नेप्से परिसूचकमा सामान्य वृद्धि, ३ अर्ब ७२ करोडको कारोबार

नेप्से परिसूचक बिहीबार ८.८१ अंकको सामान्य वृद्धि सुधारसहित २६५१.२१ को विन्दुमा पुगेर बन्द भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अंकले बढेर ४६४.५९ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक ०.६० अंकले बढेर १८२.१६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक ०.३६ अंकले बढेर १५७.३३ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद-बिक्री भएको छ। आज १३ उपसमूहमध्ये १० उपसमूह बढे भने दुई उपसमूह घटे। एक उपसमूह स्थिर रह्यो। आज १७१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ कम्पनीको सेयर मूल्य घट्यो। त्यसैगरी, १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी प्रभु बैंक डिबेन्चर, ग्लोबल आइएमई बैंक डिबेन्चर र स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चरका लगानीकर्ताले गुमाएका छन्।