धनकुटा महोत्सव: ठेलमठेलमा घाइते भएका १८ जनाको उपचार हुँदै, २ को अवस्था गम्भीर

सामान्य घाइते १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

तस्वीर: हरि लम्जेल

धनकुटा– धनकुटा महोत्सवमा शनिबार राति ठेलमठेल हुँदा ३० जना घाइते भएका छन्।

घाइतेमध्ये १८ जनाको उपचार भइरहेको धनकुटाका एसपी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र गम्भीर २ जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहको उनले बताए।

एसपी अधिकारीका अनुसार १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएका छन्। शनिबार राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका उनीहरू भीड ठेलमठेल हुँदा घाइते भएका हुन्। अत्यधिक भीडका कारण घटना भएको एसपी अधिकारीले बताए।

धनकुटा महोत्सवको नवौँ दिनको कार्यक्रम चलिरहँदा घटना भएपछि कार्यक्रम स्थगित गरिएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए।