कमिलाहरूले एन्टिनाहरूलाई अगाडिका खुट्टाद्वारा समय समयमा सफा गरिरहन्छन्, ताकि यी एन्टिनाहरूको कार्यक्षमता दुरुस्त रहन सकोस्। एन्टिना पलाएको स्थानभन्दा ठीक पछाडि कमिलाका आँखा हुन्छन्।
पृथ्वी सबै जीवजगत्को साझा वासस्थान हो। यसले सबै प्रकारका जीवहरूलाई आश्रय दिएको छ। पृथ्वीमा हात्ती, जिराफजस्ता विशालकाय जनावरदेखि स‐साना कीटपतङ्गहरूसम्म सबैले जीवनयापन गरिआएका छन्। ढाडमा हाड भएका माछा, उभयचर, सरिसृप, पन्छी तथा स्तनपायीजस्ता ठूला प्राणीहरूसहित ढाडमा हाड नभएका कीटपतङ्गहरूको उपस्थितिले संसार सुन्दर बनेको छ।
हामी ठूला जन्तुजनावरका बारेमा धेरै हदसम्म जानकारी राख्छौँ। तर प्राणीजगत्को झन्डै ८० प्रतिशत उपस्थिति ओगट्ने कीराको दुनियाँबारे हामीलाई धेरै कुरा थाहा हुँदैन। कीराको संसार अत्यन्त रोचक हुन्छ। कीराहरू धेरै प्रकारका हुन्छन्। अध्ययन गर्ने हेतुले यिनीहरूलाई धेरै भागमा बाँडिएको हुन्छ। यस लेखमा क्लास ‘इन्सेक्टा’को अर्डर ‘हाइमेनोप्टेरा’अन्तर्गत पर्ने कमिलाको बारेमा सङ्क्षिप्त जानकारी दिने प्रयत्न गरिएको छ।
सबै कीटपतङ्गहरूको शरीर तीन खण्ड मिलेर बनेको हुन्छ। टाउको, छाती र पेट। कमिलाको टाउकोअगाडि माथिपट्टिबाट दुईवटा एन्टिना (जुँघा) उम्रिएका हुन्छन्। हाम्रो कुहिनोजस्तै यी एन्टिनाहरू एक ठाउँमा ‘फोल्डिङ’ हुनसक्ने गरी बनेका हुन्छन्। अत्यन्त मसिना झुसले भरिएका एन्टिनाहरूले भुइँमा भएका फेरोमोन (सन्देश गन्ध)हरूलाई विविध प्रकारले डिटेक्ट (पहिचान) गर्दछन्।
यिनै एन्टेनाहरूको माध्यमले छोएर (सुँघेर) कमिलाहरूले एकआपसमा खाना कहाँ छ? के छ? कता र कति दूरीमा छ? भन्ने कुराको सूचना लेनदेन गर्दछन्। त्यस्तै कुन प्रकारको खतरा वा शत्रु कति नजिक वा टाढा छ? आफ्नो समूहको सदस्य वा पराई आदिको पहिचान गर्न र दिशा तथा गन्तव्यको सूचना आदानप्रदान गर्न यिनै दुईवटा एन्टिनाले काम गर्छन्।
कमिलाहरूले यी एन्टिनाहरूलाई अगाडिका खुट्टहरूद्वारा समय समयमा सफा गरिरहन्छन्, ताकि यी एन्टिनाहरूको कार्यक्षमता दुरुस्त रहन सकोस्। एन्टिना पलाएको स्थानभन्दा ठीकपछाडि कमिलाका आँखा हुन्छन्। स‐साना लेन्सहरू मिलेर बनेका कमिलाका संयुक्त आँखाहरू रङ छुटयाउन कमजोर भए पनि गतिशील वस्तुहरू पहिचान गर्न सक्षम हुन्छन्। मुखको दायाँबायाँ दाँतजस्ता देखिने दाँतेआरा (म्यान्डिबल)को एक जोडा हुन्छ जसले टोक्न्े, काट्ने, खन्ने, टुक्र्याउने तथा सामान बोक्ने काम गर्दछन्।
