एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विकास कार्यक्रममार्फत देशका एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ विनियोजन गरेको छ।

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ।

हालसालै सार्वजनिक गरिएको आगामी आवको वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि मात्र ५० करोड बजेट विनियोजन गरेको छ।

ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ। त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याइएको छ।

मन्त्रालयले टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ। त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याइएको छ।

त्यस्तै, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरिएको छ। दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार–बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार र खुर्कोट–चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजन गरिएको छ।

यसैगरी, शिवपुर–भालुवाङ सुरुङमार्गका लागि तीन लाख ९२ हजार र रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि पनि तीन लाख ९२ हजार रकम छुट्याइएको छ।