‘जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत १३ वटा विषयमा विमर्श हुनेछ।

जनकपुरधाम– ‘जनकपुर साहित्य महोत्सव’को सातौं संस्करण आगामी जेठ १ गतेदेखि शुरू हुने भएको छ।

नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव जेठ ३ गतेसम्म महेन्द्र नारायण निधि भवनमा आयोजन हुनेछ। तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १३ वटा ओपन–एअर प्यानल छलफल हुनेछ।

जसमा ‘मैथिली कथाको नेपाली संसार: माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा: सम्भावना, चुनौती र मार्गचित्र’, ‘नेपाली महिला लेखन: संघर्षदेखि सिर्जनासम्म’ जस्ता १३ वटा विषयमा विमर्श हुनेछ।

जनकपुरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो। महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २:०० बजेदेखि निधि भवनको सभाहलमा मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्ने जनाइएको छ।

तीन दिवसीय महोत्सवको प्रमुख विशेषता जेठ दुई गते बिहान प्रभातकालीन सम्पदा पदयात्रा हुने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए।

“यो पदयात्रामा कम्तिमा पनि १२ सयदेखि १५ सय जनालाई एकैखालका पोशाकमा पदयात्रा गर्नेछन्,” नेपालले भने, “यो पदयात्राको उदेश्य सम्पदाको महत्व र अस्तित्वलाई झल्काउने सन्देश दिनु हो।”

महोत्सवका निर्देशक राजीवधर जोशीका अनुसार सातौं संस्करण अन्य संस्करणबाट पृथक रहनेछ। "यसपटक हामीले जनकपुरधामलाई प्राथमिकतामा राखेका छौँ," जोशीले भने, "जानकी मन्दिर र यहाँका सम्पदामाथि विशेष मन्थन हुनेछ।"