भोटेकोशी बाढी : बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११ औँ दिनमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको विदुर नगरपालिका–१० बेत्रावतीस्थित घरको चौथो तलाबाट सकुशल उद्धार गरिएको छ।

त्रिशूली (नुवाकोट)– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा फसेकी एक महिलाको ११औँ दिनमा सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० बेत्रावतीस्थित घरको चौथो तलाबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको हो।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरभित्रबाट महिलाको आवाज सुनेपछि लगत्तै उनको उद्धार गरेको हो।

उनी हिलोमा गाडिएको अवस्थामा थिइन्। थप उपचारका लागि उनलाई काठमाडौँ पठाइएको छ।

यसैबीच, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट पनि एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको विपद् व्यवस्थापन टोलीले शनिबार दिउँसो १:२० बजे आयोजनाको अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो।