भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ९७७ सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको स्थिति प्रतिवेदनका अनुसार बिहीबार राति १०:०० बजेसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ सम्पर्कविहीन छन्।

काठमाडौँ– रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीमा परि मृत्यु हुनेको स‌ंख्या ३८९  पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको स्थिति प्रतिवेदनका अनुसार बिहीबार राति १०:०० बजेसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२ (विभिन्न मानव अङ्गसहित), नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १३७ जना रहेका छन्।

त्यस्तै, बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी छन्। यस्तै, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार रसुवामा १६१, मकवानपुरमा ६६ र नुवाकोटमा १ जना बेपत्ता छन्।

यसबाहेक ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमै बस्ने १२७ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीमा परेर घाइते भएका ७३ जना (रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७) को उपचार भइरहेको छ।  

उद्धारका लागि कुल १३,२९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२२० र सशस्त्र प्रहरी बलका १,८२५ जना रहेका छन्। यस्तै, हालसम्म १,९७६ जनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी कुल १५ वटा हेलिकप्टरहरू निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ।