मैले गरेका भाषिक विभेद र मेरा पूर्वाग्रह म हुर्किएको समाज र सिकाइको उपज हुन् भन्न सकिन्छ।
कालो वर्ण, सेताम्मे फुलेका कपाल, काँधमा सानो सेतै गम्छा, उमेरले पाँच दशक नाघेका मान्छे घरमा बेलाबेला आइरहने बाल्यकालमा उनलाई देख्दा म के सोच्थेँ, अहिले के सोच्दै छु?
त्यस्ता मानिसप्रति समाज र परिवारले जे धारणा बनाउँथे त्यही म पनि सोच्थेँ। तर ‘मिलको पत्थर’ जस्तै अडिग त्यो धारणा रिपोर्टिङका बखत नामोनिसान नरहने गरी मेटिँदै गएको मलाई लाग्दै छ। तर, कसरी?
सम्झना बीस वर्ष अघिको हो। मेरो जन्मथलो भक्तपुरबाट तीन किलोमिटर पूर्व जितपुरमा पर्छ। नगरदेखि बाहिरको एक ग्रामीण परिवेशमा मेरो बाल्यकाल बित्यो। सामान्य मध्यवर्गीय परिवार। हुर्काइ, पढाइ लालनपालन पनि आम नेपालीको जस्तै सामान्य थियो।
मेरो बाल्यकालको एउटा विशेष सम्झना जुत्तासँग जोडिएको छ। सात कक्षा पुग्नुअघि मेरा खुट्टामा छालाको जुत्ता परेनन्। त्यो बेला प्लास्टिकका जुत्ता नै चल्तीमा थिए। बुबाले प्लास्टिकको जुत्ता ल्याइदिनुहुन्थ्यो। छालाको जुत्ता भने नगर क्षेत्र भक्तपुरमा पढ्न थालेपछि मात्र किनिदिनु भएको थियो।
प्लास्टिकको जुत्तासँग कुनै गुनासो थिएन। नयाँ र उपयोगी हुन्जेल लगाइन्थ्यो। फाटेपछि एक कुनामा थुपारेर राख्थ्यौँ। फाटेको जुत्ता संकलन गरी राख्नुको प्रयोजन बेग्लै थियो। डमरु बजाउँदै आउने ‘मर्स्या’सँग कानमा लगाउने झुम्का साँट्ने। मलाई लाग्थ्यो, डमरु दुई जनाले मात्र बजाउँछन्। एउटा, टीभी सिरियलमा आउने महादेव भगवान् र अर्को टप, झुम्का बेच्न आउने ‘मर्स्या’ले।
घरपरिवारका महिलालाई आवश्यक शृंगारका सामान लिएर आउने यस्ता मानिसलाई ‘मर्स्या’ भनेर बोलाउने गरेको हजुरबाआमादेखि नै सुन्दै आएका थियौँ। नेवार समुदायमा मधेशीलाई बोलीचालीको भाषामा ‘मर्स्या’ भन्ने कथनका पछाडि एउटा ‘कुख्यात’ उक्ति छ, ‘मनु मखु मर्स्या ख’, अर्थात् ‘मान्छे होइन, मर्स्या हो।’ जुन अझै प्रचलित छ।
गाउँको कुनै कुनामा डमरु बजेको सुनेपछि म तिनै संकलित पुराना जुत्ता र चप्पल समेट्न हतारिन्थेँ। त्यसबेला पुराना जुत्ता र चप्पलसँग झुम्का, टप, काँटा साट्न पाइन्थ्यो। कस्मेटिक पसलको अवधारणा नगरकोटको फेदीमा पुगिसकेको थिएन। यसकारण, पुराना चप्पल, जुत्तासँग टीका, टप, काँटा, रिबन, लेबेन्टुक, नेल–पोलिसलगायत शृंगारका सामान साटासाट हुन्थ्यो। एकप्रकारले त्यो ‘बार्टर–सिस्टम’ थियो।
“ममी मर्स्या आएको छ, डमरु बजिराछ, यता नि बोलाउनु न।” पुराना जुत्ता, चप्पल जम्मा गरेर म ममीलाई भन्थे। झर्को लाग्दा ममीबुबा भन्नुहुन्थ्यो, “मर्स्याले बच्चाहरूलाई बोरामा हालेर लैजान्छन् बेच्न।”