यी दाँतेआराहरू अत्यन्त बलिया हुन्छन् र पासोजस्तै एकै झड्कामा तीब्ररूपले काम गर्नसक्ने हुन्छन्। कतिसम्म भने ट्र्याप जः (ओडोन्टोेमाकस बाउरी) भनिने एकप्रजातिको शिकारी कमिलाका यी दाँतेआराहरू एकसय असी डिग्रीसम्म खुला हुन्छन् र यति छिटो बन्द हुन्छन् कि त्यसप्रकारको तीब्रगति पैदा गर्नसक्ने संसारमा अर्को कुनै जन्तुको अङ्ग छैन। कमिलाको प्रजातिअनुसार दाँतेआराहरूको स्वरूप पनि फरक फरक हुन्छन्।
कमिलाहरूको कान हुँदैन। तर कुनै प्रजातिका कमिलाले स्ट्राइडुलेसन प्रक्रियाबाट ‘लो फ्रिक्वेन्सी’ आवाज निकाल्छन् र आपसमा सञ्चार गर्छन्। साथै कमिलाको नाक पनि हुँदैन। उनीहरूको सुँघ्ने काम एन्टिनाबाट नै सम्पन्न हुन्छ।
कमिलाको शरीरको मध्यखण्डलाई थोरेक्स (छाती) भनिन्छ। यही छातीको तल्लो भागबाट दायाँपट्टि तीन र बायाँपट्टि तीन वटा गरी छ वटा खुट्टाहरू पलाएका हुन्छन्। यी खुट्टाहरू पाँच टुक्रा र चार वटा जोर्नी भई बनेका हुन्छन्। अगाडिका खुट्टामा मसिना झुसहरू हुन्छन् जसले टाउको र एन्टिना (जुँघा) सफा गर्न मद्दत गर्छन्। पछाडिका खुट्टाहरू अगाडिका भन्दा तुलनात्मक रूपले लामा हुन्छन्, जसले कमिलाहरूलाई अगाडि बढ्न बल पैदा गर्छन्।
यी सबै खुट्टाहरूमा पनि जमीनमा हुने कम्पन पत्ता लगाउने विशेष शक्ति हुन्छ र कमिलाहरूले हिँड्दाहिँड्दै आफू आसपास के भइरहेको छ भनेर धेरै कुराहरू थाहा पाइसकेका हुन्छन्। यही छातीको माथिल्लो भागबाट जीवनको अन्तिम कालखण्डमा कमिलाहरूको प्वाँख पलाउने गर्दछ। कमिलाको शरीरको सबैभन्दा पछिल्लो भाग पेट हो। कमिलाहरूले पेटमा खाना पचाउने र बचाउने दुई अलग अलग भाग हुन्छ।
खाना बचाउने भागमा खाना सञ्चय गरी राख्ने र लार्भाहरूलाई त्यो खाना खुवाउने गर्छन्। कुनै कुनै प्रजातिका कमिलाहरूमा पेटको टुप्पोमा तीखो र बलियो खिल हुन्छ। यो खिलमा पोल्ने अम्लीय विष हुन्छ। यस प्रकारको खिलको डसाइमा सम्प्रसार हुने विष मानिसहरूलाई मारिहाल्ने प्रकारको नभए पनि भतभती पोल्ने हुनसक्छ। तर कतिपय साना कीराहरू र लार्भाहरूलाई भने सजिलै मार्नसक्छ। रोटे (बुलेट कमिला) यसको एक उदाहरण हो।
ठाउँ र मौसमअनुसार १२ हजारभन्दा बढी प्रजातिका कमिलाहरू संसारभरि नै पाइन्छन्। तर अन्टार्कटिका महादेशमा कमिला पाइँदैन। नेपालमा १२८ प्रजातिका कमिलाहरू अभिलेख गरिएको छ। सबैभन्दा ठूलो कमिला (डोरीलुस) छ सेन्टिमिटरसम्म र सबैभन्दा सानो कमिला (कारेबारा ब्रुनी) एक मिलिमिटर जत्रो हुन्छ।
कमिलाहरू छाउनी (कोलोनी)मा सामूहिकरूपमा व्यवस्थित जीवन बिताउँछन्। माहुरीजस्तै रानी कमिलाले आफ्नो समूहको नेतृत्व गर्छे। सामान्यतः एउटा समूहमा एउटा मात्र रानी कमिला हुन्छे। रानी कमिलाको आयु पाँच वर्षदेखि प्रजातिअनुसार ३० वर्षसम्म हुन्छ। रानीले पहिलोपटक भालेसँग सम्बन्ध बनाएपछि बाँकी जीवनभर भालेको आवश्यकता पर्दैन।
