भोटेकोशी बाढी: ११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको छ।

काठमाडौँ– भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सम्पर्कविहीन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्धार गरिएको हो।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको बताए। यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्धार गरिएको छ।

निमित्त सीईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए। यसबाहेक ट्रेकिङ कम्पनी, गाइड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्।

पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण संकलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अद्यावधिक गरिरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।

४८९ जनाको शव फेला
त्यस्तै, बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३७, गोरखामा ४४, चितवनमा १८६, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन्।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। हाल काठमाडौँका विभिन्न अस्पतालमा ८७ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन्।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।