प्रौढ उमेर, अग्लो कद, कालो वर्ण, काँधका गम्छा र एउटा हातमा डमरु अनि अर्को हातमा शृंगारका सामग्रीले सजिएको बास्केटको त्यो आकृतिसँग म भने कहिले डराइनँ। आँखा बास्केटमा गइरहेका हुन्थे। कसैले बास्केट छुनै दिँदैनथे भने, कतिले वरपर घुमाएर देखाउँथे। मलाई भने बास्केटभित्र के-के होला भन्ने जिज्ञासा लागिरहन्थ्यो। त्यस्तै, हामीभन्दा फरक देखिने मान्छे कहाँबाट आउँछन्, कहाँ जान्छन् होला भन्ने प्रश्न पनि आकलझुकल मेरो मेरो दिमागमा चलिरहन्थ्यो। तर, उनीहरूको परिचयसँग भने त्यति मतलब हुँदैन थियो, जति झुम्का लगाउन पाइन्छ वा पाइँदैन भन्ने हुन्थ्यो। बिस्तारै, गाउँघरमा सानातिना कस्मेटिक पसल खुल्न थाले, अनि उनीहरू पनि घरआँगनमा देखिन छाडे र मेरो मानसपटलबाट विस्मृत भए।
‘काठमाडौँको भाषा: किन मधेशी समुदायमाथि भइरहेको छ अपमानजनक सम्बोधन?’ शीर्षकको समाचार तयार गर्ने क्रममा म बाल्यकालका तिनै सम्झनाहरू माझ पुगिरहेँ। हामीले उनीहरूलाई भाषिक रूपमा अपमान गरेका थियौँ भन्ने महशुस पटकपटक भयो। लागिरह्यो, थाहै नपाई मैले उनीहरूमाथि विभेद गरिरहेकी थिएँ। त्यो पनि केटाकेटी उमेरमा। ‘भैया’ र ‘मर्स्या’ शब्दले उनीहरूको चित्त दुख्यो वा दुखेन होला? अपमानित महशुस गरे वा गरेनन् होला?
औपचारिक शिक्षा र सिकाइ
६ कक्षामा पढेको एउटा पाठ मलाई अझै पनि याद छ, ‘डिग्नीटि अफ लेबर’। जुनसुकै काम, श्रम गर्ने मानिसले सम्मान पाउनु पर्छ भन्ने पाठको सार थियो। त्यो बेला ‘परेर भन्दा पनि पढेर’ मैले आफूले बोल्ने भाषा, शब्दमा सच्चिनु पर्ने बुझेँ।
पढाइ र कामको सिलसिलामा काठमाडौँको बसाइँ घना हुन थाल्यो। देशभरका मानिसको केन्द्र काठमाडौँ शहरमा फेरि एकपटक बाल्यकालमा देखेका ती आकृतिले घेरिन थालेँ।
मधेशका मानिस देख्दा उनीहरू कहाँबाट आए होलान्, उनीहरूको घरठाउँ कस्तो होला, आफ्नै ठाउँमा नबसेर किन काठमाडौँमा भीड गर्न आएका होलान् भन्नेजस्ता विचार आउँथे। मानौँ, उनीहरू नेपाली नै होइनन्। जति हक, अधिकार र सुविधा म काठमाडौँ बसेर उपभोग गरिरहेकी थिएँ, ती हक-अधिकार उपयोग गर्ने अधिकार उनीहरूलाई पनि छ भन्ने म सोच्दिनथेँ। वा भनौँ सचेत थिइनँ। म भाषिक रूपमा सच्चिए पनि मेरो औपचारिक पढाइले लामो समयदेखि समाजमा प्रचलित भाष्य, भनाइलाई सजिलै मेटाउन सकेको थिएन।
यात्राले हटायो पूर्वाग्रह
तीन वर्षअघि मैले काम गरेको संस्थामार्फत ‘मिडिया मोनिटरिङ’ कार्यक्रमअन्तर्गत चितवन, दाङ, रुपन्देही लगायत नेपालका विभिन्न स्थानमा घुम्ने मौका पाएँ। पूर्वमा धुलिखेल र पश्चिममा थानकोटभन्दा पर कस्तो परिवेश छ, कस्ता मानिस बस्छन् मलाई खासै जानकारी थिएन। नेपालको भूगोल आम उपत्यकाबासीका लागि जस्तै मेरो लागि पनि यही कचौरा जतिको भू-भाग हो भन्ने मैले ठान्थेँ। त्यही बुझाइलाई विस्तार गर्न पनि मैले थानकोट परको नेपाली भूगोल टेक्ने सोच बनाएँ।