पहिलो पटक ग्रहण गरेको शुक्राणु रानीले जीवनभरि सञ्चय गरेर राख्न सक्छे। कमिलाको संसारमा यसलाई एउटा अद्भुत प्राकृतिक गुण मानिन्छ। रानीसँग सहवास भइसकेपछि भाले कमिलाको मृत्यु हुन्छ। कमिलाको जीवचक्र माहुरीजस्ता कीटहरूको जस्तै चार चरणमा सम्पन्न हुन्छ।
जमिनमुनि कमिलाको छाउनी (गोलो) हावादार, सुक्खा र व्यवस्थित सुरुङहरूको सञ्जालले निर्मित हुन्छ र रानीको कोठा, फुल पार्ने, खाना भण्डार गर्ने, फोहर राख्ने कोठाहरू अलग अलग हुन्छन्। कमिलाको गोलामा रानी, भाले, कामदार कमिला र सैनिक पहरेदार कमिलाहरू हुन्छन्।
भाले जन्माउने वा नजन्माउने निर्णय रानी कमिलाको निर्णयमा भर पर्छ। श्रमिक कमिलाहरूको काम खानाको खोजी, सङ्कलन र सञ्चय गर्नु, गोलो विस्तार गर्नु, घर सफा राख्नु, आपतविपत् पर्दा अण्डाहरू एक ठाउँबाट अर्को ठाउँमा सार्नु, सूचनाहरू आदानप्रदान गर्न निरन्तर खट्नु हो। पहरेदार सैनिक कमिलाहरूको काम रानी, गोलो र आसपासको प्रभाव क्षेत्र (टेरिटोरी)लाई आफ्नो नियन्त्रणबाहिर जान नदिनु हो।
अन्य गोलोबाट आफूजस्तै कमिला आए पनि त्यसलाई पहिचान गर्ने र भएभरको शक्ति लगाएर परास्त गरी आफ्नो क्षेत्र कायम गर्नु सैनिक पहरेदार कमिलाहरूको काम हो। अन्य आकस्मिक आइलाग्ने दुश्मनहरूको निगरानी गर्नु र तिनीहरूलाई मार्नु वा धपाउनु पनि सैनिक पहरेदार कमिलाको काम हो। भइपरी आएको खण्डमा श्रमिक कमिलाहरू पनि सैनिकको रूपमा खट्छन् र फुर्सद भएको बेला सैनिक कमिलाहरू पनि श्रमिक कमिलासरह खानाको खोजी, गोलोको सरसफाइ, विस्तार र निर्माणमा निरन्तर खटिन्छन्।
कमिलाहरू अत्यन्त सफा भएर बस्न रुचाउने स्वभावका हुन्छन्। आफ्ना मृत, असक्त सदस्यहरूलाई कमिलाहरूले अलग्गै ठाउँमा व्यवस्थापन गर्छन्। त्यसै गरी खानाका अवशेषहरू र अन्य फोहरहरूसमेत अलग्गै ठाउँमा राख्ने गर्छन्। कमिलाहरूलाई फोहर पटक्कै मन पर्दैन।
प्रत्येक गोलो कमिलाको फरक फरक सन्देश वा पहिचान‐गन्ध (फेरोमोन) हुन्छ। पहिचान‐गन्ध रानी कमिलाले अन्य कमिलाहरूलाई प्रदान गर्छे। यसरी आफू हिँडेको बाटोमा हरेक कमिलाले आफ्नो गन्धको छाप छोड्दै गएको हुन्छ। जसको कारणले कुन कमिलो आफ्नो छाउनी(गोलो)को सदस्य हो वा होइन भन्ने कुरा उनीहरूले सजिलै थाहा पाउँछन्।
