सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८८ अर्ब नौ करोड रुपैयाँ थपिएर मुलुकको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

काठमाडौँ– मुलुकको कुल बेरुजु रकम साढे सात खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ।

महालेखापरीक्षकको कार्यालयले आव २०८१/८२ मा संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको छ।

महालेखापरीक्षक तोयम रायाका अनुसार, गत भदौ २३ र २४ गतेको आन्दोलन र घटनाका कारण १७९ कार्यालय तथा निकायको लेखा र सोसम्बन्धी स्रेस्ता पेस नभएकाले एक खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छैन।

लेखापरीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोरामै ८८ अर्ब नौ करोड रुपैयाँ बराबरको बेरुजु फेला परेको छ। संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड रुपैयाँ, प्रदेशतर्फ पाँच अर्ब २३ करोड रुपैयाँ, स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड रुपैयाँ, समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उनले जानकारी दिए।

विगतको बेरुजुको सम्परीक्षण र यस वर्ष औँल्याइएको बेहोराको फर्स्यौटबाट १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ। यस वर्ष तीन हजार ५० संघीय मन्त्रालय तथा निकायको २९ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ।

एक हजार १२४ प्रदेश मन्त्रालय तथा निकायको तीन खर्ब २० अर्ब ३० करोड ७२१ रुपैयाँ र स्थानीय तहको ११ खर्ब नौ अर्ब ५२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ।

यसैगरी, ५७७ समिति र अन्य संस्थाको चार खर्ब ४७ अर्ब ७७ करोड रुपैयाँ र संघीय कानूनद्वारा तोकिएका ४४ संस्थाको ५४ आर्थिक वर्षको ४६ खर्ब ८८ अर्ब ९६ करोड रुपैयाँसमेत गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको महालेखापरीक्षक रायाले उल्लेख गरे।

यसैगरी, सबैभन्दा बढी बेरुजु भएको मन्त्रालयमा अर्थ रहेको छ। सो मन्त्रालयको मात्रै ७०.३७ प्रतिशत बराबरको बेरुजु रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दोस्रो स्थानमा छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तेस्रो स्थानमा छ। वन तथा वातावरण मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।