त्यसो त मेरो मामाघर उपत्यका बाहिर उदयपुरमा पर्छ। युकेजी र प्लस टु पढ्दा दुई पटक म मामाघर पुगेको छु। तर, खासै सम्झना छैन। त्यसपछि, चार वर्षअघि भाइलाई पूर्वाञ्चल क्याम्पस भर्ना गराउन धरान पुगेकी थिएँ। क्याम्पस भर्नाको प्रक्रिया पूरा गरेर छिटो फर्कनुपर्ने भएकाले यात्राका क्रममा बसबाट देखिएका दृश्यबाहेक बाहिरको भूगोलबारे खासै परिचित हुन पाइनँ।
यस्तोमा म आफ्नो परिवेशभन्दा बाहिरको भौगोलिक र सामाजिक अवस्था थाहा पाउन उत्सुक थिएँ। त्यसका लागि एक हप्ता उपत्यका बाहिर भ्रमण जान मन थियो। त्यो अवसर जुट्यो, बल्लतल्ल पारिवारिक अनुमति पाएर अन्ततः म जाने भएँ। बिना परिवारका सदस्य, कहिले नचिनेका नदेखेका मानिस र समूहसँग यात्रामा जाँदा मलाई थोरै डर, संकोच र धेरै रोमाञ्चित बनाएको थियो।
उपत्यकाबाट बाहिर जानु नै मेरा लागि एक प्रकारको घुमाइ थियो। योजनाअनुसार काममा व्यस्त भएँ। घुमाइ र काम दुवैमा रमाइरहेकी थिएँ। हप्ता दिनका लागि बनेको कार्यतालिका ६ दिनमै सकियो। बचेको एक दिन घुम्ने योजना बन्यो। घुमफिरका लागि टोलीले लुम्बिनी जाने योजना बनायो।
सातौँ दिन बुद्धको जन्मभूमि लुम्बिनीतर्फ लाग्यौँ। एकाबिहानै राप्ती किनार छाडेर हामी यात्रामा निस्कियौँ। बुटवल पुग्दासम्म भोकले रन्थनिएकी थिएँ। ध्यान सिधै चियापान गर्ने ठाउँतिर गयो। बुटवलको वातावरणले मेरो ध्यान तान्न सकेन। त्यसपछि हाम्रो टोली लुम्बिनी लाग्यो।
त्यति लामो समय घरबाट टाढा बसेर बिताएकी थिइनँ। सातौँ दिन घर, परिवारको सम्झनाले सतायो। न्यास्रो लाग्न थाल्यो। जति नै बाहिर घुमे पनि घरको आनन्द र सुकुन् कहाँ मिल्थ्यो र। ‘होम, स्वीट होम’ भावनाले मलाई प्रभाव पारिरहेको थियो।
बुद्धको जन्मस्थल शान्ति क्षेत्रमा त पुगेँ तर मेरो मनमस्तिष्क भने निकै अशान्त भइसकेको थियो। सानोमा केही दिन निनीपाजू, बुढामावली बस्न जाँदा पनि मलाई घरको न्यास्रो लाग्थ्यो। त्यो बेला घरबाट बुबाममीले फोन गर्दा म बोल्नेभन्दा बढी रुने गर्थें। मेरो यस्तो बानीले बुबाममी आजित हुनुहुन्थ्यो।
हुर्किबढी सक्दा पनि सायद मेरो त्यो बानी छुटेको रहेनछ। मलाई घरको झझल्को यसरी आउन थाल्यो कि मायादेवीको मन्दिरसम्म मात्र पुगेँ। त्यसपछि म टोलीबाट छुट्टिएर एक्लै भ्यानमा फर्किएँ। चैतको प्रचण्ड गर्मीमा मलाई भ्यानभित्रको उकुसमुकुस बरू सहज लाग्यो। म एकाएक रुन थालेँ। रुवाइ थामिएपछि दिमाग केही शान्त भयो।
