नेदरल्यान्ड्सको ऐतिहासिक बन्दरगाह गाउँ मोर्डिक प्रस्तावित ठूलो राष्ट्रिय ऊर्जा पूर्वाधार परियोजनाका कारण सम्भावित विस्थापन र पहिचान गुम्ने जोखिममा परेको छ।
दोस्रो विश्वयुद्धको बमबारी र त्यसपछिका बाढीबाट जोगाइएको नेदरल्यान्ड्सको सानो बन्दरगाह गाउँ मोर्डिक अहिले ऊर्जा रूपान्तरणका लागि प्रस्तावित ठूलो पूर्वाधार परियोजनाका कारण विस्थापनको जोखिममा परेको छ।
करिब एक हजार १५० जनसंख्या रहेको मोर्डिकलाई सरकारले समुद्रमा आधारित वायु ऊर्जा परियोजनाबाट उत्पादित विद्युत् आपूर्ति तथा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सम्भावित रूपमा विस्थापित गर्नुपर्ने क्षेत्रको सूचीमा राखेको छ।
नेदरल्यान्ड्सको दक्षिणी क्षेत्रमा रोटरडम र बेल्जियमको एन्टवर्प बन्दरगाहको बीचमा रहेको मोर्डिक रणनीतिक स्थानमा रहेकाले ऊर्जा पूर्वाधार निर्माणका लागि उपयुक्त मानिएको भूमि योजना विज्ञ प्याट्रिक विट्टेले बताएका छन्। उनका अनुसार गाउँवरपर समुद्री, सडक र रेलमार्गको राम्रो सञ्जाल रहेकाले ऊर्जा तथा बन्दरगाहसम्बन्धी पूर्वाधार एकीकृत गर्न सहज हुनेछ।
सरकारको ‘पावरपोर्ट’ परियोजनाअन्तर्गत ठूलो ऊर्जा पूर्वाधार, हरित उद्योग तथा रासायनिक पदार्थ पुनर्प्रयोगसम्बन्धी संरचना निर्माणका लागि सयौँ हेक्टर जमिन विकास गर्ने योजना छ। यसबाट समुद्रमा आधारित वायु ऊर्जालाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्न तथा विद्युत् प्रसारण सञ्जालमाथिको चाप घटाउन सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ।
सरकारले गाउँको भविष्यबारे अन्तिम निर्णय भने गरिसकेको छैन। केही महिनाअघि नयाँ सरकारले परियोजना गाउँको बाहिरी क्षेत्रमा रहेको सानो भूभागमा सञ्चालन गरेर मोर्डिकलाई जोगाउन सकिने विकल्प अघि सारेको थियो।
स्थानीय बासिन्दाका लागि भने लामो समयदेखि जारी अनिश्चितताले दैनिक जीवन प्रभावित भएको छ। गाउँका केही बासिन्दाले घर मर्मतमा लगानी गर्न छाडेका छन् भने स्थानीय पसलेले पनि नयाँ लगानी गर्न हिच्किचाइरहेका छन्। केही परिवारले विद्यालय बन्द हुनुअघि नै गाउँ छाडेको स्थानीय बासिन्दा पिम मेइजरले बताए।
मोर्डिकका बासिन्दाले गाउँ जोगाउन माग गर्दै घरहरूमा ‘मोर्डिक रहनैपर्छ’ भन्ने नारासहितका ब्यानर राखेका छन्। स्थानीय अभियानमा सहभागी मेइजरका अनुसार गाउँका धेरै परिवार पुस्तौँदेखि यहाँ बस्दै आएका छन्।
हाल विचाराधीन विकल्पबाट गाउँ जोगिए पनि ऊर्जा पूर्वाधार, बन्दरगाह र मोटरवेको बीचमा गाउँ घेरिने जोखिम रहेको भूमि योजना विज्ञ विट्टेले बताए।
मोर्डिकका मेयर आर्ट-जान मोएर्केर्केले गाउँ जोगाइए पनि यसलाई बसोबासका लागि उपयुक्त बनाइराख्नुपर्ने बताएका छन्। उनले भविष्यमा पुनः यस्तै पूर्वाधार परियोजनाका कारण गाउँ विस्थापनको दबाबमा नपर्ने सुनिश्चितता आवश्यक रहेको उल्लेख गरे।
गाउँका बासिन्दा ७२ वर्षीय बब स्पान्सले पनि मोर्डिकको सामुदायिक सम्बन्ध र स्थानीय जीवनशैली जोगाउनुपर्ने बताए। उनका अनुसार पुस्तौँदेखि कायम पारिवारिक तथा छिमेकी सम्बन्ध नै मोर्डिक गाउँको मुख्य विशेषता हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