कमिलाहरू छोटो समयको लागि अडिएर आराम त गर्छन् तर निदाउँदैनन् र थकाइ पनि मार्दैनन्। उनीहरू पालोपहराअनुसार दिनरात सक्रिय हुन्छन्। कमिलाहरूले हावाको चाप र पृथ्वीको सूक्ष्मतम कम्पनहरू पनि महसुस गर्छन्। हावाको चापमा आएको फरक पत्ता लगाएर उनीहरूले वर्षा हुने सम्भावनाको आकलन गर्छन् र भारी वर्षा हुने सम्भावना भएमा आफ्नो गोलो अन्यत्र सुरक्षित स्थानमा सार्छन्। यसरी बसाइँ सर्दा उनीहरूले आफ्ना अण्डा र लार्भा वा खानेकुराहरू पनि बोकेर लैजान्छन्। बसाइँ सराइको यस्तो अवस्थामा कमिलाहरू ताँती बनाएर हिँड्ने गर्छन् जसलाई देख्दा हामीलाई रमाइलो लाग्छ।
कमिलाहरू सर्वभक्षी हुन्छन्। कमिलाले मरेका कीराफट्याङ्ग्रादेखि स‐साना जन्तुजनावरको सिनो, काठको स्टार्च, गमसहित कलिलो बिरूवाको रस, फूलको रस, कुनै कीराले उत्पन्न गर्ने गुलियो पदार्थ पनि खोजी खोजी खाने गर्छन्। निरन्तर सक्रिय रहनु पर्ने र लार्भाहरूलाई प्रशस्त पौष्टिक खानेकुरा आवश्यक पर्ने भएकोले उनीहरू सामान्यतया तत्काल शक्ति प्रदान गर्नसक्ने खानेकुरा प्राप्त गर्न तल्लीन हुन्छन्।
अचम्मको कुरा के छ भने, प्रजाति अनुसार कमिलाहरू आफ्नो शरीरको वजनभन्दा बीसदेखि सय गुणा भारी वस्तु उचाल्न, बोक्न र लिएर हिँड्न सक्छन्। अनि कुनै कुनै प्रजातिका कमिलाहरूले ढुसी खेती गर्छन् भने कुनै प्रजातिले लाइ (एफिड)पालन गर्छन् र खान्छन्।
झट्ट हेर्दा कमिलाहरूको जीवन आनन्दमय देखिनसक्छ। तर कमिलाहरू चौबीसै घन्टा जोखिमको जीवन बाँचिरहेका हुन्छन्। दिनमा सक्रिय हुने अनेकौँ प्रकारका चराचुरूङ्गीहरू र राति सक्रिय हुने मुसा, भ्यागुता, सर्प, न्याउरीमुसा, सालकजस्ता कीटाहारी जन्तुले कमिलालाई आफ्नो भोजनको अनिवार्य मेनुमा राख्छन्। ठूला जन्तुहरू हिँड्दा, सुत्दा र मडारिँदा पनि कमिलाका घर वासस्थान भत्किन्छन् र ती मारिन्छन्। बाढी, पहिरो, वन डढेलोको कारणले पनि कमिलाहरू मारिन्छन्। कतिपय देशहरूमा त निश्चित जातिका मानिसहरूले कमिलाहरू सङ्कलन गरी खरीद बिक्री गर्ने र खाने पनि गर्दछन्।
जमिनमुनि अत्यन्त मिहिन ढङ्गले खनेर माटोलाई खुकुलो, प्राणवायुयुक्त र उर्वर बनाउने यी गुणकारी र सुन्दर कीटलाई मानिसको क्षुद्र व्यवहारले सङ्कटमा पारिदिएको छ। रासायनिक मल, अनेकौँ प्रकारका कीटनाशक विषादीको प्रयोगले कमिलाहरू असुरक्षित भएका छन्। मानिसहरूको नाजायज र छाडा व्यवहारले बर्सेनि ठूलो सङ्ख्यामा कमिलाहरू मारिन्छन्। कमिलाहरू मारिएपछि कीटाहारी प्राणी र चरापन्छीहरूको खाद्यचक्रमा नकारात्मक असर पर्छ र एउटा सिङ्गो पर्यावरणीय प्रणलीमै क्षति पुग्छ। जसको नकारात्मक परिणाम मानिस आफैँले भोग्नु पर्छ।
कमिलाहरू हाम्रा दुश्मन होइनन्। यिनीहरू प्रकृतिका अनुपम उपहारहरू हुन्। कमिलाहरूलाई माया र इज्जत दिने बानी बसालौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
