भुटानमा दुई राजबन्दीलाई ‘आममाफी’ लगत्तै देश निकाला

आजीवन कारावासको सजायअन्तर्गत भुटानको चेम्गाङ जेलमा राखिएका ३० राजबन्दीमध्ये दुई जनालाई आममाफी दिँदै देश निकाला गरिएको छ।

काठमाडौँ- आजीवन कारावासको सजायअन्तर्गत भुटानको चेम्गाङ जेलमा राखिएका ३० राजबन्दीमध्ये दुई जनालाई आममाफी दिँदै देश निकाला गरिएको छ। सन् २००८ फेब्रुअरी २६ देखि थुनामा राखिएका हस्तबहादुर राई (४४) र चर्तुमान तामाङ(४२) लाई सोमबार राति ‘माथिको निगाहबाट’ भन्दै थुनामुक्त गराएर चेम्गाङ जेल प्रशासनले सिधै भुटान–भारत सीमावर्ती फुन्चोलिङ–जय गाउँमा ल्याएर छाडिदिएको थियो। 

जेल प्रशासनले नै केही बाटा खर्च दिएर जय गाउँ(भारत)बाट ट्याक्सीमा हालेर नेपालको पूर्वी नाका पानीटेंकी(सिलिगुढी)सम्म ल्याएर छाडेपछि राई र तामाङ दुई दिनदेखि स्थानीय बस्तीमा अलपत्र बसिरहेका छन्। भुटानले पूर्ववर्ती राजा जिग्मे सिंगे वाङचुकको गद्धीआरोहण (१९७४ जुन २)को अवसरमा बर्सेनि केही कैदी बन्दीलाई आममाफी दिने गरेकोमा पहिलो पटक ल्होत्साम्पा(नेपाली भाषी) राजबन्दीलाई माफी दिएको हो।

सन् ९० दशकको शुरूआतमै दक्षिणी भुटानबाट लखेटिएर पूर्वी नेपालमा शरणार्थी बन्न आएका राई र तामाङ अरू १० जना साथीभाइसहित सन् २००८ फेब्रुअरीमा भुटानको आफ्नो थातथलो हेर्न गएका थिए। त्यहीबेला ‘राजनीतिक गतिविधि गर्न आएका राष्ट्रद्रोही तत्त्व’ भन्दै यी दुईलाई पूर्वी भुटानको साम्द्रुप जोङ्खरबाट पक्राउ गरिएको थियो। “आवरणमा राजाको निगाहमा आममाफी दिइएको भनिए पनि यो भुटानले बेहोरेको अन्तर्राष्ट्रिय दबाब र विशेषत राष्ट्रसङ्घीय निकायसम्म पुगेको गैरकानूनी नजरबन्द बारेको उजुरी छानबिनका कारण अहिले दुई राजबन्दी रिहा भएका हुन्”, भूटानमा थुना परेका राजबन्दी निशर्त रिहाको अन्तर्राष्ट्रिय अभियान(जीसीआरपीपीबी)का संयोजक राम कार्की भन्छन्, “हामीले यसपटक आममाफीमा परेका राई र तामाङको गैरकानूनी नजरबन्दका बारे गत वर्ष वर्किङ ग्रुप अन आर्विटेरी डिटेन्सन(जेनेभा)मा अपिल गरेका थियौँ। यो अनधिकृत र मानवअधिकार विरोधी कदमलाई लिएर राष्ट्रसङ्घीय विज्ञ समूहले छानबिन पूरा गरेको थियो।”

यो पनि : राष्ट्रसंघको ‘गैरकानूनी नजरबन्द सूची’मा भुटानी राजबन्दी बिर्ख, कुमार र सनमान मात्रै किन आए?

आजीवन कारावास भनेर थुनामा राखिएका राई र तामाङ १८ वर्ष ३ महिना ६ दिन चेम्गाङ जेलमा थुनामा बसेपछि आममाफी पाएका हुन्। अन्तर्राष्ट्रिय रेडक्रस(आईसीआरसी) अन्तर्गत राजबन्दी राई (दर्ता नम्बर ००४५६) र तामाङ (दर्ता नम्बर ००४५४)मा सूचीकृत छन्। संयोजक कार्कीको अभियानले दुई वर्षअघि भुटानको चेम्गाङ केन्द्रीय थुनामा रहेका कुमार गौतम, बिर्खबहादुर क्षेत्री र सनमान गुरुङको गैरकानूनी थुनाका बारेमा पनि राष्टसंघीय निकायमा छानबिनका लागि अपिल गरेका थियो। राजबन्दी थुनाबारेमा भुटानको गैरन्यायिक र अमानवीय व्यवहारको छानबिन रिपोर्ट आए पनि भुटानले यसअघि कुनै सुनुवाइ गरेको थिएन। 

