विजय–बालेन समान रणनीतिबाट सफल

हिजोका दिनमा फिल्म क्षेत्रमा रहँदा विजयको स्वभाव आजको भन्दा फरक थिएन। उनका अन्तर्वार्ता खासै भेटिँदैनन्। बरु, आफ्ना विचार प्रायः सोसल मिडियाबाट सार्वजनिक गर्छन्। र्‍यापर हुँदै राजनीतिमा आएका बालेनको चरित्र पनि योभन्दा भिन्न छैन।

‘पहिलो चुनाव हार्नका लागि, दोस्रो चुनाव हराउनका लागि तेस्रो चुनाव बल्ल जित्नका लागि लड’– भारतमा राजनीतिमा दलित समुदायको बलियो उपस्थितिका लागि आजीवन सक्रिय काशीरामले नयाँ पार्टीका लागि भनेको कुरा सान्दर्भिक नै ठानिन्छ। चुनाव जिताउन माहिर प्रशान्तकिशोर आफै पार्टी बनाएर बिहारको विधानसभा चुनावमा उत्रिँदा पानीधरि मागेनन्। अपवाद त भइहाल्छ। प्रशान्तकिशोरको पार्टीका उम्मेदवारहरू अधिकांशले जमानतै जोगाउन नसकेको चार महिनापछि तामिलनाडुमा भने सिने सुपरस्टार विजय जोसेफ चन्द्रशेखर (थलपती विजय)ले काशीरामको भनाइलाई गलत साबित गरिदिए– दुई वर्षअघि पार्टी स्थापना गरी सामना गरेको पहिलो चुनावमै तमिलगा भेत्री कझगम (टीभीके)ले झन्डै–झन्डै बहुमतकै आँकडा छोइदियो।

भारतमै सन २०११ मा भ्रष्टाचारविरुद्ध आन्दोलन गरी त्यसैको जगमा एक वर्षअघि बनाइएको आम आदमी पार्टी (आप)ले २०१३ को ७० सदस्यीय दिल्ली विधानसभा चुनावमा प्रतिस्पर्धा गर्दा २८ सिट जितेको थियो। २०१५ मा भएको मध्यावधि चुनावमा त ६७ सिट जितेर दिग्विजय नै गर्‍यो। हामीकहाँ पनि स्थापनाको पाँचौँ महिनामै चुनावी प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ सिटसहित प्रतिनिधि सभामा दह्रो उपस्थिति जनाएको थियो। काठमाडौँको मेयर उम्मेदवारको रूपमा राजनीतिमा प्रवेश गरी आश्चर्यचकित पार्ने जनमत प्राप्त गरेका बालेन्द्र शाहले आमचुनावको दुई महिनाअघि राष्ट्रिय राजनीतिमा छिरेर अर्को आश्चर्यचकित पार्ने (आठ दशक पुराना दलहरूका लागि विस्मयकारी) दिग्विजय हासिल गरेकै हुन।

सामाजिक सञ्जालको जमानामा त झनै पार्टी गठन, संगठन विस्तार गरी जनमत पाउन लामो र कठोर मेहनतको आवश्यकता कम हुँदै गएको छ। ‘कन्टेन्ट क्रियटर’ नेता भइहाल्ने अवस्था छ भने नेता स्वयं कन्टेन्ट क्रियटरजस्तै देखिन्छन्।  

बालेन्द्र–विजय ‘क्याम्पेन’मा समानता 
थलपति विजयको टीभीकेले बालेन्द्र अगुवाइको रास्वपाकै जस्तो प्रचण्ड बहुमत प्राप्त गर्न नसके पनि २३४ सदस्यीय तमिलनाडु विधानसभामा १०७ सिट जितेर सबैलाई आश्चर्यचकित नै पारेको छ। ६ दशक (सन् १९६७) देखि दुई पार्टी ‘डीएमके’ र ‘एआईएडीएमके’ले रजगज गरिरहेको प्रान्तमा दुई वर्षअघि गठित पार्टीको यो जित कम आश्चर्यजनक होइन।     

