पर्सामा निर्वाचनका लागि सहमति कायम भएर नेतृत्व छानिए पनि मधेशका अन्य जिल्लामा निर्वाचन नै हुन सकेको छैन। नेतृत्वका आकांक्षी धेरै भएपछि विवाद हुँदा अधिवेशन नै प्रभावित भइरहेको छ।
काठमाडौँ– मधेश प्रदेशका जिल्लाहरूमा अधिवेशनको क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ। संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका ३२ सिटमध्ये ३० सिट जितेर मधेश प्रदेशमा प्रभावशाली उपस्थिति देखाएको रास्वपाले आन्तरिक विवादका कारण संगठन विस्तार र सुदृढीकरणको चरणमा गम्भीर अवरोधको सामना गरिरहेको छ।
मधेश प्रदेशका आठ जिल्लामध्ये अहिलेसम्म पर्सा जिल्लामा मात्र सफलतापूर्वक जिल्ला अधिवेशन सम्पन्न गर्न सकेको छ। बाँकी सात जिल्ला– सर्लाही, रौतहट, बारा, धनुषा, महोत्तरी, सिराहा र सप्तरीमा अधिवेशन हुन सकेको छैन। पार्टीभित्रको आन्तरिक द्वन्द्व, नेतृत्वको प्रतिस्पर्धा र गुटबन्दीका कारण अधिवेशन हुन नसकेको हो।
पर्सामा भने शान्त वातावरणमा अधिवेशन सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य नन्दन यादवले बताए। पार्टीमा चुनावताका प्रवेश गरेकाहरूले नेतृत्वका लागि प्रभाव जमाउन खोज्दा द्वन्द्व निम्तिए पनि अन्तिममा शान्तिपूर्ण रूपमा अधिवेशन भएको उनको भनाइ छ। मतदान प्रक्रियामा गएर नेतृत्वको टुंगो लगाउने सहमतिपछि गत सोमवार अधिवेशन सम्पन्न भएको थियो।
तर अन्य जिल्लामा सहमति कायम हुन नसक्दा अधिवेशन प्रक्रिया अवरुद्ध बनेका छन्। नेतृत्वका आकांक्षी धेरै भएपछि विवादका कारण चुनावसमेत हुन सकेको छैन। विभिन्न दलबाट राजनीतिको पुरानो लिगेसी बोकेका र बेग्लाबेग्लै पृष्ठभूमिबाट चुनावताका रास्वपामा सामेल भएकाहरूको शक्ति संघर्षले आन्तरिक संगठन निर्माणमा चुनौती देखिएको राजनीतिक विश्लेषक आनन्द गुप्ता बताउँछन्।
संगठनात्मक रूपमा बलियो संरचना निर्माणमा पार्टीको लागि चुनौती खडा गरेको छ। यसले दीर्घकालीन रूपमा असर पर्ने विश्लेषकहरू बताउँछन्। “चुनावी जित एउटा कुरा हो, पार्टी संस्थागत रुपमा कति बलियो छ भन्ने कुराले दीर्घकालीन रूपमा भविष्य तय गर्छ,” विश्लेषक आनन्द गुप्ता भन्छन्।
मंगलबार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार, रास्वपा पर्साको सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) प्यानलसहित निर्वाचित भएका थिए। निर्वाचन समितिका संयोजक रहेका नन्दन यादवका अनुसार, सभापति पदमा पर्सा–१ का सांसद पन्तले १६६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पर्सा–२ का सांसद सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए।
कानुलाई पर्सा–३ का सांसद रामाकान्त चौरसिया र ४ का टेकबहादुर शाक्यले सघाएका थिए। पन्तबाहेक तीनै जना चुनावको समयमा रास्वपा प्रवेश गरेका थिए। पन्तलाई उनका प्रतिद्वन्द्वी कानुले समाजिक सञ्जालमार्फत बधाई दिँदै एक भएर अगाडि बढ्ने बताएका छन्। निर्वाचित भएका पन्तले सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।
अन्य जिल्लामा भद्रगोल
पर्साबाहेक अरू सातै वटा जिल्लामा अधिवेशन स्थगित भएको छ। विवादका बीच गत मंगलबार पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनामा ‘अर्को सूचना नभएसम्मका लागि मधेश प्रदेशमा अधिवेशनका सम्पूर्ण गतिविधि स्थागित गरिएको’ जनाइएको थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सांसदहरूले पार्टीमा वर्चश्व बनाउन खोजेकाले धेरैजसो ठाउँमा अधिवेशन हुन नसकेको पार्टी स्रोतको भनाइ छ। सर्लाही र रौतहटमा अधिवेशनको मिति तोकिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। यहाँ नेतृत्व चयनको विषयमा दुई वा दुईभन्दा बढी समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
पार्टी प्रवक्ता तथा सांसद मनीष झाको गृह जिल्ला धनुषामा पनि सदस्यता विवाद, प्रतिनिधि छनोट प्रक्रिया र नेतृत्वको दाबीलाई लिएर असन्तुष्टि बढेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। बारा, महोत्तरी, सिराहा र सप्तरीमा संगठन नै भद्रगोल छ।
यी जिल्लामा पार्टीभित्रै समानान्तर गतिविधि सञ्चालन भएको, केही नेताले केन्द्रीय निर्णयप्रति असन्तुष्टि जनाउँदै छुट्टै भेला आयोजना गरेको जस्ता घटनाले द्वन्द्व बढाएको छ। विवादित अधिकांश ठाउँमा दुई पक्षीय विवादहरूमा हात हालाहाल र मुठभेटको पनि सिर्जना भएको छ।
नयाँ अनुहार, विभिन्न पृष्ठभूमि, र फरक–फरक सोच बोकेका समूहहरू एकै प्लेटफर्ममा आउँदा शुरूमा मतभेद देखिनु स्वभाविक भएको राजनीतिक विश्लेषक गुप्ता बताउँछन्। तर त्यस्तो मतभेद व्यवस्थापनमा चुनौती देखिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