भ्यानभित्रै बसेर बाहिरी जनजीवन नियाल्दै थिएँ, एक्कासि मलाई मेरो बाल्यकालको सम्झना आयो। भ्यानबाट निस्किएर हिँड्दै केही परसम्म पुगेँ। मलाई नौलो लाग्न थाल्यो। बुर्का लगाएका महिला, धोती कछाडमा पुरुषहरू देखेँ। यी मानिस त्यस्तै थिए, जोसँग म सानोमा जुत्तासँग झुम्का साट्न हतारिन्थे। म मेरो सुझले वा भनूँ किताबमा पढेअनुसार अरूलाई ‘भैया’ नभन्नु त भन्थे तर त्यस्ता रूप र पोसाकमा मानिस देखेपछि सुषुप्त रूपमा पूर्वाग्रही विचार आइहाल्थ्यो। उनीहरू मजस्तै नेपाली हुन् भन्ने बोध ममा थिएन।
त्यतिखेर जब एक्लै हिँडिरहेकी थिएँ, सामुन्ने उनीहरूलाई देख्दा बल्ल उनीहरूसँग परिचित भएँ। म जस्तै उनीहरू पनि नेपाली हुन्, उनीहरूको पनि मेरैजस्तो अस्तित्व छ भन्ने बोध भयो।
हप्ता दिनको त्यो यात्रामा मलाई नेपालका भिन्न भूगोलमा बस्ने बासी, उनीहरूको भिन्न परिचय पनि नेपाली नै रहेछ भन्ने लाग्यो। लामो समयदेखि समाजले स्थापित गरेको भाष्यका केही पूर्वाग्रह अझै बाँकी रहेछन्।
अचेल हाम्रो गाउँतिर पनि मधेसी समुदायका मानिसहरूको बसाइँ बढ्दै गएको छ। विगत ३/४ वर्षयता कोही गहुँ काट्ने समयमा थेचर लिएर आइपुग्छन् त कोही असारमा धान रोपाइँका लागि ज्यालामा मजदुरी गर्न, कोही घर रंगरोगन गर्न त कसैले त्यहीँ सैलुन खोलेका छन्। यसो हुँदा बिस्तारै जितपुरमै पनि उनीहरूको बसाइँ बाक्लिएको देखिन्छ।
हप्ता दिनको बिदामा घर जाँदा म अलमलमा पर्थें। जितपुर जाने गाडीमा मैले मेरो समुदाय, गाउँ वरपरका मानिसहरूको तुलनामा मधेशका मानिस धेरै देख्थेँ। कतिपटक त झुक्किएर अर्को गाडी चढेँ कि भन्ने पनि लाग्थ्यो। आफ्नो ठाउँमा अन्य कुनै क्षेत्रका मानिसको संख्या बढ्दै गरेको देख्दा मभित्र सुषुप्त रूपमा पूर्वाग्रही विचार उजागर भइहाल्थ्यो। किन भाडामा बस्न दिएका होलान् यतातिर? सामाजिक सुरक्षाको कुरा नि, चोरीचकारी बढ्ने हो कि लगायतका सोच दिमागमा नखेलेको पनि होइनन्। सायद, मेरो पूर्वाग्रही सोच अझै पनि पूर्णरूपमा हटिसकेको थिएन। कारण, उनीहरू सभ्य हुँदैनन्, चोरी गर्छन् लगायतका कहानी-किस्सा हामीले सानैदेखि सुन्दै आएका थियौँ।
विभिन्न व्यक्तित्वसँगको भेटघाटपछिको प्रभाव
मधेशको विषयमा रिपोर्ट लेखिसक्ने क्रममा मेरो भेट विभिन्न व्यक्तित्वसँग भयो। ज्यालामजदुरी गरेर जीविकोपार्जन गरिरहेका रामाधर राम जो कुनै समय नगरकोटसम्म बास्केट लिएर झुम्का, काँटा बेच्न पुग्थे, विद्यार्थी राहुलराज झादेखि पत्रकार लेखक केदार शर्मा, मोहन मैनाली, चन्द्रकिशोर झा, धर्मेन्द्र झा, विक्रममणि त्रिपाठी, गोपाल अक्ससँगको साक्षात्कार, कुराकानीपछि मलाई साँच्चै नै कुनै पनि समुदायप्रतिको पूर्वाग्रही विचार मेटाउन बलियो आधार मिलेको अनुभूति भएको छ। जुन ज्ञान मेरो औपचारिक पढाइले दिन सकेन त्यो मैले आफ्नो पेसागत जिम्मेवारीको क्रममा अनुभव गर्न पाएँ। पूर्वाग्रही धारणा मनमस्तिष्कबाट फाल्न पढ्नु र पर्नु दुवै तरिका आवश्यक रहेछन्। अब भने म कुनै मधेसी मूलका मात्र नभई अन्य समुदायलाई हेर्ने तरिकामा पक्कै पनि भिन्न धारणा राख्नेछु।