चुनाव प्रचारका क्रममा विजय सकेसम्म मौन नै रहे, बालेन्द्रजस्तै। चुनावी अभियानमा कुल ३५ मिनेट भाषण गरेका थिए। बालेन्द्रले सायद २७ मिनेटजति भाषण गरे। विजयले कुनै अन्तर्वार्ता दिएनन्, पत्रकार सम्मेलनबाट परै रहे। पत्रकार राजदीप सरदेसाईलाई समय दिएर एक घण्टा अनौपचारिक गफगाफ गरे पनि अन्तर्वार्ता दिन मरिकाट्टे मानेनन्। अहंकारीको आरोप सुने, तर बोलेनन्। मुख्यमन्त्री एमके स्टालिनले चुनावी प्रचारका क्रममा ३५६ मिनेट भाषण गरेका थिए। एआईएडीएमके नेता इडापट्टि पलानास्वामी (ईपीएस)ले त झन् आठ सय मिनेट भाषण (२१ चोटि गरी) ठोकेका थिए। जम्माजम्मी दुई वटा रोड शो र दुइटै भाषणका कार्यक्रम थिए, विजयका। अरूले धेरै बोलेर मतदातामा प्रभाव छाड्न खोजिरहँदा विजयचाहिँ एकदम कम बोलेर आकर्षित गरिरहेका थिए।

भाषणकला, वैचारिक स्पष्टताको अभावका कारण नबोल्ने, तर नबोलेकोलाई कमजोरीका रूपमा नभई शक्तिको रूपमा न्यारेटिभ बनाउने रणनीति दुवै नेताले अपनाए। चुनाव प्रचारमा टीभीकेले ब्राह्मणवादी भएको आरोप लगाउँदै अंग्रेजकै जमानामा कांग्रेस परित्याग गरी छुवाछूतविरोधी आन्दोलन, भाषा आन्दोलन गरेका पेरियारको फोटो पनि प्रयोग गर्‍यो भने स्वतन्त्रतापछि मुख्यमन्त्री र कांग्रेसको राष्ट्रिय अध्यक्ष भएका के कामराजको फोटो पनि प्रयोग गर्‍यो। दलित नेता अम्बेडकरका साथै द्रविड आन्दोलनका नेता अन्नादुराईको फोटो पनि प्रयोग गरी सबैलाई आकर्षित गर्न खोजेको थियो। हाम्रामा जनकपुरमा मैथिलीमा भाषण गरी चुनावी प्रचार शुरू गरेका बालेन्द्रको लवाईचाहिँ ‘एउटा भाषा, एउटै भेष’का प्रणेता राजा महेन्द्रको झझल्को दिने रहन्थ्यो।

प्रशान्तकिशोर ‘कन्सल्ट्यान्ट’ भूमिकामा रहेको चुनावी अभियानमा छोटो–मिठो–प्रभावशाली ‘क्याम्पेन’को रणनीति अपनाइएको थियो। मतदातालाई भावनात्मक रूपमा जोड्ने सन्देश प्रवाहमा केन्द्रित गरिएको थियो। ‘लेस इज मोर फिलसफी’लाई मूलमन्त्र बनाइएको थियो।  

चुनावी प्रचारको मुख्य मिसाइल सोसल मिडिया त थियो, तर विजय आफ्नै अकाउन्टमा चाहिँ खासै उपस्थित थिएनन्। चुनावी प्रचारका दौरान उनका अकाउन्टबाट जम्माजम्मी तीन वटा पोस्ट भएका थिए। जबकि समर्थक–प्रशंसकहरू त स्वतःस्फूर्त सामाजिक सञ्जालमा सक्रिय थिए नै, संगठित डिजिटल सेना सक्रिय थियो। विजय मक्कल लयकम (भीएमआई) नामको फ्यानपेज प्रचारमा प्रभावकारी थियो।

बालेन्द्रले गरेको पनि यस्तै नै थियो। भारी फलोअर भएका उनका अकाउन्टहरूबाट खासै पोस्ट भएनन्। समर्थक र संगठित साइबर सेनाले त प्रतिस्पर्धीहरू छेउछाउ ढिम्किनै नसक्ने गरी ‘अल्गोरिदम’ कब्जा गरेका थिए।  

