वनको दाउरा लिने विषयमा विवाद हुँदा एक जनाको मृत्यु

दाङको राजपुरमा सामुदायिक वनको दाउरा लिने विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।

दाङ– दाङको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।

आज दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ–दाउरा लिने विषयमा विवाद भएपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।

विवादका क्रममा रैदासले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। घटनापछि फरार रहेका रैदासको खोजीकार्य जारी रहेको उनले बताए।