चन्द्रकिशोर झाले भनेका थिए, ‘भौगोलिक र सामाजिक कारण हाम्रो एउटा समाजले अर्को समाजलाई लामो समय बुझ्न पाएन।’ सायद, म त्यही समयको समाजमा हुर्किएँ र मेरो पूर्वाग्रह त्यसरी नै निर्मित हुँदै गयो।
पुस्तक ‘मधेश : समस्या र समाधान’मा ‘धनी ठाउँ, गरिब अर्थतन्त्र’ शीर्षकमा मुणमोय मजुम्दार लेख्छन्, ‘अठारौँ शताब्दीको पछिल्लो खण्डतिर नेपालको राजनीतिक एकीकरण भएपछि नै नेपालमा आन्तरिक रूपमा ठूलो आर्थिक, सामाजिक र राजनीतिक विभेद कायम छ। यसका लागि विभिन्न समयमा मानिसको बसाइसराइ, नेपालको भूपरिवेष्टित अवस्था, भौगोलिक कठिनाइका कारण विभिन्न ठाउँमा बसोबास गर्ने जातजातिबीच सम्पर्क र सम्बन्ध नहुनुजस्ता कारणहरू जिम्मेवार छन्।’
जन्म, हुर्काइ नगरकोटको फेदी ‘जितपुर’ गाउँमा भयो। ‘प्लस टु’ सम्म भक्तपुरमा पढेँ। स्नातक तहदेखि हालसम्मको जे-जति अनुभव छन् ती काठमाडौँले दियो। भौगोलिक र सामाजिक जीवनमा म आफू प्रकट हुन नपाउँदा कुनै समुदायप्रति लगाइने लाञ्छना, अपमान र उनीहरूमाथि भाषिक रूपमा गरिने विभेदकारी विचारबाट मुक्त हुन, ती समुदायलाई बुझ्न मलाई यतिका समय लाग्यो।
विषयगत रिपोर्टिङ कै क्रममा मेरो साक्षात्कार मोहन मैनालीसँग भएको थियो। उहाँले भन्नुभएको कुरा मलाई अझै पनि याद छ, ‘हाम्रो समाजको बनोट नै आफूभन्दा साना, कमजोरलाई हेप्ने संरचनामा बनेको छ। चाहे त्यो, बोलीचाली होस् वा व्यावहारिक पक्षबाट। त्यसमा पनि हाम्रो जातीय विविधताले भरिएको छ। एक त राजधानी काठमाडौँ, सत्ता र शक्तिको केन्द्र नै भयो। शक्ति र सत्तामा देखिएको नस्लवाद लामो समयदेखि आलोचनाको विषय बन्दै आएको छ।’
सामाजिक हिसाबमा उपत्यकामा बस्नेहरूबाट अन्य स्थानबाट बसाइसराइ गरी आउनेहरूमाथि हुने भाषिक तथा व्यावहारिक शोषणको एउटा उदाहरण भएँ सायद म।
केदार शर्मा भन्नुहुन्छ, ‘कुनै पनि व्यक्तिले कोही अर्को व्यक्तिलाई गर्ने भाषिक सम्बोधनले, उक्त व्यक्तिको मनोवृत्ति दर्साउँछ।’ यसमा ऊ हुर्किएको समाज, परिवेशले पनि प्रभाव पार्ने उहाँको मत छ।
यस्तोमा मैले गरेका भाषिक विभेद र मेरा पूर्वाग्रह म हुर्किएको समाज र सिकाइको उपज हुन् भन्न सकिन्छ। त्यसो त मैले समाजलाई मात्र दोष दिएर उम्किन मिल्दैन। यसमा मैले मेरो चेतना फराकिलो पार्ने प्रयासहरू पनि अपुरा रहे कि!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