हाम्रो आमचुनावमा रास्वपालाई चुनावचिह्न ‘घण्टी’ नै वरदान बनिदिएको थियो। स–साना घण्टी बोकेर हिँड्यो बजाइदियो, प्रचार। मन्दिरमा ठूल्ठूला घण्टी, बजाइदियो प्रचार। तामिलनाडुमा टीभीकेलाई चुनावचिह्न त्यस्तै वरदान बनिदियो। सिट्ठी फुक्न लगाइदियो प्रचार भइहाल्यो। सांस्कृतिक प्रतीकको रूपमा प्रयोग गरियो। गठबन्धन नगरेका कारण नयाँ पार्टी हो, अरूभन्दा फरक छौँ भनेर मतदातालाई विश्वास दिलाउन सहज भयो। मार्च २०२५ मै प्रशान्तकिशोरले एक्लै लडे विजयले बहुमत ल्याउने दाबी गरेका थिए, जुन करिब–करिब सत्य साबित भयो। जेन–जी र महिला मतदातालाई केन्द्रमा राखेर घोषणा पत्र लेखिएको थियो। टीभीकेले पाएको मतमा ५० प्रतिशत महिला र युवाबाटै प्राप्त भएको अनुमान छ। यहाँ रास्वपाले पनि जेन–जी र महिलामा अझ बढी मत पाएको अनुमान गरिन्छ।

सेप्टेम्बर २०२५ मा करुर भन्ने ठाउँमा टीभीकेको र्‍यालीको क्रममा भागदौड मच्चिदा ४१ जनाको मृत्यु भयो भने ९० भन्दा बढी घाइते भए। निर्धारित समयभन्दा ८ घण्टा अबेर विजय पुग्नासाथ भागदौड भई घटना भएको थियो। भागदौड मच्चिएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिए। काफी आलोचित भए। घटनापछि पीडित परिवार, घाइतेहरूलाई भेट्न आवश्यक पनि ठानेनन्। चौतर्फी आलोचनापछि बल्ल मुख खोले, भिडियो सन्देशमार्फत घटनाप्रति दुःख व्यक्त गरे। मृतक परिवारलाई ४० लाख (भारु)को दरले आर्थिक सहायता दिने घोषणा गरे। 

यहाँ बालेन्द्रले भदौ २३ गतेको जेन–जी प्रदर्शनमा ऐक्यबद्धता जनाए। भोलिपल्ट देशै दनदनी बलिरहँदा बल्लतल्ल प्रदर्शनकारीलाई सडकबाट घर फर्किन आह्वान गरे। घाइतेहरूलाई भेट्न गएनन्, न २३ गते पुलिस गोलीबाट ज्यान गुमाएकाहरूको सामूहिक अन्त्येष्टिमै सहभागी भए। तैपनि त्यो आन्दोलन समर्थकहरूको भोट स्वाटसुट्टै उनको पक्षमा गयो।  

टीभीकेले चुनावमा गरिब महिलाको बिहेमा ८ ग्राम सुन र एउटा रेशमी साडी, परिवारको मूली महिलालाई मासिक २ हजार ५ सय भत्ता, प्रत्येक परिवारलाई वर्षको ६ सिलिन्डर ग्यास, नवजात शिशुलाई एउटा सुनको औँठी दिने वाचा गरेको छ। यस्तै, महिलालाई निःशुल्क बसयात्रा, ज्येष्ठ नागरिक/विधवा, शारीरिक अपांगता भएकालाई प्रत्येक परिवारलाई २५ लाखको बीमा, दुई सय युनिट बिजुली निःशुल्क, किसानलाई ऋण, पेड इन्टर्नसिप प्लस टु पासलाई।