तर, यसपटक भने राई र तामाङमाथिको छानबिन रिपोर्ट नआउँदै भुटान सरकारले राई र तामाङलाई थुनामुक्त गर्दै देश निकाला गरेको हो। राष्ट्रसङ्घीय गैरकानूनी नजरबन्द बारेको विशेषज्ञ समूहको अध्यनमा भटानले तय गरेको राष्ट्रिय सुरक्षा ऐन–१९९२ लाई आफैँमा अमूर्त र विशेषत: दक्षिणी भुटानका ल्होत्साम्पा (नेपाली भाषी) कारबाहीलक्षित स्वार्थजन्य योजना भनेर ठहर गरेको छ। यसअघि, राष्ट्रसङ्घीय मानव अधिकार परिषद्, जेनेभाले भुटानबाट न्यायिक सुनुवाइ र जबाफदेहिता चाहेको भन्दै अन्तर्राष्ट्रिय कानूनको ठाडो अवहेलनाका बारेमा सचेत गराइसकेको छ। 

मानव अधिकार हनन बेहोर्ने प्रतिनिधि पात्रका रूपमा उभ्याइएका राई र तामाङपछि चेम्गाङ, साम्द्रुप जोङ्खर, रबुना, पारोलगायतका स्थानमा वर्षौँदेखि गैरकानूनी थुनामा रहेका ल्होत्साम्पाबारे राष्ट्रसङ्घीय निकायमा सरोकार राखिने भएको छ। राजबन्दीको बिनाशर्त रिहाइका बारेमा ह्युमन राइट वाच, एम्नेष्टी एन्टरनेशनल लगायतका संस्थाले आवाज उठाउँदै आएका छन्। चेम्गाङ केन्द्रीय कारागारमा मात्रै अझै २८ जना नेपाली भाषी राजनीतिक बन्दीहरू रहेको र केही भने अझै बेपत्ताको स्थितिमा रहेको स्थिति छ। चेम्गाङमा सन् १९९९ देखि थुनामा रहेका राजबन्दी अझै पनि आममाफी वा बिनाशर्त रिहाको पर्खाइमा छन्।
  
चेम्गाङ जेलमा रिन्जिनलाई लुगाफाटो दिएर निस्किएका रामबहादुर राई

​​​सोमबार रिहा भएका हस्तबहादुर राई बाबुआमा, श्रीमती र छोराछोरीसहित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका थिए। तर, उनी भुटानको जेलमा छँदै बेलडाँगी शिविरमा रहेको आफ्नो परिवार पुर्नबसोबास कार्यक्रममा परेर अष्ट्रेलिया पुगिसकेका थिए। आईसीआरसीको सहयोगमा सन् २०१४ राईले अन्तिमपटक आफ्नी बहिनीलाई चेम्गाङ जेलमा भेट गर्न पाएका थिए। त्यही बहिनीले दिएका आफन्त परिवारको तस्वीरको अलबम बोकेर सोमबार उनी चेम्गाङ जेलबाट बाहिरिएका थिए।

रिहा भएका तामाङ भने अविवाहित हुन्। उनका बाआमासहितको परिवार अमेरिकाको पेन्सिलभेनियामा बस्छन्। उनले पनि आफ्ना बाबुलाई अन्तिम पटक सन् २०१४ मा चेम्गाङ जेलमा भेट गर्न पाएका थिए।  “राई र तामाङ दुबैजना पूर्वी नाका पानीटेंकीसम्म आइपुगे पनि नेपाल प्रवेश गर्न दिइएन”, बेलडाँगी शरणार्थी शिविरबाट अभियन्ता दिल भुटानीले भने, “जेलबाट छुटेको रिलिज पेपर चाहिने भनिएको रहेछ। अथवा, बेलडाँगी शरणार्थी शिविरमा बस्दाको प्रमाण पुर्जा खोजिएको रहेछ। मानवीय आधारमा राई र तामाङको जीवन सुरक्षा हुनुपर्‍यो भनेर पहल भइरहेको छ।”