जुम आउट’ गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