थलपति विजयले सन् २०२४ को फेब्रुअरीमा दल घोषणा गरी एक्स (ट्विटर)मा उनले भनेका थिए, “तपाईंहरूलाई तमिलनाडुको राजनीतिक अवस्थाबारे राम्रो जानकारी छ। एकातर्फ असक्षम प्रशासन र भ्रष्ट राजनीतिक संस्कृति छ भने अर्कोतर्फ जात, धर्म र सम्प्रदायका आधारमा मानिस विभाजन गर्ने राजनीति चलेको छ। यी दुवैले हाम्रो प्रगतिमा बाधा पुर्‍याएको छ।” उति बेलै विधानसभा चुनावमा भाग लिने घोषणा गरेका उनले सन् २०२४ को लोकसभा चुनावमा कुनै चासो देखाएनन्। ‘राजनीति मनोरञ्जन होइन, गहिरो समर्पण हो,’ भनेका उनले सिनेमा क्षेत्रबाट संन्यासको घोषणा गरेका थिए। 

विजयले राजनीतिक दल खोल्दै गर्दा उनकै सिनेमा ‘पोक्किरी’को एक संवाद खुब चर्चित भएको थियो। त्यसमा उनी भन्छन्, “यदि मैले एकपटक कुनै निर्णय गरेँ भने, म त्यसबाट पछि हट्दिनँ।” ब्लकबस्टर हिट ‘पोक्किरी’ हेर्ने दर्शकमाझ यो संवाद आज पनि उत्तिकै लोकप्रिय छ। आज पनि इन्स्टाग्राम र फेसबुकमा यो डाइलगराखेर बनाइएका रिल प्रशस्त भेटिन्छन्।

हिन्दुस्तान टाइम्सले बताएअनुसार दल खोलेको ८ महिनापछि, अर्थात् २७ अक्टोबर २०२४ मा उनले पहिलो राजनीतिकसभा गरेका थिए। चेन्नईबाट करिब १६० किलोमिटर टाढा विक्रवाण्डीमा आयोजित उनको पहिलो राजनीतिकसभामा ८० हजारभन्दा बढी मानिस सहभागी थिए।हिन्दुस्तान टाइम्स भन्छ, “सो सभामा विजयले आफ्नो पार्टीले धर्मनिरपेक्ष विचारधारालाई प्रवर्द्धन गर्ने र सामाजिक न्याय, समानतावाद तथा दुई–भाषा नीतिलाई समर्थन गर्ने बताएका थिए।”

हिजोका दिनमा फिल्म क्षेत्रमा रहँदा विजयको स्वभाव आजको भन्दा फरक थिएन। उनका अन्तर्वार्ता खासै भेटिँदैनन्। बरु, आफ्ना विचार प्रायः सोसल मिडियाबाट सार्वजनिक गर्छन्। उनी संयमित र शान्त स्वभावका देखिन्छन्। र्‍यापर हुँदै राजनीतिमा आएका बालेनको चरित्र पनि योभन्दा भिन्न छैन। चेन्नाइमै जन्मेहुर्केका र एसियन कलेज अफ जर्नालिजमबाट स्नातकोत्तर गरेका सिद्धार्थ श्रीराम विजयबारे उकालोसँग भन्छन्, “अहिलेसम्म विजयबारे सबैभन्दा ठूलो र आश्चर्यजनक कुरा यही छ कि राजनीतिमा प्रवेश गरेपछि उनले मिडियाको सामना गरेका छैनन्। अरू नेताहरू कति खराब छन् भनेर चित्रित गर्दै उनी राजनीतिमा आए हुन्। उनले आफै भने अहिलेसम्म कहिल्यै पनि प्रत्यक्ष रूपमा प्रश्नको सामना गरेका छैनन्। उनका बारेमा धेरै कुरा बुझ्नै बाँकी छ। उनी रहस्यमयी लाग्छन्।”

वास्तविक जीवनमा विजय राजनीतिमा प्रवेश गर्नुअघि निकै संकोची स्वभावका थिए। उनी आफ्ना चलचित्रबाहेक अन्य सार्वजनिक कार्यक्रममा खासै देखिँदैन थिए। अहिले मानिसले उनलाई समर्थन गर्नुको एउटा कारण उनको सुपरस्टार छवि पनि हो। विजय अत्यन्तै ठूलो फिल्म स्टार हुन् र दशकौँदेखि तमिलनाडुमा उनको अत्यन्त ठूलो प्रशंसक छन्। कतिसम्म भने उनका हरेक फिल्म रिलिज हुनु भनेको दक्षिण भारतीय नागरिकका निम्ति ठूलो चाडपर्व आएजस्तो हुन्थ्यो। उनको समर्थनको ठूलो हिस्सा विशेष गरी जेन–जी वा युवा वर्गका छन् भन्नु अतिशयोक्ति हुँदैन। यो पुस्ताले उनी राजनीतिमा आउँदा पनि उही समर्थन कायम राख्यो, जुन समर्थन फिल्मकर्मी हुँदा थियो।

विजयलाई राजनीतिज्ञका रूपमा पनि तामिलनाडुका जनताले समर्थन गरे। उनीप्रति नागरिकमा आशा र भरोसा कायम रहनुको अर्को मुख्य कारण पुराना पार्टीप्रतिको वितृष्णा पनि हो। पुराना दलप्रति मतदातामा उदासीनता थियो। लामो समयदेखि तमिलनाडुमा सत्ता प्रायः डीएमके र एडीएमकेबीच मात्र साटासाट हुँदै आएको थियो। प्रायः चुनावमा यी दुई दलको वर्चस्व र प्रतिस्पर्धा हुन्थ्यो। यसले मानिसलाई आजित बनाइसकेको थियो। विशेष गरी सन् २०१६ मा जे. जयललिताको निधनपछि एडीएमके कमजोर बन्दै गएको विश्लेषण गरिन्छ। यो दलभित्रको आन्तरिक विवादका कारण डीएमकेसँग प्रतिस्पर्धा गर्न गाह्रो भयो। अन्ततः पछिल्लो समय डीएमके सत्तामा आयो। डीएमकेले अत्यधिक राम्रो र उन्नत काम गरेकाले उसलाई मानिसले सत्तामा पुर्‍याएका होइनन्। तर बलियो विकल्पको अभावमा मानिसहरूले त्यसलाई नै रोज्ने अवस्था बनेको थियो।

राजनीतिमा विजयको प्रवेश त्यहाँका नागरिकमा परिवर्तनको आशा सञ्चार गरिदियो। श्रीराम भन्छन्, “यहाँ धेरैले उनलाई नयाँ अनुहारका रूपमा विश्वास गर्न सक्ने व्यक्तिका रूपमा हेर्न थालेका छन्। तर, राजनीतिमा उनको क्षमताको परीक्षण भएको छैन। उनले कस्तो काम गर्लान्, हेर्न बाँकी छ। अहिलेसम्म त उनको पहिचान मुख्यतः करिश्माटिक अभिनेताकै रूपमा रहेको छ।”

टाइम्स अफ इन्डियाले उनको जितका पछाडि पाँच वटा कारण देखाएको छ। एक, विजयको फिल्मी लोकप्रियता राजनीतिमा पनि देखियो। उनको ठूलो फ्यानबेसले चुनावमा ठूलो योगदान पुर्‍यायो। दुई, युवाले उनलाई नयाँ र ऊर्जावान् विकल्पका रूपमा हेरे। तीन, पुराना दलहरूप्रति असन्तोष र परिवर्तनको चाहनाले फाइदा पुग्यो। चार, विभिन्न सामाजिक र राजनीतिक समूहसँगको सहकार्यले उनीप्रति व्यापक समर्थन भयो। पाँच, भ्रष्टाचारविरुद्ध, विकास र सुशासनजस्ता मुद्दामा केन्द्रित अभियानले मतदातालाई आकर्षित गर्‍यो।

तमिलगा वेत्री कझगम (टीभीके)ले ‘अप्रत्याशित’ नतिजा हात पारेपछि अहिले विजयको एउटा पुरानो भिडियो सोसल मिडियामा भाइरल भएको छ। उनी भन्छन्, “जंगलमा धेरै स्याल र अरू जनावर हुन्छन्, तर सिंह भने एउटा मात्र हुन्छ। र ऊ एक्लै भए पनि जंगलको राजा हुन्छ।”